हेटौंडाः हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विशेषगरी तामाङ समुदायले मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष आज बुधबार मनाइँदैछ । नयाँ वर्षको स्वागतमा पितृपूजा, कूलपूजा र प्रकृतिको पूजा गरेर ल्होछार मनाउने गरिन्छ । ल्होछारको अवसरमा छोरीचेलीलाई डाकेर टीका तथा प्रसाद लगाइदिने चलन रहेको छ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औं वर्ष सुरु भएको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुंगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपछीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ । मुसाबाट सुरु हुने यी वर्षहरु सुंगुर वर्षमा पुगेर सकिन्छ । १२ वर्गका वर्षहरुलाई १२ राशीका रूपमा पनि लिने गरिन्छ । उक्त १२ वर्ष समाप्त भएपछि फेरि उही नाम दोहोर्‍याएर वर्ष गनिन्छ ।

सोनाम ल्होछार नेपालको मध्य पहाडी क्षेत्रमा बसोबास गर्दै आएका तामाङ जातिको मुख्य चाड हो । सोनाम ल्होछार योल्मो र तामाङ जातिले मनाउने गर्दछन् । यो तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथिको दिन मनाइने सोनाम ल्होछार र चिनियाँ नयाँ वर्ष एकै दिन मनाइन्छ । ल्होछार दुई शब्द ‘ल्हो’ र ‘छार’ मिलेर बनेको हुन्छ, जसको अर्थ क्रमशः वर्ष वा साल र नयाँ हुन्छ । त्यसैले ल्होछारको अर्थ नयाँ वर्ष भन्ने बुझिन्छ । नेपालमा ल्होछार मनाउने प्रचलन चिनियाँ सभ्यताबाट तिब्बत हुँदै भित्रिएको अनुमान गरिन्छ ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । तामाङ जातिको बाहुल्यता रहेको मकवानपुर जिल्ला तथा बागमती प्रदेशका विभिन्न स्थानमा यो पर्व विशेषरुपमा मनाइन्छ । सोनाम ल्होछारका अवसरमा विभिन्न स्थानमा महोत्सवको आयोजना गरी तामाङ जातिका खाना, वेशभूषा, कला, संस्कृतिलगायतको प्रदर्शन गर्ने गरिएको भए पनि यसवर्ष कोभिड–१९ को जोखिमका कारण सार्वजनिक कार्यक्रमहरु नहुने भएको छ ।

यसवर्ष सोनाम ल्होछारको अवसरमा संघीय सरकार र बागमती प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । यस्तै, मकवानपुर जिल्लाका बागमती, बकैया, कैलाश राक्सिराङ, इन्द्रसरोवार, मनहरी गाउँपालिकालगायत प्रदेशका विभिन्न स्थानीय तहहरुले सार्वजनिक विदा दिएको छ ।