जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर ।

हेटौंडाः जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर र नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाको आयोजनामा आगामी माघ २९ गते पुरुष बन्ध्याकरण शिविर हुने भएको छ । सन्तानका रहर पुगिसकेका दम्पतीहरुका लागि पुरुष बन्ध्याकरण (भ्यासेक्टोमी) शिविर हुने भएको हो ।

गत माघ ७ गतेका लागि निर्धारण गरिएको शिविर उक्त मितिमा सम्पन्न हुन नसकेपछि २९ गते हुने भएको हो । हेटौडा—११ स्थित नेपाल परिवार नियोजन संघ मकवानपुर शाखामा शिविर आयोजना हुने संघका सुपरभाइजर महेश पाण्डेले बताउनुभयो । स्थायी बन्ध्याकरणअन्तर्गत् पर्ने भ्यासेक्टोमीको माग आएसँगै शिविरको आयोजना गरिएको पाण्डेले बताउनुभयो । ३० जनाले पुरुष बन्ध्याकरण शिविरको माग गरिएको उहाँले जानकारी दिनुभयो । वर्षमा ७ पटकमात्र यस्तो शिविरको आयोजना गर्ने गरिएको उहाँले बताउनुभयो ।

गत मंसिरमा भएको पुरुष बन्ध्याकरण शिविरमा ४६ जनाले सेवा लिएका थिए । तीन महिने सुईजस्ता परिवार नियोजनका अस्थायी साधनको प्रयोगले झन्झट हुने भएकाले कतिपय दम्पतीहरु परिवार नियोजनको स्थायी उपाय खोजिरहेका हुन्छन् । सन्तान जन्माउन रहर पुगेका मानिसहरुले बन्ध्याकरण गर्नु उचित रहेकाले बन्ध्याकरण गर्ने गरिएको सुपरभाइजर पाण्डेले जानकारी दिनुुभयो ।