प्रवेश परीक्षामा सहभागी विद्यार्थीहरु ।

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा विद्यालय तहकै अध्ययनका लागि मधेश प्रदेशका बालबालिकाको उपस्थिति उल्लेख्य छ । निजी र सरकारी दुबै विद्यालयमा मधेश प्रदेशबाट आफ्ना बालबालिका लिएर हेटौंडा आउने अभिभावकको संख्या बर्षेनी बढ्दो क्रममा छ । अहिले विद्यालयहरुमा भर्ना अभियान जारी रहँदा निजी र सरकारी दुबैमा मधेश प्रदेशका विद्यार्थीको चाप बढ्दो छ ।

शुक्रबार हेटौंडा–४ स्थित भुटनदेवी माविमा तेस्रो पटकको प्रवेश परीक्षा सञ्चालन गर्दा ४ सय ६४ विद्यार्थी सहभागी थिए । बिहान ११ बजे प्रवेश परीक्षा सुरु हुनै लाग्दा १५ भन्दा बढी बालबालिका प्रवेश परीक्षामा सहभागी हुन आइपुगेको भुटनदेवी माविका शिक्षक राम श्रेष्ठ बताउनुहुन्छ । जेठ ४ गते पहिलो चरणमा कक्षा ४, ५, ६ र ७ को प्रवेश परीक्षा सञ्चालन गर्दा ७५ जना मात्रै विद्यार्थी सहभागी थिए । निर्वाचन सकिएलगत्तै प्रवेश परीक्षा भएकाले विद्यार्थीको उपस्थिति न्यून थियो । जेठ ६ गते कक्षा ८ र ९ को प्रवेश परीक्षामा २ सय ३० जना विद्यार्थी सहभागी भए । शुक्रबार तेस्रो चरणमा कक्षा ४ देखि ९ सम्म ४ सय ६४ जनाले प्रवेश परीक्षा दिएको विद्यालयका कर्मचारी बालकृष्ण दाहालले जानकारी दिनुभयो ।

करिब ३ सय ५० जना विद्यार्थी मात्रै भर्ना गर्न सकिने अवस्था रहेको जानकारी दिनुहुँदै दाहालले भन्नुभयो, “विद्यार्थीको चाप दुईगुणा भन्दा बढी छ । हामी बढीमा ३ सय ५० विद्यार्थी भर्ना गर्न सक्छौं ।” अंग्रेजी माध्यममा पठनपाठन हुने भएपछि विद्यार्थीको आकर्षण बढेको भुटनदेवी माविका प्रधानाध्यापक माधवप्रसाद दाहालको भनाइ छ । मधेश प्रदेशका विद्यार्थीकै चापका कारण सबैजसो कक्षामा विद्यार्थी दुईभन्दा बढी सेक्सन बनाउनुपर्ने अवस्था छ । यस बर्षको प्रवेश परीक्षामा पनि ७० प्रतिशतभन्दा बढी विद्यार्थी मधेश प्रदेशकै छन् ।

प्रवेश परीक्षामा गणित, विज्ञान, अंग्रेजी र नेपाली विषयका १०० वटा प्रश्न सोधिएको थियो । कुल संख्यामा २ सयसम्मको योग्यताक्रममा आउने विद्यार्थी विद्यालयमा भर्ना हुने सहायक प्रधानाध्यापक भरत पोखरेलले बताउनुभयो । विद्यालयमा नयाँ शैक्षिक सत्रको पठनपाठन गत जेठ ९ गतेदेखि सुरु भएको छ । शुक्रबार विद्यालयको पठनपाठन बन्द गरेर प्रवेश परीक्षा आयोजना गरिएको उहाँले बताउनुभयो । भुटनदेवी माविमा १ हजार ५० विद्यार्थी अध्ययनरत छन् । प्रवेश परीक्षाबाट ३ सय ५० विद्यार्थी भर्ना लिएर १ हजार ४ सय विद्यार्थीलाई चालु शैक्षिकसत्रमा पठनपाठन गराइने प्रधानाध्यापक माधवप्रसाद दाहालले बताउनुभयो ।