नेपाली साङ्गीतिक आकाशका एक नक्षत्र हुन् पन्नाकाजी शाक्य । वि.सं. १९८८ पुस १५ गते काठमाण्डौंको ओम बहालमा माता बालकुमारी र पिता चतुर्मान शाक्यका छ सन्तानमध्ये कान्छो सन्तानको रुपमा जन्मिएका थिए पन्नाकाजी । चार/पाँचवर्षको उमेरदेखि नै तोते बोलिमा गीत गाउन सुरु गरेका पन्नाकाजीलाई उनका बुबाले भक्तिभावका भजनहरुलाई भाका हालेर गाउन सिकाइसकेका थिए । बुवाको प्रेरणा र आफूभित्रको गीत सङ्गीतप्रतिको मोहकै कारण नौ /दशवर्षको उमेरदेखि नै सुरताल मिलाएर गाउन सिपालु भै सकेका थिए । १५÷ १६ वर्षको उमेरमा टेक्दै गर्दा उनी आफन्त र साथीभाइहरुको माझमानिकै लोकप्रीय बनिसकेका थिए । वि.स. २००४ सालदेखि औपचारिक रुपमै गीत गाउन थालेका पन्नाकाजी २० वर्षको उमेरमा ज्ञानदेवीसँग विवाहबन्धनमा बाँधिए । पन्नाकाजीका पाँच सन्तानमध्ये दुई छोरा प्रवेशमान र पवित्रमान शाक्य नेपाली साङ्गीतिक फाँटमा सिद्धहस्त गायक भएर रहन सफल भएका छन् ।
सुमधुर स्वरका धनी गायक पन्नाकाजी साङ्गीतिक जीवन बिताउन चाहन्थे । त्यतिबेला संगीतमै रमाउन सक्नु,जीवन बिताउन सक्नु सामान्य कुरा थिएन । इच्छाशक्ति,प्रतिभा र क्षमता भए मानिसले ढिलो चाँडो अवसर प्राप्त गर्न सक्छ भन्ने दह्रो आत्मविश्वास लिएका उनलाई एकदिन उनकै परमप्रियमित्र रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमालले रेडियो नेपालमा जागिर खान सुझाए । यसबाट उनलाई आफूमाथि आत्मविश्वास पलायो । रेडियो नेपालका संस्थापक व्यक्तित्व, नाटक निर्देशक बालकृष्ण समले उनको प्रतिभा र गायनको परीक्षा लिए । यसरी लिएको परीक्षामा सफल भएपछि उनी रेडियो नेपालको गायकका रुपमा २००८ सालदेखि स्थायी नियुक्ति पाएर काम गर्न थाले । पन्नाकाजीले वि.स. २००८ देखि वि.सं.२०४० सम्म झण्डै ३२/३३ बर्ष रेडियो नेपालमा रहेर गीत संगीतको सिर्जना गरेर योगदान दिए । रेडियो नेपालले आयोजना गरेको २०२२ को आधुनिक गीत प्रतियोगितामा संगीततर्फ नारायण गोपाल प्रथम भए भने गायनतर्फ पन्नाकाजी प्रथम भएका थिए । त्यति बेला नारायण गोपालको भन्दा पन्नाकाजीको चर्चा बढी थियो तर पनि यी दुई व्यक्तित्व बिचको आपसी मित्रता उत्तिकै कसिलो र गाढा थियो ।
पन्नाकाजीका आधुनिक, भजन, स्वदेशगान,लोक गीत र नेपालभाषाका गरी करिब चार सय गीत रेकर्ड भएका छन् । तिरिरी मुरलीबज्यो वनैमा ,किनकिनतिम्रो तस्विर मलाई निको लाग्छ ,लोलाएकातीतिम्रादुई नजरले ,हामीलाई छाडी दाइ त अब, एकानीदुवानी, रात यो नबित्ला, जुनको परेली, लालीगुराँस फुल्यो है आदि गायक तथा संगीतकार पन्नाकाजीलाई चिनाउने आधुनिक, पुराना तथा सदाबहार गीतहरु हुन् । पन्नाकाजी नेपाली संगीत प्रेमीहरु माझलोक प्रिय थिए र आज पनि छन् । त्यसबेला राज परिवारका पनि प्रिय गायक पनि थिए उनी । विभिन्न अवसरहरुमा राजदरबारमा पनि सांगीतिक कार्यक्रमहरु भई नै रहन्थे, ती कार्यक्रमहरुमा दुई काजीहरुको अनिवार्य रुपमा उपस्थिति हुनै पथ्र्यो एक पन्नाकाजी र अर्का नातिकाजी । पन्नाकाजी राजा महेन्द्रका निकै प्रिय थिए । बेलाबेलामा महेन्द्रको बोलावटमा दरबार गइरहन्थे । दरबारमा उनी लगायत तारादेवी, नातीकाजी, शिवशंकर, ज्ञानबहादुर आदिको विशेष प्रस्तुति रहन्थ्यो । कार्यक्रम सकिएपछि राजा कलाकारहरुसँगै बसेर खाजानास्ता खान्थे । सञ्चो विसञ्चो देखि घर व्यवहारका कुरा समेत सोध्ने गर्थे राजा महेन्द्र । व्यवहारिक जीवनका कतिपय कुराहरु दरबारकै सहयोगमा सम्पन्न हुने गथ्र्यो । दरबारको सरसहयोगमा पन्नाकाजी अगाडी थिए ।
पन्नाकाजी रेडियो नेपालले जन्माएका एक स्वर्णीम गायक हुन् । उनले आफ्नो उर्वर वैंश गीत संगीतको सिर्जनामा बिताएका छन् । उनी सर्जक मात्र पनि होइनन् ,उनी कुशल राजनैतिक व्यक्तित्व पनि हुन् । उनी नेपाली काङ्ग्रेस पार्टीका नेतृत्व पनि थिए । सन्त नेता कृष्णप्रसाद भट्टराई, सर्वोच्च कमाण्डर गणेशमान सिंह, प्रकाशमान सिंह जस्ता व्यक्तित्वहरुसँग समेत यिनको निकै गहिरो सम्बन्ध थियो । २०१८को आन्दोलनमायिनले पनिनौ महिना जेल जीवनबिताएकाथिए । पन्नाकाजीे रेडियो नेपालका संस्थापकमध्येका एक ससक्त कलाकार हुन् । रेडियो नेपालमा संगीत महाशाखामा नै जीवन बिताएका राष्ट्रसेवक कर्मचारी पनि हुन् । अमूल्य योगदानको कदर स्वरुप उनलाई सर्वोत्तम साधक गायक, नातिकाजी सम्मान, विरेन्द्र सेवापदक, गोरखा दक्षिण बाहु, रेडियो नेपाल सेवापदक, शुभराज्यभिषेक पदक, लगायतका उत्कृष्ट पुरस्कार र सम्मानबाट सम्मानित गरिएको भएपनि रेडियो नेपालको अवकाश पश्चात पुराना एवम् सदाबहार गीतहरु बज्न छाडेपछि भने उनले कुनै पनि सम्मानलिन अस्वीकार गरिदिए । “कुनै पनि कलाकारलाई गरिने सबैभन्दा ठूलो सम्मान भनेको उनीहरुद्वारा गाइएका, संगीतबद्व गरिएका र लिपीबद्व भएका गीतहरु सम्मानपूर्वक प्रसारण गर्नु हो । ”यिनै आदर्शवाणीका प्रणेता पन्नाकाजी नेपाली गीतमा मिसिएको विकृतिप्रति खेद व्यक्त गर्दथे । संगीत सिर्जनामा लागेर सिङ्गो जीवन नेपाली स्रष्टा र सर्जकहरुप्रति समर्पित गरेका पन्नाकाजी ८४ वर्षको उमेरमावि.सं.२०७३ माघ १२ गते नेपाली साङ्गीतिक आकाशबाट सदासदाका लागि बिदा भए ।