श्यामप्रसाद श्रेष्ठ

–श्याम श्रेष्ठ

उनीहरु देशको व्यवस्था ठिक नभएको ठानी पटक–पटक जनआन्दोलन गरी व्यवस्था नै बदले, ता पनि देश र जनताको अवस्थामा परिवर्तन हुन सकेन । उनीहरुले राजनीतिक दल ठिक नभएकोले होला भनी सबै दलहरुलाई पालै पालो राज्य सत्ता दिएर हेरे । दुई वा दुई भन्दा बढी दलको संयुक्त गठबन्धनको सरकारलाई पनि हेरे । तर पनि देश र जनताको अवस्थामा केही सुधार आउन सकेन । उनिहरुले सोचे–नेताहरु बदलिएमा देश र जनताका लागि राम्रो होला । सबै नेताहरुलाई पालै–पालो हेरे, बारम्बार हेरे, तर देश र जनताको अवस्था झन–झन् नाजुक हुँदै गैरहेको देखेर उनीहरु यो सबैको कारण राजनीतिक दलहरु हुन् भन्ने सुनिश्चित गरी नेताहरुलाई अदालतमा कानुनी कारबाहीका लागि उजुरी दिए । अदालतले प्रतिउत्तर जोड्न प्रतिवादीलाई अदालतमा हाजिर गराए । दुबै पक्ष अदालतमा हाजीर भएका थिए ।

न्यायाधीशले प्रतिवादीतर्फ हेर्दै बोले–वादी जनताले तपाईं प्रतिवादी दलका नेताहरुले देश र जनताको विकास तथा हकहितका लागि केही गर्न नसक्नुमा तपाई नेताहरु खराब भएकोले दोषी ठानी कारबाहीका लागि उजुरी प्राप्त भएको छ । यस विषयमा तपाईं प्रतिवादीहरुको आफ्नो बचाउका लागि केही मत छ भने बचाउ गर्ने अवसर प्रदान गरिएको छ । आफ्नो बयान राख्नु होला ।

न्यायाधीशको कुरा सुनेर दलका नेताहरु केही हडबडाएको देखियो । सबै नेताहरुको अनुहारमा चिट–चिट पसिना आयो । पसिना पुछ्दै एक नेता बोले– श्रीमान् वादी नेपाली जनताले हामी नेताहरु माथि लगाएको आरोपप्रति बचाउका लागि मत राख्न अवसर दिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु । श्रीमान् वादी जनताले हामीमाथि लगाएको दोष सरासर झुठो हो । यस कुरालाई प्रमाणित गर्न म नेताहरुको तर्फबाट निम्न बुँदाहरु राख्न चाहन्छु ।

१. यदि हामी खराब थियौं भने पटक–पटक किन जनताले हामीलाई नै चुने ? भनिन्छ अपराध गर्ने भन्दा अपराधीलाई संरक्षण गर्ने बढी दोषी हुन्छ भनेर, यसर्थ वादीको दृष्टिमा हामी दोषी हुँदा हुँदै चरित्र ठिक भएका नैतिकवान दलका सक्षम नेतालाई चुन्न नसक्ने यी जनता नै अझ बढी असक्षम र दोषी हुन् ।
श्रीमान् २ नम्बरमा हामी नेताहरुलाई कुबाटोमा लाग्न बाध्य बनाउने जनता हुन् । जनताहरु हामीलाई भगवान जस्तै ठानेर खुट्टामा लम्पसार परेर ढोग्दै भन्छन् कोहि– हजुर एउटा जागिर मिलाइ दिनु पर्यो भन्छन् । कोहि एउटा ठेक्का मिलाइ दिनु पर्यो भन्छन् । कोहि मुद्दा जिताइ दिनु पर्यो भन्छन । यस्ता यस्तै अनेकौं व्यक्तिगत स्वार्थ पूरा गर्न अनेकौं दवावको दिनहुँ सामना गर्नु पर्दछ । हामी देश र जनताका लागि केही विकास गर्न चाहन्छौं । तर जनता नै यस कार्यको बाधक बनेको छ । यसैले हामी नेता दोषी छैनौं । यी आफुलाई खुबै शिक्षित ठान्ने स्वार्थी जनता दोषी हुन् ।

श्रीमान ३ नम्बरमा हाम्रो भुलचुकले कहिले काहिँ पेटको प्रदुषित हावा बाहिर निस्कँदा समेत जनताहरु आहा कति मीठो सुगन्ध भनेर सुँघी–सुँघी प्रशंसा गर्दछन् । हाम्रो दृष्टि भ्रमले कहिले काहीँ कालोलाई सेतो देख्दा पनि, हो हजुर सेतो नै हो भनेर भन्छन् । कालोलाई कालो भन्न सक्दैनन् । हामी नेता पनि मानव नै हो, कहिले काहीँ भुलहरु अर्थात गलत कामहरु भए होलान् । त्यसबेला पनि यी जनता गलतलाई गलत भयो भनी हामीलाई भन्दैनन् । हजुरले सार्है राम्रो गर्नु भो भनी झन् गलत काम गर्न प्रोत्साहित गरी हामीलाई गलत बाटोमा डोराउने यी लोभिपापी, अन्धभक्त, डरपोक, काँतर जनता दोषी हुन् ।

श्रीमान ४ नम्बरमा हाम्रो देशमा दास प्रथा उन्मुलन भैसकेको धेरै भइसक्यो । तापनि आज पनि जनताहरु स्वतन्त्र एउटा मतदाता बन्न छोडी विभिन्न दलको कार्यकर्ता बनी दासझैं झोला बोकी जता–जता नेताहरु जान्छन् उतैउतै पछि–पछि लाग्दछन्, अनि भन्छन् हाम्रो नेता हजुरले जे भन्नू हुन्छ उठ भन्नू भयो भने उठ्छम्, बस भन्नू भयो भने बस्छम् भन्छन् । एउटा उखान सुंगुरलाई भगवानले स्वर्ग लैजान्छु भन्दा नाई त्यहाँ के पो… खान पाइँदैन, यसैले जान्न भने झैं जनता स्वतन्त्र मतदाता बनी नेताको मालिक बन्न छोडी दास बन्न आउँछन् भने श्रीमान् हामी नेता दोषी होइनौं । यी दास प्रवृत्तिका जनता दोषी हुन् ।

श्रीमान ५ नम्बरमा जनताले आफ्नो विवेकको प्रयोग गरी को ठिक र को बेठिक भनी नछुट्याई रक्सी र मासुको गन्ध सुँघ्दै नेताहरुको घरघरमा जान्छन्, अनि आफ्नो मतलाई रक्सी र मासुसँग साट्दछन् । पैसामा बिक्री गर्दछन् भने यो दोष नेताको होइन । यसको प्रमुख दोषी यी भातमारा जनता हुन् श्रीमान्….। श्रीमान् ७ नम्बरमा हामी राजनीति गर्नेहरुको आ–आफ्नो राजनीतिक दल हुन्छ । जनता भनेको स्वतन्त्र मतदाता हुन् । उनीहरुको कुनै आफ्नो दल हुनु हुँदैन । जुन दलले देश र जनताको निमित्त राम्रो काम गर्न सक्दछ त्यहि दल जनताको हुनु पर्दथ्यो । तर त्यहि जनता यो मेरो दल, त्यो तेरो दल भनी भोट दिएर हामीलाई नै विजयी बनाउँदछ भने त्यो दोष हाम्रो नभई यि दास जनताको हो ।

श्रीमान् अन्तमा हामी निष्कंलकित चरित्र भएका निर्दोष नेताहरु माथि यो असत्य तथा झुठो आरोपले हाम्रो चरित्र माथि कलंक लागेको छ । यसले हामी मर्यादित नेताहरुको मान मर्यादा माथि आँच पुगेको छ । यस कारण श्रीमान् हामी दलका नेता माथि कारबाही नभई यी आफ्नो कर्तव्य र दायित्व पूरा गर्न असक्षम यी जनताहरु नै देश विकासको प्रमुख बाधक भएकोले यी जनतालाई तत्कालै नजरबन्दमा राखी कार्बाहिको गर्नका लागि अनुरोध छ, श्रीमानको जो आज्ञा ।

वादी जनताले नेताहरु माथि लगाएको दोष र दोष प्रमाणित गर्ने आधार र प्रमाणहरुको अध्ययन र प्रतिवादीहरुले आफुहरु निर्दोष रहेको र दोषी जनता नै हुन् भनी गरेको बयान र पुष्ट्याई गर्ने आधारहरु अध्ययन पश्चात् न्यायाधीशले निर्णयको टुंगो लगाउन न्यायाधीशले टेबुलमाथि रहेको काठको हम्मरले टेबुलमा ठोक्दै बोले–म वादी प्रतिवादी दुबैको ध्यानाकर्षण गराउन चाहन्छु । दुबै पक्षले पेश गरेको आरोप प्रत्यारोपलाई पुष्ट्याइ गर्ने प्रमाण र आधारहरुको गहिरो अध्ययन र अनुसन्धान पश्चात् अदालत यो निष्कर्षमा पुग्दछ ।

यो लोकतान्त्रिक व्यवस्थामा जनतालाई सम्प्रभुता तथा सार्वभौम सत्ताको मालिक तथा शक्तिको श्रोत अर्थात जनतालाई सर्वशक्तिमानको रुपमा व्यवस्था गरिएको छ । यो व्यवस्थामा शासन व्यवस्था संचालन गर्न जनतालाई निर्वाचनमा उम्मेदवार बन्न र आफुले चाहेको उम्मेदवारलाई कसैको पनि कुनै प्रभाव, दवाब र हस्तक्षेप बिना गोप्य मतदान गर्ने जस्तो नैसर्गिक अधिकार प्रत्यायोजन गरिएको छ ।

कुनै नेता अर्थात् कुनै दलले, जनताले चाहे अनुसारको शासन व्यवस्था चलाउन असक्षम भएमा एक पदावधी पश्चात त्यस्ता नेता तथा दल परिवर्तन गरी योग्य सक्षम नेता तथा दललाई राज्य सत्ता संचालन गर्ने जिम्मेवार प्रदान गर्न सक्ने अधिकार जनतामा नै संरक्षित रहेको छ । देश र जनताको पक्षमा केही नगर्ने ती नै आरोपित नेताहरुलाई लोभिपापी भै आफ्नो अमुल्य भोट स्वार्थसँग साट्ने, आफ्नो स्वार्थ पूरा गर्न तिनै नेताको दास बनी झोला बोकी मासु भात र रक्सी खाई भातमारा बन्ने, त्यही रक्सी र मासु गुम्ला भन्ने डरले डरपोक र काँतर बनी नेताहरुले गरेको गलत कार्यलाई ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न नसक्नु, सक्षम, नैतिकवान र असल नेतालाई चुनाबमा चुन्न असक्षम हुनु अनि ती नै असक्षम नेताहरुलाई नै पटक–पटक निर्वाचित गरी देशलाई बर्बादी गराउन जनतानै उद्दत रहेको देखिन्छ ।

जनताले संविधानमा व्यवस्था गरिएको आफ्नो अधिकारको दुरुपयोग गर्नु संविधानको उल्लंघन गर्नु हो । यसबाट देशमा हुन गएको क्षति एउटा अपराध हो । यो अपराधको प्रमुख जिम्मेवार जनता नै भएकोले यिनै कारणले यो देश बर्बादी गर्ने अभियोगको प्रमुख दोषी नेपाली जनता नै हुन् भनी अदालत पुष्टयाइँ गर्दछ । यसका साथै प्रतिवादी नेताहरुले आफ्नो निष्कलंकित चरित्र माथि कालो धब्बा लगाई आफ्नो मानमर्दनमा आँच पुगेकोले जनता उपर कार्बाही होस् भनी माग गरे तापनि जनता भनेको शक्तिको पुञ्ज भएकोले आम जनतालाइ कार्बाही गर्न असम्भव भएकोले आफ्नो मत र शक्तिको पहिचान गरी निस्वार्थ र स्वतन्त्रतापूर्वक निर्वाचनहरुमा देश र जनताको हकहित र विकासका लागि सक्षम तथा योग्य नेताहरु भएको दललाई मात्र आफ्नो मत प्रयोग गरी निर्वाचित गराउन अदालत तपाईं जनतालाई सचेत गराउँदछ ।

तपाईं वादी जनताले राजनीतिक दलहरु माथि लगाएको आरोपहरु पुष्ट्याइँ गर्ने प्रमाण तथा आधारहरु अध्ययन गर्दा जनताले नै राम्रो दललाई मात्र निर्वाचनमा जिताउने र नराम्रो दल तथा नेतालाई पराजित गरी जमानत समेत जफत गरी दण्ड सजाय दिने अधिकार जनतामा नै निहित भएकोले जनतालाई नै त्यस्ता फटाहा असक्षम तथा अयोग्य नेताहरुलाई निर्वाचनमा पराजित गरी दण्ड सजाय दिन हुन अनुरोध गर्दै अदालत आजको बहस यहिं अन्त्य गर्दछ । धन्यवाद । समाप्त ।