फाइल तस्वीर ।

हेटौंडाः राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षाको तयारी मकवानपुर जिल्लामा पूरा भएको छ । बोर्डले देशभर आगामी शुक्रबारदेखि कक्षा–१० को एसईई परीक्षा लिँदैछ ।

परीक्षालाई सभ्य र सहज वातावरणमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । मकवानपुरमा तोकिएको २४ वटा केन्द्रहरुमध्ये अधिकांशमा उत्तरपुस्तिका पुगिसकेको र बाँकी रहेका केन्द्रमा आज पु¥याउने उहाँले बताउनुभयो ।

एसईईमा सहभागी हुने विद्यार्थीलाई सोधिने प्रश्नपत्र समेत तयार भएर पनि जिल्ला प्रहरी कार्यालयमा पुगेसँगै परीक्षाको सम्पूर्ण तयारी पूरा भएको उहाँको भनाइ छ । मकवानपुर जिल्लाबाट यस वर्ष १ सय ३६ विद्यालयका ७ हजार १ सय ३८ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी हुने सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न पालिकाका विद्यालयमा अध्यनरत विद्यार्थीलाई सकेसम्म पायक पर्ने गरी परीक्षा केन्द्र तोकिएको उहाँले बताउनुभयो । थाहा नगरपालिकाका विद्यार्थीले थाहानगरमै तोकिएको ३ वटा परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् । यसैगरी बागमती गाउँपालिकाका विद्यार्थीले बागमतीमै तोकिएको परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् भने बकैया गाउँपालिकाका विद्यार्थीले बकैयामै रहेको परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् । राक्सिराङ र मनहरी गाउँपालिका विद्यार्थीले मनहरीको परीक्षा केन्द्रबाट परीक्षा दिने उहाँले बताउनुभयो ।

हेटौंडा उपमहानगरभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले हेटौंडा उपमहानगरमा तोकिएका परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् । मकवानपुरगढी, भीमफेदी तथा ईन्द्रसरोबर गाउँपालिकाका विद्यार्थीले पनि सम्बन्धित पालिकामै तोकिएको परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् । मकवानपुरका १० वटा पालिकामध्ये ८ वटा पालिकामा परीक्षा केन्द्र तोकिएको छ ।

बागमती गाउँपालिकामा तोकिएको परीक्षा केन्द्र जनता माविमा १ सय ८८ जना परीक्षार्थी परीक्षामा सामेल हुनेछन् । बकैयाको बुद्ध माविमा ३ सय ८० र महेन्द्र माविमा २ सय ३२ जना परीक्षार्थीले परीक्षा दिनेछन् । हेटौंडाको हटियामा रहेको जनप्रिय माविमा २ सय ९९, भीमफेदीमा रहेका महेन्द्र माविमा १ सय ८१, थाहानगरको पालुङमा रहेको जनकल्याण माविमा २ सय ८२, पालुङकै मच्छेनारायण माविमा १ सय ८८ जनाले परीक्षा दिँदैछन् । यसैगरी मार्खुमा रहेको सरस्वती बालबोधिनी माविमा १ सय ४३ जना, मनहरीको राष्ट्रिय रोटरी माविमा ४ सय ४८ जना, मनहरीकै महेन्द्र किरण माविमा ३ सय ९१ जनाले परीक्षा दिनेछन् । हेटौंडाको बसामाडीमा रहेको महेन्द्र किरण माविमा २ सय ९२ जना, बस्तीपुरमा रहेको निर्मल माविमा ३ सय ४५ जना, चौघडामा रहेको वंशगोपाल माविमा ३ सय ८ जनाले परीक्षा दिनेछन् ।

हेटौंडाको आधुनिक राष्ट्रिय माविमा ३ सय ९८ जना, हेटौंडाकै बालज्योति माविमा ३ सय ११ जना, ज्ञानदा माविमा १ सय ९८ जना, भूटनदेवी माविमा ३ सय ५६ जना, सिद्धार्थ माविमा ३ सय ६६ जना, जीएस निकेतनमा ३ सय ५१ जना, सोलड्यारिटी बोर्डिङ स्कूलमा ४ सय २५ जना, प्रगति माविमा ३ सय ५३ जनाले परीक्षा दिनेछन् । थाहा नगरको बज्रबाराही माविमा २ सय ५६ जना, हेटौंडाको अमर माविमा २ सय ६५ जना र मकवानपुरगढीको भानु माविमा १ सय ८२ जना विद्यार्थी परीक्षामा सहभागी हुने जनाएको छ ।

परीक्षा केन्द्र तोकिएको विद्यालयका प्रधानाध्यापकहरुलाई नै केन्द्राध्यक्ष तोकिएकाले सम्बन्धित विषयको परीक्षा भएको दिनको केही समयअघि ती केन्द्राध्यक्षहरुले जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी कार्यालयबाट प्रश्नपत्र लगेर परीक्षा सञ्चालन हुने सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । परीक्षामा अमर्यादित क्रियाकलाप हुन नदिन पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन हुने उहाँले बताउनुभयो । गत दुई वर्षदेखि कोभिड महामारीका कारण विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको एसईई परीक्षा यसवर्ष परीक्षा केन्द्र तोकेर सञ्चालन हुन लागेको हो ।