नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना हुन लागेको छ । सरकारले देशभरका सबै सामुदायिक विद्यालयका कक्षा १० सम्मका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ । तर, यस वर्ष स्कूलमा समयमै पाठ्यपुस्तक पुग्न सकेको छैन । कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छपाई तथा वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यस वर्ष समयमै आवश्यक पाठ्यपुस्तक छाप्न नसकेको हो । स्थानीय तह निर्वाचनको मतपत्र छपाइको जिम्मेवारी जनक शिक्षालाई नै दिँदा पाठ्यपुस्तक छपाईमा विलम्ब भएको छ । समयमा कागज आपूर्ति नभएका कारण पाठ्यपुस्तक छपाईमा ढिलाई भएको केन्द्रले बताए पनि पाठ्यपुस्तक छाप्ने समयमा स्थानीय तह निर्वाचनको मतपत्र छापेकै कारण समयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको यथार्थ हो ।

पाठ्पुस्तक छपाई र वितरणको जिम्मा पाएको जनक शिक्षाले समयमै पर्याप्त पाठ्यपुस्तक छापेर वितरण गर्न नसक्दा पाठ्यपुस्तक अभाव वर्षेनि देखिने गरेको छ । पछिल्ला केही वर्ष मकवानपुर जिल्लामा पाठ्यपुस्तकको अभावै नभए पनि अपुरो पाठ्यपुस्तक बिक्री वितरण रोकिएको थिएन । जनक शिक्षाले मात्र पाठ्यपुस्तक छापेर वितरण गर्ने कार्य गर्न नसकेपछि पछिल्ला केही वर्षदेखि निजी क्षेत्रलाई पनि पाठ्यपुस्तक छपाई र वितरणको जिम्मा दिन थालिएको छ । अहिले निजी क्षेत्रले जिम्मा पाएको कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक बजारमा पर्याप्त भए पनि जनक शिक्षाले छाप्नुपर्ने कक्षा ४ देखिका पाठ्यपुस्तक अभाव देखिएको छ । यस वर्ष कक्षा ६ को पाठ्यपुस्तक अहिलेसम्म आएको छैन भने जनक शिक्षाले बिक्री वितरणका लागि पठाएका अन्य कक्षाका पाठ्यपुस्तक प्रायः अपूरो छ ।

शैक्षिक सत्र सुरु भएको एक महिना बित्न लाग्दा पनि सबै विद्यार्थीहरुले पूरा सेट पाठ्यपुस्तक पाएका छैनन् । केही विद्यालयमा अपूरो पाठ्यपुस्तक वितरण गरिए पनि कतिपय विद्यालयमा पाठ्यपुस्तक पुग्नै सकेको छैन । हेटौंडा नगर क्षेत्रकै विद्यालयमा पाठ्यपुस्तक अभाव भइरहेको अवस्थामा ग्रामीण क्षेत्रको हालत कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ । सार्वजनिक शिक्षामा देखिएका बेथितिका कारण वर्षेनि पाठ्यपुस्तकको अभाव झेल्नु परेको छ । अन्य विविधि कारणले सामुदायिक विद्यालयका विद्यार्थीको पढाई कमजोर बनिरहेको अवस्थामा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा यसले अझ समस्या थप्ने निश्चित छ । शिक्षा विकासका नाममा ल्याइएका नारा, गरिएका भाषण र सञ्चालन गरिएका कार्यक्रम प्रभावकारी बन्न सकेका छैनन् । गुणस्तरयुक्त शिक्षाको बखान पनि केवल बौद्धिकविलासको मात्रै कुरो बन्दै आएको छ ।

आम विद्यार्थीमाझ पाठ्यपुस्तकसमेत पुग्न नसक्नु सरकार र जनक शिक्षाको निकम्मापन हो । शैक्षिक सत्र सुरु भएको महिनौं नाघ्दा पनि पाठ्यपुस्तकको अभावमा विद्यार्थी अन्योलमा हुन्छन् । समयमै पाठ्यपुस्तक प्राप्त नहुँदा पठनपाठनमा समस्या पर्नु स्वभाविक हो, तर यस समस्याप्रति सम्बद्ध निकायको आवश्यक चासो र चिन्ता नरहेको उदाहरण वर्सेनि उही बेथिति दोहोरिरहनुले प्रष्ट्याउँछ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने सरकारी पहल सकारात्मक पक्ष हो । तर विद्यार्थीको परीक्षा सकिइसकेपछि पाइने पाठ्यपुस्तकको के अर्थ ? विद्यार्थीका लागि पाठ्यपुस्तक दैनिक आवश्यकताको वस्तुजस्तै हो । त्यसैले सरकारले गम्भीर बनेर समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुर्‍याउने व्यवस्था गर्नु आवश्यक छ ।