विद्यालयमा समयमा पाठ्यपुस्तक पुग्नका लागि स्थानीय तह निर्वाचनले प्रभाव पार्ने भएको छ । विद्यालयहरुले वार्षिक परीक्षा सम्पन्न गरिसकेका छन् । विद्यालयहरुमा नयाँ पाठ्यपुस्तक निर्वाचनपछि मात्र पुग्ने भएको छ । निर्वाचनका कारण पाठ्यपुस्तक ढिला पुग्ने भएको हो । नगर, वडा, गाउँ, टोल सबैतिर निर्वाचनको चहलपहल भइरहेको अवस्थामा विद्यालयहरुमा नयाँ पाठ्यपुस्तक पु¥याउन नसक्ने शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जानकारी गराएको छ । शासनका लागि आफ्नो प्रतिनिधि चयनजस्तो महत्वपूर्ण कार्यमा सबै पक्ष प्रभावित हुनु स्वभाविक हो । मानिसका दैनिकीसमेत प्रभाव पर्ने अवस्थामा पाठ्यपुस्तक समयमै नपुग्ने कुरा सामान्य नै हो । चुनावअघि नपुगे पनि त्यसको लगत्तै पुग्ने व्यवस्थापन गरिनु पर्दछ ।

विगत वर्षहरुमा कक्षा सञ्चालन भएको लामो समयसम्म राज्यका तर्फबाट उपलब्ध हुनुपर्ने पाठ्यपुस्तक विद्यार्थीले पाउन नसकेको तीतो अनुभव छ । यस पटक पनि सोही प्रवृत्ति नदोहोरियोस् भन्नेतर्फ सम्बन्धित पक्ष सचेत हुन जरुरी छ । काम छिटो नगर्ने बानी परेको सरकारी संयन्त्रलाई निर्वाचन बहाना हुनसक्छ । यस्तै केही दिन अघिसम्म एसईईको व्यवस्थापनमा व्यस्तताले पुस्तकको अवस्थाबारे ध्यान दिन नसकेको शिक्षा विकास तथा समन्वय इकाईले निर्वाचन अवधिलाई उपयोग गर्न आवश्यक छ । पाठ्यपुस्तकहरु पुस्तक पसलमा आए नआएको अनुगमन गर्ने काम पनि इकाईको हो । जनक शिक्षा सामग्री केन्द्रले नै चुनावका लागि मतपत्र छपाई कार्य गरिरहेकाले नयाँ पाठ्यपुस्तक छपाईमा केही ढिलाई हुने आशंका छ ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि सरकारले निःशुल्क पाठ्यपुस्तक प्रदान गर्ने गर्दछ । यसको स्थानीय व्यवस्थापनको जिम्मेवारी समन्वय इकाईको हो । निर्वाचन मतपत्र छपाई गर्नुअघि छापिएका पुस्तकहरु बजारमा आएका छन् । तर ती अपुग हुने भएकाले अब निर्वाचनपछि मात्र पुस्तकहरु छापिने छन् । कति छापिए र बजारमा आएका छन् र छाप्न बाँकीको संख्या र आवश्यक कति हो भन्ने तथ्यांक पनि तयार छैन । मकवानपुरका सरकारी विद्यालयहरुमा कति मात्रामा पुस्तक आवश्यक हुनेछ भन्ने यकिन तथ्यांक सरकारी निकायहरुसँग छैन । जसले गर्दा आपूर्ति गर्ने निकायहरुलाई पनि अन्यौल छ । चालु शैक्षिक सत्रको परीक्षाफल प्रकाशनको काम विद्यालयहरुले गरिरहेका र विद्यार्थी भर्ना भइनसकेका कारण अन्यौल भएको हो ।

सरकारी भनाइ र स्थानीय यथार्थ भिन्न छ । भर्ना भइनसकेकाले पुस्तकको संख्या एकिन गर्न अप्ठेरो परेको शिक्षा इकाईको भनाइ छ भने यता विद्यालयहरुले पुस्तक अभावमा विद्यालयहरुमा कक्षा सञ्चालन गर्न समस्या भएको दावी गरेका छन् । वार्षिक परीक्षाको नतिजा प्रकाशनसँगै कतिपय विद्यालयहरुले भर्ना अभियान सुरु गरेका छन् । नयाँ पाठ्यपुस्तक नभएका कारण विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्न सकेका छैनन् । कक्षा ४, ७ र ९ को परिवर्तित पाठ्यक्रमअनुसारका नयाँ पुस्तक छपाई पूर्ण नभएकाले निर्वाचनपछि मात्र पाठ्यपुस्तक ल्याउने बिक्रेताहरुको तयारी छ । सरकारले २०७९ बैशाखमा चालु शैक्षिक सत्र अन्त्य गरी नयाँ शैक्षिक सत्र सुरु गर्न निर्देशन दिए पनि स्थानीय तह निर्वाचनका कारण जेठबाट मात्र नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु हुने भएको छ ।