हर्नामाडीः हेटौंडा–१८ स्थित ज्योति माविमा राष्ट्रिय चित्रकला कार्यशाला उद्घाटन गरिएको छ । विद्यालयको ५५ औं स्थापना दिवसको अवसरमा कार्यशालाको उद्घाटन गरिएको हो ।
ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको अध्यक्षता तथा वडा नम्बर १८ का वडा अध्यक्ष अनिलकुमार बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । प्रमुख अतिथि बानियाँले कार्यशालाको उद्घाटन गर्नुहुँदै वडाले शैक्षिक विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक जयराम थापाले स्वागत मन्तव्य राख्नुहुँदै यस्ता अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि आर्थिक समस्या हुने गरेको बताउनुभयो । कोभिड–१९ का कारण मूर्तिकला निर्माण कार्यक्रम गर्न नसकिएको बताउनुभयो । कार्यशालाको स्थापनासँगै विद्यार्थीले आफ्ना कला र संस्कृतिलाई उजागर गर्न सकिने दावी गर्नुभयो ।
विगत ४ वर्षदेखि नयाँ किसिमले अतिरिक्त क्रियाकलापलाई जोड्दै दिवस मनाइरहेको उहाँको भनाइ छ । विद्यालयमा १ हजार २ सय विद्यार्थी अध्ययनरत रहेका छन् । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकार, शिक्षकलगायत विद्यार्थीको सहभागिता रहेको थियोे ।