हेटौंडाः स्थानीय तहको निर्वाचन समयमै गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानवपुर कमिटीले बुधबार हेटौंडाको बुद्धचोकमा सडक बहसको आयोजना गरेको छ । अनेरास्ववियु मकवानवपुर जिल्ला कमिटीका अध्यक्ष विशाल पौडेलको अध्यक्षता तथा अनेरास्ववियु पूर्व केन्द्रीय उपाध्यक्ष तथा नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

बहसमा सहभागी सर्वसाधारण ।

अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले अहिले गठबन्धनको सरकारले संविधान अनुसार हुनुपर्ने स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरी देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरेको आरोप लगाउनुभयो । त्यसको विषयमा आम विद्यार्थी, जनता, नागरिक समाजलाई कानुनका प्रावधानहरु के हुन् ? स्थानीय तहको निर्वाचन समयमै किन हुनुपर्ने हो र यदि समयमा निर्वाचन भएन भने त्यसको परिमाण के आउँछ ? भन्ने कुरा प्रकाश पारिदिनका निम्ति सडक बहस गर्नु परेको उहाँले बताउनुभयो ।

कानुनव्यवसायी मुकुन्द अधिकारीले स्थानीय तहको निर्वाचनको मिति सार्ने कुरा संविधान र कानुन विपरित रहेको बताउनुभयो । निर्वाचनको अपरिहार्यता छ भन्ने कुरा स्वयम् सरकारलाई थाहा नहुने कुरा नहुने भन्नुहुँदै गलत स्वार्थलाई पुरा गर्नका लागि अनावश्यक व्याख्या गर्न जरुरी नरहेको बताउनुभयो । आवधिक ढङ्गले निर्वाचन गर्ने कुरामा कुनै व्याख्या गर्नुपर्ने कुरा नरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, कानुन व्यवसायी ध्रुबप्रसाद चौलागाई र मदन दाहाल, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई लगायत विद्यार्थी नेता, कार्यकर्ताहरुको उपस्थिति रहको थियो ।