हेटौंडाः हेटौंडाको मुख्य बजारक्षेत्रमा साइकल लेन बनाउन सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा हिमालयन राइडर्स सोसाइटीले साइकल लेन निर्माण गरेको हो । हेटौंडाको मुख्यबजार क्षेत्र बुद्धचोकदेखि पूर्व–पश्चिम, उत्तर–दक्षिण चारैतर्फ साइकल लेन निर्माण गरिएको छ ।
४ सय २ वर्गमिटर बराबरको करिब ५६ वटा साइकल लेन बुझाउने संकेत चित्र तयार पार्ने काम आइतबारदेखि सुरु भएको हो । मंगलबार बिहानसम्ममा साइकलन निर्माणको कार्य पूरा हुने बताइएको छ । हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको ५ लाख रुपैयाँ बजेट तथा हिमालयन राइडर्स सोसाइटीको समन्वयमा साइकल लेन निर्माण गरिएको हो । करिब ३ किलोमिटर सडकको दायाँबायाँ साइकल लेनको रेखाङ्कन गरिने हिमालयन राइडर्स सोसाइटीका अध्यक्ष चेतनाथ आचार्यले जानकारी दिनुभएको छ ।
आइतबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको उपस्थितिमा साइकल लेन निर्माणको कार्य सुरु गरिएको हो । पछिल्लो समय हेटौंडामा साइकलको प्रयोग गर्ने क्रम बढ्दै गएको र साइकलको प्रयोगलाई संस्कृतिकै रुपमा विकसित गर्न मुख्य राजमार्ग क्षेत्रमा साइकल लेन निर्माण गर्नु महत्वपूर्ण भएको र आगामी दिनमा नगरका सडकहरुलाई साइकलमैत्री बनाइने नगर प्रमुख लामाले प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि उच्चदरमा भइरहेको बेला स्वास्थ्य, वातावरण र आर्थिक रुपमा सस्तो हुने साइकलको प्रयोगमा जोड दिन पनि नगर प्रमुख लामाले आग्रह गर्नुभयो । उपमहानगरपालिकाले विद्यालय तहमा विद्यार्थीलाई साइकल प्रयोगमा जोड दिन साइकलका लागि अनुदानको कार्यक्रम ल्याउने योजना पनि बनाएको बताइएको छ ।