हेटौंडाः शैक्षिक विकासका लागि शिक्षामा स्थानीय तहबाट नै थप ५ प्रतिशत बजेट आवश्यक रहेको बताइएको छ । स्थानीय तह निर्वाचन २०७९ को सन्दर्भमा हेटौंडा उपमहानगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवारहरुसँग विद्यालय शिक्षाको विकास र सृदृढीकरणमा स्थानीय सरकारको भूमिकासम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल शिक्षक संगठन मकवानपुरका अध्यक्ष रामकुमार अधिकारीले यस्तो बताउनुभएको हो । दुर्गम क्षेत्रमा लामो समयदेखि शिक्षण पेशामा आवद्व शिक्षकहरुले सहजै तरिकाले बढुवा हुन पाउनुपर्ने उहाले बताउनुभयो । शिक्षक र शिक्षालयप्रति यसअघिका स्थानीय तहले उपेक्षा गरेको उहाँले दावी गर्नुभयो ।
संघीय सरकारले उपलब्ध गराएको बजेटभन्दा थप बजेट स्थानीय तहले उपलब्ध नगराएको अध्यक्ष अधिकारीले बताउनुभयो । आगामी दिनमा गठबन्धनले विजय हासिल गरेमा यस्ता समस्या तथा मागलाई समेट्न उहाँले आग्रह गर्नुभयो । ‘संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारका रुपमा शिक्षालाई समेट्नुपर्ने हुन्छ’, नेपाल शिक्षक संगठन बागमती प्रदेशका सदस्य भोगेन्द्र लुईंटेलले भन्नुभयो– “भौतिक विकासले मात्र शिक्षाको विकास हुँदैन ।” लुईंटेलले शिक्षा नीति, योजना, शिक्षक, कर्मचारीको विकास र परिवर्तन कसरी गर्ने भन्ने विषयमा स्थानीय तह केन्द्रित हुनुपर्ने बताउनुभयो । अहिलेसम्म स्थानीय तहको शिक्षा नीति नै नभएको उहाँले बताउनुभयो ।
नेपाल शिक्षक संघ बागमतीका उपाध्यक्ष दीपकलाल खतिवडाले शिक्षा नै विकासको मूल आधार भएको बताउनुभयो । नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्यले शिक्षा र शिक्षकको हकमा गठबन्धनको घोषणापत्र सन्तोषजनक नभएको बताउनुभयो । मत बदर धेरै मात्रामा हुनसक्ने भएकाले प्रत्येक वडामा तत्काल मतदाता शिक्षा सर्कुलर गर्न मेयर र उमेयर पदका उम्मेदावर लामा र बानियाँलाई अनित्यले आग्रह गर्नुभयो ।
नेपाल शिक्षक संघ हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष ज्ञानेन्द्र बर्तौलाले तराईका विद्यार्थी बागमती प्रदेशको राजधानी हेटौंडामा पढ्न आउनुले शैक्षिक हवको रुपमा विकास हुनसक्ने बताउनुभयो । उच्च शिक्षा हासिलकै लागि कतिपय हेटौंडाका विद्यार्थी नेपालको राजधानी काठमाडौंमा जानुपर्ने बाध्यतालाई अबका स्थानीय तहले हल गर्नुपर्ने उहाँले बताउनुभयो । गठबन्धनबाट मेयर पदका उम्मेदवार बन्नुभएका मीना लामाले च्यातिएको संविधान र न्यापालिकालाई जोड्न अघि बढ्ने बताउनुभयो । प्राविधिकतर्फ उच्च शिक्षा हासिल गर्न चाहने गरिब विद्यार्थीका लागि प्रत्येक वर्ष नगरपालिकाभित्रका ५ जनालाई एमबीबीएसको छात्रवृत्ति व्यवस्थापन गर्ने घोषणा गरेको लामाले बताउनुभयो । यसअघि उममेयर पदमा रहँदा विद्यालयमा खानेपानी र निःशुल्क सेनेटरी प्याड वितरणका लागि पहल गरेको दावी उहाले गर्नुभयो । केही त्रुटी घोषणापत्रमा भएको स्वीकार्नुहुँदै लामाले शिक्षा र शिक्षकको आम मुद्दालाई घोषणापत्रमा समेट्ने प्रतिबद्वतासहित बागमती प्रदेशलाई अब्बल बनाउने दावी गर्नुभयो ।
उपमेयर पदका उम्मेदवार राजेश बानियाँले राजनीतिमा लामो अभ्यास नभए पनि सामाजिक विकास चाहने व्यक्तिहरुले आफूलाई असल राजनीतिज्ञ बनाएको बताउनुभयो । आफूले ५ नम्बरको वडाध्यक्ष हुँदा व्यक्तिगतरुपमा शैक्षिक विकासमा सहयोग गरेको दावी गर्नुभयो । सोही वडामा बालज्योति मावि र लक्ष्मी आधारभूत विद्यालय गरी दुईवटा सामुदायिक र १० वटा निजी विद्यालय रहेको जानकारी बानियाँले दिनुभयो । आफू वडाध्यक्ष बन्नुअघि बालज्योति माविमा जीर्ण भौतिक संरचनामै एक सय ८० जनामात्र विद्यार्थी अध्ययन गरिरहेको उहाँले बताउनुभयो । वडाध्यक्ष भएपछि एउटा बलियो भौतिक संरचना निर्माणका लागि व्यक्तिगतरुपमा २५ लाख सहयोग गरेर एक हजारको हाराहारीमा विद्यार्थी अध्यापन गराउने वातावरण निर्माण गरेको बानियाँले दावी गर्नुभयो ।
अन्य दल तथा संगठनका शिक्षक भएकै कारणले भीमफेदीका एक सुत्केरी महिला शिक्षकलाई सरुवा गर्न नमानेको र आफ्नो सुत्केरी श्रीमतीलाई शिक्षण पेशाबाट निष्कासन गर्ने काम यसअघिका स्थानीय सरकारले गरेको दावी उहाँले गर्नुभयो । जसकारण जनताको काम गर्न कुनै पनि दल नहेर्ने प्रतिबद्वतासहित शिक्षा र शैक्षिक क्षेत्रको यस्ता समस्यालाई हल गर्ने दावी बानियाँले गर्नुभयो । ५ नम्बर वडाको अध्यक्ष पदका उम्मेदवार हयग्रिव आचार्यले सामाजिक, सांस्कृतिक र शैक्षिक विकासमा अघि बढ्ने प्रतिबद्वता जनाउनुभयो ।