हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले वन क्षेत्रको प्रयोगसँगै संरक्षणमा सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । बुधबार डिभिजन वन कार्यालय राप्ती मनहरीको आयोजनमा जिल्ला वन क्षेत्र समन्वय समिति र सरोकारवालाको सहभागितामा बसेको डिभिजनस्तरीय समन्वय बैठकमा उहाँले वन क्षेत्रको प्रयोगसँगै संरक्षणमा राजनैतिक दल, सरकारी तथा गैरसरकारी संस्था, उपभोक्ता, नागरिक समाजलगायत सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताउनुभएको हो ।
प्रमुख खुलालले वनजंगलको संरक्षणसँगै वन क्षेत्रलाई उत्पादनसँग जोडेर उत्पादनमूलक कार्य गरिनुपर्ने र आर्थिक उपलब्धी हासिल गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । जनताको आर्थिक विकासमा टेवा पुग्ने र वन क्षेत्रको प्रयोग गर्ने कुरामा सबै सचेत र सक्रिय हुनुपर्ने उहाँको भनाई थियो । उहाँले बढ्दो वन अतिक्रमण रोक्नसमेत सबैको सक्रिय सहभागिता र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले कार्यालयबाट आगामी वर्ष सञ्चालन गरिने कार्यक्रम कार्यान्वयनमा समेत सबैको सहभागिताको अपेक्षा गर्नुभयो ।
बैठकमा डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख विष्णुप्रसाद आचार्यले कार्यालयबाट चालु आर्थिक वर्षमा भएका काम, उपलब्धी, आगामी कार्ययोजना, समस्या र चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । आचार्यले जनतासँग वनका कुरा, जनताका मनका कुरा कार्यक्रमको अभियान चलाउने, स्थानीय तहको वन वातावरण ऐन निर्माण आदिमा सहकार्य, समन्वय, संवाद गरी वातावरणमुखी कार्यक्रम गर्ने, विद्यालय शिक्षा प्रवद्र्धन गरिने, वन अतिक्रमण, वन डँढेलो, जथाभावी पूर्वाधार निरुत्साहित गर्ने गराउने, नदीजन्य श्रोत व्यवस्थापन, वृक्षरोपण अभियान चलाउनेजस्ता कार्ययोजना रहेको बताउनुभयो ।
बैठकमा सहभागीहरुले डिभिजन वन कार्यालयको कार्यक्रम प्रभावकारी भएको भन्दै यसमा सबैले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख इमनाथ पौडेल, हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपाने, विभिन्न राजनैतिक दलका प्रतिनिधि, गैरसरकारी संघसंस्थाका प्रतिनिधिलगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।