विज्ञान रिमाल, अध्यक्ष, पुस्तक तथा स्टेशनरी व्यवसायी संघ मकवानपुर

आइतबार श्रीपञ्चमी अर्थात सरस्वती पुजाको दिन नवौं राष्ट्रिय पुस्तक दिवस मनाइएको छ । यस वर्ष मकवानपुरमा पुस्तक दिवसको अवसरमा पुस्तक व्यवसायीले विद्यालयमा शैक्षिक सामग्री वितरण गरे भने साहित्य संगम मकवानपुरले पठन संस्कृतिको विषयमा अन्तरक्रियासहित साहित्य रचना कार्यक्रम राख्यो । यस्तै नवसर्जक साहित्य चौतारीले निशूल्क पुस्तक वितरणको कार्यक्रम राख्यो । ती कार्यक्रममा पुस्तक आदानप्रदान नै चल्यो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले सरकारलाई नै राष्ट्रिय पुस्तक दिवस मनाउन आग्रह गरे पनि सरकारले औपचारिक रुपमा पुस्तक दिवस घोषणा गरेको छैन । पठन संस्कृतिको अभाव समस्याको रुपमा रहिरहेका बेला पुस्तकको व्यापार, पाठकहरुको प्रवृत्ति र पाठ्य सामग्रीका विषयमा हाम्रा सहकर्मी डीबी बर्तौलाले पुस्तक तथा स्टेशनरी व्यवसायी संघ मकवानपुरका अध्यक्ष विज्ञान रिमालसँग गर्नुभएको कुराकानीः

समाजः राष्ट्रले पुस्तक दिवस घोषणा नगरेको अवस्थामा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले नवौं राष्ट्रिय पुस्तक दिवस मनाइसकेको छ । तपाईंहरुले नै यो दिवस मनाउन सुरु गर्नु भयो । यो विषयमा राज्यले किन बेवास्था गरेको जस्तो लाग्छ तपाईंलाई ?
रिमालः महासंघबाट राष्ट्रियस्तरमा पहल भइरहेको छ । पुुस्तक दिवस नै भन्ने हो भने त अप्रिल २३ लाई अन्तर्राष्ट्रिय पुस्तक दिवसको रुपमा मनाउँदै आइरहेको छ । त्यस दिन त सबैले मनाउँदै आएको छ, तर हामीहरु पुस्तक व्यवसाय नै गर्ने र महासंघको स्थापना पनि श्रीपञ्चमीकै दिन भएको हुनाले त्यसै दिनलाई नै पुस्तक दिवसको रुपमा किन नमनाउने भन्ने हेतुले केन्द्रीयस्तरमा हुनुभएका हाम्रा महासंघका प्रतिनिधिहरुले पनि राष्ट्रसँग छलफल अघि बढाइरहनु भएको छ । राष्ट्रिय पुस्तक दिवस मनाउन क्यालेण्डरमै राख्नुपर्छ भन्ने उद्देश्यले पहल भइरहेको छ । तर राष्ट्रबाट सम्बोधन भइनसकेको अवस्थामा हामीले यो दिवसचाहिँ किन नमनाउने त भनेर श्रीपञ्चमीको दिनमा यो दिवस मनाउँदै आएका छौं ।

समाजः राष्ट्रिय पुस्तक दिवस मकवानपुरका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले के कसरी मनाएको अवस्था छ ?
रिमालः हाम्रो महासंघ ६७ जिल्लामा खोलिएको छ । हामी व्यवसायी विद्यालयसँग नै आबद्ध हुने भएकाले हामीले प्रायःजसो शैक्षिक क्षेत्रमै गएर विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामग्रीहरु दिएर मनाउने गरेका छौं र स्थापना दिवस पनि त्यसै दिन पर्ने भएकाले दुईवटै उत्सवलाई एकै पटक मनाउँदै आएका छौं ।

समाजः मकवानपुरको सन्दर्भमा कस्ता खालका पुस्तकहरुको बढी माग भइरहेको छ ?
रिमालः अहिलेको युवा पुस्ताले रुचाइएको प्रेमकथाका किताबहरुचाहिँ बढी बिक्री हुन्छ । सँगै केहि ज्ञानबद्र्धक जीवनीका किताबहरु पनि जाने गरको छ । समग्रमा भन्नुपर्दा अहिले पढ्ने प्रवृत्ति बढेको हुनाले सबै खालका किताबहरु पाठकले खोज्ने गरेका छन् ।

समाजः पठन संस्कृतिको विकासका लागि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले के कस्ता कार्यक्रमहरु गर्ने गरेको छ ?
रिमालः संगठनकै हिसाले भन्नुपर्दा धेरथोर गरेकाचाहिँ छौं । महासंघ पनि ‘हातहातमा पुस्तक, घरघरमा लाइब्रेरी’ भन्ने नाराका साथ हिँडिरहेको छ, पठन शैलीलाई विकास गर्नुपर्छ भन्ने हेतुले । व्यक्तिगतरुपमा सबैले केही न केही गर्दै आउनुभएको छ । युवा पुस्ताले सञ्चालन गर्दै आएको पुस्तकालयमा पनि प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहभागी हुँदै आएका छौं ।

समाजः गहिरो अध्ययन गर्नका निम्ती पुस्तकहरु खोज्दै तपाईंहरुको पसलमा कत्तिको पाठकहरु आउने गरेको अनुभव छ ?
रिमालः मकवानपुरको बजार क्षेत्र सानो भएको हुनाले होला सायद त्यस्तो सोध्ने मान्छेचाहिँ कमै मात्रामा आउने गर्छन् । तर, श्रष्टाहरु मकवानपुरमा नभएको होइन । श्रष्टाहरुको किताब प्रायः विमोचन हुने बेला किनेर पढ्नेहरु धेरै आउँछन् र प्रकाशित भइसकेका किताबको प्रतिक्रिया हेरेर खोज्न आउनेको संख्या पछिल्लो ७–८ वर्षयता धेरै बढेको छ ।

समाजः मकवानपुरमा रहेका संस्थागत तथा सामुदायिक विद्यालयहरुले विद्यालयमा पुस्तकालय बनाउने प्रयोजनका लागि तपाईंहरुबाट एकमुस्ट किताबहरु बिक्री हुने अवस्था छ कि छैन ?
रिमालः अब त्यो चाहिँ छ भन्न पनि मिल्छ, छैन भन्न पनि मिल्छ । छ भन्नलाई समग्र हाम्रो व्यवसायीबाटै जान्छ । तर मकवानपुरको हकमा हेर्ने हो भने मकवानपुरकै व्यवसायीबाट कमै मात्रामा पुस्तकहरु बिक्री भएर छान्छ । चितवन र काठमाडौंका ठूला व्यवसायीहरुले धेरैजसो पुस्तकहरु सप्लाई गर्दै आएका छन् । हाम्रो मकवानपुर व्यावसायिक हिसाबले पनि सानो भएको भएर होला कममात्र जान्छ । यस जिल्लाका शैक्षिक संस्थाहरुले जिल्लाभित्रकै व्यवसायीबाट पुस्तक खरिद गर्नुपर्छ भन्ने सोच पलामा यहाँका व्यवसायीहरु पनि बाँच्न सक्छन् ।

समाजः पुस्तक खरिद गर्दा पाइने छुटको के कस्तो व्यवस्था छ ?
रिमालः अहिले राज्यले नै पुस्तकको रकम तोकिदिएको छ । अंकित मूल्यमा बेच्नुपर्ने भन्ने भए पनि हाम्रो जिल्लामा केहि छुट दिने गरिएकै छ । तर हामी व्यवसायीमै एकरुपता नभएको हुनाले पनि कहिँकतै केहि फरक भएको हुनसक्छ । त्यो हाम्रै गल्ती हो, तर त्यति धेरै रकम फरकचाहिँ पर्दैन । सरकारले तोकिदिएको मुनाफा हामीले पाउने हो, त्यसमा हामीले विद्यालयलाई छुट दिएकै हुन्छौं । विद्यालयसँग हाम्रो सम्बन्ध नङ र मासुजस्तै हुने हुँदा केहि पुस्तकहरु हामीले विद्यालयलाई सहयोग पनि गरेका हुन्छौं ।

समाजः समग्रमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघसँग आवद्ध भएका स्टेशनरी तथा पुस्तक पसलहरुमा हुने एकरुपतामा कत्तिको फरक पाउनु हुन्छ ?
रिमालः ६७ वटा जिल्लामै एकरुपता छ । अहिले समस्या व्यवसायीको भन्दा पनि सिजनल कोटेशन आह्वान गर्दाचाहिँ दर्तामात्र गरेर हामीसँग आवद्ध नभएका व्यवसायीहरुले एकरुपतालाई भत्काउने काम गरिरहेका छन् । धेरै प्रतिशत कमिशन पाइने बाहिरी प्रकाशनका किताहरु पनि धेरै थरिका छन् । एउटै मुनाफा प्रतिशत पाइने किताबहरु छैनन् । त्यसलाई अहिले राज्यले निगरानी गरेको हिसाबले बाहिरी देशका धेरै खाले किताबहरुमा अहिले बन्देज पनि लगाइएको छ । त्यसले गर्दा बाहिरबाट मगाउनुपर्ने किताबहरुमा व्यवसायीले धेरै कमिशन दिने र पुराना किताबहरु बिक्री गर्ने गरेको पाइन्छ । हामी जिल्लाबासी भएको र बजार सानो भएका कारण चलेका र नयाँ किताबमात्र बिक्री गर्दछौं । प्रायःजसो बिक्ने किताब ल्याउने भएकाले धेरै कमिशन दिन नसकेको हो ।

समाजः महासंघमा दर्ता नभई पनि व्यवसाय सञ्चालन गर्न पाउने अवस्था छ ?
रिमालः राज्यले दिएको सेवा सुविधा लिएर जोकोहीले आफ्नो नाममा म व्यवसाय गर्छु भनेर फम दर्ता गर्न पाउनु हुन्छ । त्यसलाई हाम्रो महासंघमा आवद्ध हुनैपर्छ भनेर हामीले करबल गर्न सक्दैनौं । यो भनेको स्वेच्छाले हुने हो । संगठन भयो भन्दैमा जबरजस्ती हुनैपर्छ भनेर कानुनविपरीत बाँध्न मिल्दैन ।

समाजः एउटा पुस्तक व्यवसायीले पुस्तक बेचेरै आफ्नो जीविकोपार्जन गर्नसक्ने अवस्था कत्तिको पाउनुहुन्छ ?
रिमालः त्योचाहिँ छ । इमान्दारितापूर्वक गर्ने हो भने सरकारले तोकेको मूल्यमा बेच्ने हो भने अझ छुट पनि दिन सकिन्छ । अहिले ५–७ वर्षदेखि अलि विकृति आएकोजस्तो महसुस भएको छ । जस्तैः धेरै विद्यालयमा पढाउने शिक्षकहरुले हाम्रो व्यवसाय आफैंले सञ्चालन गर्दै हुनुहुन्छ । विद्यार्थीहरु हामीसम्म आउनुभन्दा पनि शिक्षकसँगै किताब किन्न धेरै लालायित देखिन्छन् । जसले गर्दा व्यवसायमा अलिकति मर्काचाहिँ परेको छ ।

समाजः मकवानपुरमा साहित्यिक पुस्तकहरु कत्तिको बिक्री हुन्छ ?
रिमालः पुस्तक त बिक्री हुुन्छ । समग्रमा हेर्ने हो भने पब्लिकेशनबाटै प्रकाशित भएर आएको पुस्तक र मोफसलका जिल्लाका श्रष्टाहरुले निकालेका किताबमा चाहिँ फरक पर्दोरहेछ । अहिलेको समयमा मार्केटिङबिना किताब बिक्दैन र थाहा पनि हुँदैन । पब्लिकेशन हाउसले प्रकाशन गर्दा विज्ञापन पनि गरिदिने हुँदा त्यो देखेर मान्छे किन्ने गर्छन् । त्यो हिसाबले हेर्दा बाहिरबाट आउने किताबहरु बिक्री हुन्छ, तर जिल्लाका श्रष्टाहरुको किताब प्रचारप्रसारको कमीले गर्दा जिल्लाबाटै निक्लेको किताब भनेर खोज्न आउने कम देखिन्छ ।

समाजः साहित्यिक पुस्तकप्रति यहाँका व्यवसायीहरुले खासै त्यस्तो कार्यक्रमहरु नगरेको जस्तो लाग्छ, आखिर किन होला ?
रिमालः त्योचाहिँ व्यवसायीले नगरेको भन्दा पनि मकवानपुरमा रहेका साहित्यिक संस्थाहरुले विमोचन गर्ने बेलामा हामीलाई सम्झिनु भए हुन्थ्यो होला । विमोचन गरिसकेपछि हामीलाई नै प्रचारप्रसारको जिम्मा दिएर सबै पुस्तक पसलमा किताब ल्याएर छाड्दिने हो भने अवश्य नै बिक्री हुन्थ्यो होला । विमोचनमै किताब आउने हुँदा सय डेढसय जनाले त्यहीँ बाटै किन्छन् । त्यसपछि जो श्रष्टा हुनुहुन्छ, उहाँले बोकेर हिँड्नुभएको हुन्छ । बाटोमा जो भेट्यो उसैलाई दिनुहुन्छ । म आफैं व्यवसायी भएको हिसाबले बोलाउँदा नपुगेको ठाउँमा मैले बाहिर बसेर एक पिस भए पनि किनेकै छु । पसलमा ल्याएर छोड्दिनु भएको किताब बेचेको पनि छु । अरुले के गर्छन् थाहा भएन । मचाहिँ साहित्यलाई सम्मान गर्ने भएको हिसाबले जतिमा उहाँहरुले बेच्नुभयो, त्यतिमा ल्याएर मैले अहिलेसम्म बेचबिखन गरेकोमा कमिशन पनि लिएको छैन । उहाँहरुले भन्नुभएको रकममा बेचेर पैसा दिने गरेको छु ।