हेटौंडाका मुख्य सडकहरु निकै साँघुरा छन् । बस्ती पातलो हुँदा बनेका सडक विस्तार हुन सकेका छैनन् । जनघनत्व बढ्दै जाँदा पुराना सडक साँघुरा भएका हुन् । तर सडक विस्तारको कुनै योजना छैन । मेनरोड विस्तार पनि स्थगित भएको छ । सहायक रोडहरु स्थानीय निकायले विस्तार गर्न सकेको छैन । हेटौंडामा बस्ती बढ्दै गएपछि सडकहरु साँघुरा हुँदै गएका हुन् । प्रदेश राजधानीका सडकको दुरावस्थाले सरकारलाई नै गिज्याइरहेको छ । प्रदेश सरकारले राजधानीलाई व्यवस्थित बनाउनेतर्फ कुनै अग्रसरता लिएको छैन । शहरको आधुनिकता त्यहाँको सडक विस्तारसँग जोडिने गर्दछ । तर साँघुरा र अव्यवस्थित बजार हेटौंडा शहरको विशेषता बन्दै आएको छ ।

हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र तरकारी, फलफूल तथा विविध सामग्रीहरुको घुमन्ते खुद्रा बिक्री प्रयोजनका लागि ठेलाहरु प्रयोग भइरहेका छन् । यसले सर्वसाधारण पैदलयात्रीले सास्ती खेप्नुपरेको छ । तरकारी, कपडा र होटलहरु पनि सञ्चालन हुँदा उपभोक्ता तथा ग्राहकको भिड हुनु स्वभाविक हो । बढ्दो शहरीकरण, सार्वजनिक यातायात तथा पैदल यात्रीका लागि सडक निकै साँघुरा भएका छन् । सबै पक्ष सडकमै आउनु पर्ने भएपछि अव्यवस्थित हुने नै भयो । यसलाई सुन्दर बनाउन हेटौंडा उपमहानगरपालिका वा सडक डिभिजन कार्यालय तथा अन्य सम्बन्धित निकायहरुले गम्भीर हुन आवश्यक छ । प्रदेशको राजधानीमै सडकको दुरावस्था हुँदा स्थानीयको सभ्यतामाथि नै प्रश्न उठ्नसक्छ । सभ्यताका अतिरिक्त नागरिकलाई सुविधाका लागि पनि सडक फराकिलो आवश्यक छ ।

वर्षौंदेखि अव्यवस्थित ठेला सञ्चालनले सर्वसाधारण तथा पैदलयात्रीलाई परेको असुविधा तथा सास्तीप्रति प्रशासन र उपमहानगर भने मौन देखिएका छन् । सडक साँघुरो भएपछि बजारलाई व्यवस्थित बनाउने जिम्मेवारी स्थानीय सरकार र प्रशासनको हो । ठेलामा व्यापार गर्न पाउने सबै नागरिकको अधिकार हो । तर ठेला, नाङ्लो वा डोकोमा सडकमा पसल गर्नेहरुलाई उचित स्थानको व्यवस्थापन गरिनु पर्दछ । सडक साँघुरो भयो भन्दै उनीहरुको जीवन निर्वाहको अधिकार खोस्न पाइँदैन । तर उचित प्रबन्ध गराई दिनु पर्दछ । नागरिक समाजदेखि उपभोक्ता अधिकारको क्षेत्रमा काम गर्नेहरुले विचार गर्न आवश्यक छ । समस्यासँग भाग्ने भन्दा समाधान खोज्नेतर्फ लाग्नु पर्दछ ।

साँघुरो सडक आफैंमा व्यवस्थित छैन, त्यसमाथि ठेला, डोको, डालो, नाङ्लोमा राखेर व्यापार गर्नेहरुबाट हुने फोहरले शहरलाई नै चुनौती दिइरहेको हुन्छ । वातावरण स्वच्छ राख्ने काममा पनि सडक व्यापारले समस्या बनाएको छ । यसका लागि सडकमा पसल गर्नेहरुलाई उचित स्थानको प्रबन्ध गर्नुका अतिरिक्त अभिमुखीकरण गर्नुपर्दछ । उपमहानगरले ठेलाहरुको अभिलेखीकरण गरी वार्षिक दर्ता तथा नवीकरण शुल्क लिँदै आएको छ । शुल्क लिने पालिकाको नियमले ठेलालाई सडकमा व्यापार गर्न अनुमति दिएको देखिन्छ । ठेला व्यवसायीलाई विस्थापन गर्नुभन्दा व्यवस्थापन गरिनु पर्दछ । अन्य शहर आधुनिकतातर्फ उन्मुख भइरहँदा हेटौंडा बजारले रुप फेर्न सकेको छैन । हेटांैडासँग ऐतिहासिकता बाँकी छैन भने आधुनिक शहर बन्न पनि सकिरहेको छैन ।