हेटौंडाः मकवानपुरमा मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्डुल गर्नेहरुलाई जनही एक सय रुपैयाँका दरले जरिवाना हुने भएको छ । आइतबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डीसीसीएमसी) मकवानपुरको बैठकले यस्तो निर्णय गरेको हो ।
सार्वजनिक स्थलमा मास्क नलगाई हिँड्डुल गर्नेहरुलाई संक्रामक ऐन, २०२० बमोजिम सुरक्षाकर्मी मार्फत तत्काल जरिवाना गर्ने जनाइएको छ । बजारमा मानिसहरुको भिडभाड व्यवस्थापन, नियन्त्रण एवम् जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गराउने सम्बन्धमा सम्बन्धित पक्ष, व्यवसायी एवम् मकवानपुर उद्योग वाणिज्य संघ सचेत रही व्यवस्थापन, नियन्त्रण गर्ने जनाइएको छ ।
यस्तै खोपको कभरेज बढाउने सम्बन्धमा सबै पक्षहरुले आ–आफ्नो तहबाट सहयोग गर्ने बैठकले निर्णयमा गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख भरणमणि पाण्डेले हस्ताक्षर गर्नुभएको छ ।