आज मार्च ८, अर्थात अन्तर्राष्ट्रिय नारी दिवस । आजको दिन नारीहरुका लागि विशेष दिन हो । आजको दिन नारीहरुको पक्षमा रचनात्मक कार्य गर्ने गरिन्छ । समाजमा नारीहरु पीडित, शोषित भइरहने सन्दर्भमा आजको दिन नारीका ती पीडा र शोषण अन्त्यका लागि सरोकारवालालाई झक्झक्याउने विशेष दिनको रुपमा लिने गरिन्छ । विश्वभर नै नारी वर्ग पीडित हुनु परेकै कारण नारी दिवसलाई अन्तर्राष्ट्रियस्तरमा मनाउने गरिएको हो । नारीलाई अवला, कमजोर वर्गको रुपमा बुझ्ने सामाजिक चरित्रका कारण नारीहरु पीडित हुनु परेको हो ।
नारी र पुरुष एक–अर्काका पूरक हुँदा हुँदै पनि एक–अर्काका सत्रु जस्तै देखिने गरेको छ । नारी र पुरुषबीच आआफ्नै विशेषता र गुणहरु छन् । एक–अर्काका गुणलाई आत्मसात गरी सहकार्य गर्न सक्दा यो समाज सुन्दर हुने परिकल्पना गरिन्छ । तर, व्यवहारमा पुरुषको तुलना महिलाहरु बढी पीडित बन्नु परेको यथार्थ छर्लंग छ । आधारभूत अधिकार, सेवा, सुविधामा नै विभेदको स्थिति भएकै कारण नारीहरु पुरुषको तुलना कमजोर बन्न बाध्य छन् । नारीभन्दा पुरुष अब्बल, शक्तिशाली ठान्ने गलत प्रवृत्ति आज समाजकै परम्परा, प्रथा जस्तै बनिसक्दा आमरुपमा नारी वर्ग नै पीडित बन्न पुगेको हो । यो गलत परम्परा, प्रथालाई हटाउन आवश्यक छ । यसका लागि लामो समयको व्यवस्थित, योजनावद्ध र सशक्त कदम चाल्नु जरुरी छ ।
परम्पराकै रुपमा कायम रहेको लैंगिक विभेदलाई निरुत्साहित गर्न सामाजिक अभियान नै चलाउनु जरुरी छ । केही वर्षयता यस किसिमको अभियान निरन्तर जारी छ । लैंगिक समानता र नारी अधिकारकै लागि आजको दिनमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । नारी माथि हुने अमानवीय व्यवहारविरुद्ध विश्वव्यापी रुपमा कडा कानुनी व्यवस्था पनि लागु गरिएको छ । यद्यपि नारीमाथि हुने हिंसाका घटना हुन छाडेको छैन । सचेतना, कानुनको प्रभावकारी कार्यान्वयन, समतामूलक सोँचको विकासका कारण क्रमशः नारीको सम्मान र अधिकार स्थापित हुने क्रम जारी छ ।
नेपालको सन्दर्भमा नारी अधिकारका लागि राज्यका कानुन सवलीकरण गर्ने कार्य निरन्तर छ । नारीले आधारभूत अधिकार प्राप्त गर्ने क्रम बढ्दो छ । नारीले आफूलाई अवला नभई अब्बल भएको पुष्टि गर्न सशक्त रुपमा अगाडि आएका छन् । नेपालमा कानुनले नै महिलालाई आधारभूत अधिकार सुनिश्चित गर्दै लगेको छ भने नारीको सहभागितालाई पनि बढाउँदै लगेको छ । पछिल्लो समय नेपाली नारीहरु परिवार र समाजको अगुवाईमा सशक्त भएका छन् । समाजका हरेक क्षेत्रमा नारीको उपस्थिति परिणाम र परिमाण दुवै सन्दर्भमा सशक्त छन् ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा हाम्रो समाजमा नारी वर्गको चुनौति र पीडाको मात्रै नभई उपलब्धी र अवसरको पनि चर्चा गरिनुपर्छ । आज नेपाली समाजमा नारीले समान अधिकार मात्रै नभई विशेष अधिकार समेत प्राप्त गरिरहेको छ । नारीको उपस्थिति र अगुवाईले सामाजिक सन्तुलन, समाजको सामाजिक, आर्थिक विकासमा पनि टेवा पुगेको छ । नेपालको राज्य व्यवस्था र राजनीतिक नेतृत्व जिम्मेवार र जवाफदेही बन्ने हो भने नेपाललाई छिट्टै लैंगिकरुपमा विभेदरहित समाजको रुपमा स्थापित गर्न सम्भव देखिन्छ । अन्तर्राष्ट्रिय नारी दिवसको दिन नारीका पीडा र चुनौतिलाई व्यक्त गर्ने सन्दर्भमात्रै नभई नारीका उपलब्धी र अवसरको चर्चा गर्ने प्रचलन पनि बढाउनु पर्छ । हिजोको अवस्थामा आएको सुधारबाट सन्तुष्ट हुँदै जाने प्रयासले पनि सकारात्मक र गन्तव्यसम्म पुग्न थप हौलसा पुग्नेछ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नारी र पुरुष दुवैको समान अधिकार स्थापित गर्न र सुन्दर समाज निर्माणमा सवैलाई जिम्मेवार हुन आग्रह गर्दै शुभकामना ।