आचार्य ॐ कारेश्वरानन्द अवधूत

उर्जाका स्रोतकेन्द्र चक्रहरुः चक्रहरु हाम्रा शरीरमा रहेको शक्तिकेन्द्र हुन् । अनन्त उर्जाका स्रोतस्वरुप भएर स्थूल नाडी संस्थान नर्भस् सिस्टम भन्दा सुक्ष्म छन् । नाङ्गो आँखाबाट हेर्न सकिँदैन । यति सुक्ष्म यिनको अस्तित्व छ । चक्रहरुको अनुभव भित्रि बोधिदृष्टि प्राप्त साधकहरुले मात्र गर्न सक्दछन् । प्रत्येक चक्रले शरीरको विशिष्ट क्षेत्र र पञ्चमहाभूतलाई नियन्त्रण गर्दछ । यसै वरिपरिका विशेष–विशेष अंतः श्रावी ग्रन्थीहरुको साथमा सम्बन्ध राख्दछन् । चक्रहरुले यी अन्तश्रावी ग्रन्थीहरुलाई खास–खास रस (हार्मोन) हरुको उत्पादन गर्नका लागि उत्तेजित गर्छन् ।

शरीरमा विभिन्न चक्रहरुको अवस्थानः
१) मूलधार चक्रः ढाडको सबैभन्दा मुनिको हात (स्क्र्याम) भित्र रहेको मेरुदण्ड (स्पाइनल कर्ड) भित्र यसको स्थान छ । शरीरको सबै ठोस पदार्थ वा पृथ्वी तत्वलाई नियन्त्रण गर्छ । वरिपरिका प्रजनन् अंगहरु र मलमूत्र विसर्जन कार्यसित जोडेको हुन्छ ।

२) स्वाधिष्ठान चक्रः मूलधार भन्दा सुक्ष्म रहेको यो चक्र त्यसभन्दा तीन औंला माथि मेरुदण्डमा नै स्थित छ । यसले शरीरको सबै तरल पदार्थ (रगत, लसिका, वीर्य, रज) र जल वा पानी तत्वलाई नियन्त्रण गर्दछ । यो यौनग्रन्थी, अण्डाशय, शुक्राशयको साथमा सम्बन्ध राख्दछ र यौनिक क्रियाकलापहरुको सञ्चालन गर्दछ ।
३) मणिपुर चक्रः मेरुदण्डमा नाभिको भित्रपट्टी रहेको यस चक्रले शक्ति र गर्मी (अग्नि तत्व) लाई नियन्त्रण गर्दछ । यहाँस्थित अग्न्याशय (प्याङ्क्रियाज) एड्रीनल ग्रन्थीहरु र पाचनक्रिया सञ्चालन गर्दछ ।
४) अनाहत चक्रः छातिको बीचमा मेरुदण्ड भित्र रहेर शरीरस्थित वायु तत्वलाई नियन्त्रण गर्दछ । खासक्रिया र रगतसञ्चार प्रणालीसित सम्बन्ध राख्छ ।

५) विशुद्ध चक्रः घाँटीमा स्थित मेरुदण्डभित्र रहेर शरीरको आकाशतत्व (खाली÷निर्वात स्थान) लाई नियन्त्रण गर्दछ । सबै पञ्च महाभूत तत्वहरुमा सुक्ष्मतम् यसले थायरोइड, प्याराथायसिड ग्रन्थी र बोल्ने क्रियासित सम्बन्ध राख्दछ । मुनिका सबै चक्रहरुलाई नियन्त्रणमा राखेर भौतिक जड शरीरको उर्जाको समायोजन गर्छ ।

६) आज्ञाचक्रः मस्तिष्कको बीचमा स्थित पिट्युटरी ग्रन्थीलाई नियन्त्रण गर्दछ । हायपोथेलेमस्लाई प्रभाव पारेर मानसिक क्रियाकलापलाई सञ्चालित गर्दछ । यसैले यसलाई मनको आसन (बैठक) पनि भनिन्छ ।
७) सहश्रार चक्रः मस्तिष्कको सर्वोच्च स्थानमा रहेको पिनियल ग्रन्थीसित सम्बन्धित यो चक्र शुद्ध चेतना वा चितिशक्तिको स्थान हो । व्यक्तिका सम्पूर्ण अस्तित्वलाई नियन्त्रण गर्ने केन्द्र हो ।

८) योग्य योगाभ्यासद्वारा स्वास्थ्य लाभः यी चक्रहरुको बीचमा सटिक उर्जासन्तुलन र अन्तश्रावी ग्रन्थीहरुको रसश्रवणमा व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्य निर्भर गर्दछ । एक वा अनेक चक्रहरुको कमजोरी वा शक्तिप्रवाहमा असन्तुलनले रोग वा अस्वस्थ अवस्था निम्त्याउँछ । योग शिक्षकहरु यस असन्तुलन, कमजोरीको निदान गर्नमा प्रशिक्षित हुन्छन् । यसैकारण रोगी अवस्थामा शक्तिकेन्द्रहरुलाई पुनर्जागृत गर्ने खालका आसन, मुद्रा, प्राणायाम आदिबारे सल्लाह दिनुहुन्छ ।