जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले विगत ९ बर्षदेखि ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्य केन्द्रले आफ्नो प्रगति प्रतिवेदन तयार गर्दामात्रै थाहा हुने यो सेवाबाट जिल्लाका अति कम नागरिकमात्र लाभान्वित भएका छन् । राज्यका तर्फबाट प्रदान हुँदै आएको सेवा प्रत्येक ज्येष्ठ नागरिकसम्म पुर्‍याउनु पर्दछ । तर उनीहरुलाई सेवाबारे जानकारी नै छैन । यसका लागि सरकार तथा सेवाप्रदायक संस्थाको कमजोरी देखिन्छ । आफूले प्रदान गर्ने सेवाबारे जानकारी दिने दायित्व आयुर्वेद स्वास्थ्य केन्द्रको हो । सबैले थाहा पाउने गरी सूचना सार्वजनिक हुनु पर्दछ । आए सेवा दिने नआए कुनै वास्ता नगर्ने हो भने निःशुल्क सेवाको उद्देश्य पूरा हुनेछैन ।

राज्यका तर्फबाट प्रदान गरिने सेवाको सूचना सम्प्रेषणमा कन्जुस्याइँ गरिनु हुँदैन । धेरैभन्दा धेरै नागरिकले सेवा लिउन् भन्ने उद्देश्य सरकारको हो भने निःशुल्क सेवाबारे जानकारी गराउनै पर्दछ । सार्वजनिक सूचना नहुँदा पनि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले चालु आर्थिक बर्षको हालसम्म ९ सयभन्दा बढी ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । निःशुल्क सेवाबारे थाहा हुनेहरुले सेवा लिएका छन्, तर यो सेवाबाट अझै धेरै ज्येष्ठ नागरिक छुटेका छन् । उनीहरुलाई राज्यबाट कस्तो सेवा, कहिले, कहाँबाट पाइन्छ भन्ने पूर्ण जानकारी हुने भए अझै धरै ज्येष्ठ नागरिकहरु कार्यक्रममा सहभागी हुने थिए । सेवाका बारेमा प्रचारप्रसार गरेमा सेवाग्राहीहरुको संख्या बढ्ने पक्का छ ।

सामान्य विरामी पर्दा औषधीसमेत किनेर खान समस्या हुने नागरिकको संख्या उल्लेख्य छ । यही आवश्यकतालाई सम्बोधन गर्न जिल्ला आयुर्वेद केन्द्रले ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा प्रदान गर्न थालेको हो । तर जसलाई सेवा दिने भनियो उनीहरुले थाहा नै पाएका छैनन् । आवश्यकतालाई सम्बोधन गर्ने योजना बनाइरहँदा सरोकारवालालाई त्यसको बारे जानकारी हुनु पर्दछ । आम नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउनुपर्ने संवैधानिक अधिकार हो । संविधानप्रदत्त अधिकार उपयोग गर्ने गराउने क्रममा आयुर्वेद स्वास्थ्य केन्द्रले सुरु गरेको सेवाप्रवाह थप प्रभावकारी बनाउनु पर्दछ । कार्यक्रमका लागि कार्यक्रम गर्ने र अभिलेख राख्नुले उपलब्धि हुँदैन । कुनै पनि कार्यक्रम बनाइरहँदा त्यसको प्रभाकारी कार्यान्वयनतर्फ ध्यान दिन आवश्यक हुन्छ ।

अघिल्लो आर्थिक बर्षभन्दा चालु बर्षमा सेवा लिने सेवाग्राहीको संख्या बढ्ने देखिन्छ । २०७० सालदेखि ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा प्रदान गर्दै आएको केन्द्रले मातृशिशु कार्यक्रमअन्तर्गत् आमाहरुलाई दूध बढाउने औषधी पनि निःशुल्क वितरण गर्दै आएको छ । आयुर्वेद स्वास्थ्य केन्द्रमा यो बर्ष ९ हजार जनाले बहिरंग सेवा लिएका छन् । बहिरंग सेवा लिनेलाई पनि छुट दिने व्यवस्था केन्द्रले गरेको पाइन्छ । एलोपेथीतर्फ मानिसको आकर्षण बढ्दै गएको समयमा आयुर्वेद औषधालयले सेवा विस्तार र निःशुल्क गरेर यसको आवश्यकता पुष्टि गर्नुपर्ने चुनौती पनि छ । आम नागरिकका लागि दिइने सेवालाई प्रभावकारी बनाउन प्रचारप्रसार हुन आवश्यक छ ।