हेटौंडाः स्थानीय तहबाटै मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्यक्रमअन्तर्गत् मकवानपुरमा पनि ५ वटा स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कार्य सुरु भएको छ । निर्वाचन आयोगले शुक्रबारबाट जिल्लाका मकवानपुरगढी, भीमफेदी, ईन्द्रसरोवर, मनहरी र बकैया गाउँपालिकामा पहिलो चरणको मतदाता नामावली अद्यावधिक गर्ने कार्य सुरु गरेको हो ।
राष्ट्रियसभा निर्वाचन, स्थानीय तह निर्वाचन तथा आम निर्वाचनलाई लक्षित गरी विशेष कार्यक्रमअन्तर्गत् निर्वाचन आयोगले देशव्यापी मतदाता नामावली अद्यावधिक गर्ने क्रममा मकवानपुरका ५ पालिकामा पहिलो चरणको मतदाता नामावली अद्यावधिक गर्ने कार्य सुरु गरेको प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो । मतदाता नामावली अद्यावधिक गर्ने कार्य १५ दिनसम्म हुने उहाँले बताउनुभयो ।
पहिलो चरणको मतदाता नामावली अद्यावधिक गर्ने कार्य मंसिर १७ गतेबाट पुष २ गतेसम्म र दोस्रो चरणको पुस ५ गतेबाट १९ गतेसम्म सञ्चालन हुने पोखरेलले जानकारी दिनुभयो । छुट्न गएका मतदाताहरु बढीभन्दा बढी समेट्न सकियोस् भन्ने उद्देश्यले नामावली अद्यावधिक गर्ने कार्य सुरु भएको उहाँले बताउनुभयो । दूरदराजका सबै मानिसहरुले मतदान गर्ने अधिकारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले नामावली संकलन सुरु भएको पोखरेलले बताउनुभयो । अपाङ्ग, वृद्ववृद्वाहरु र बिरामी भएकाहरु सदरमुकाम आएर मतदाता नामावली अद्यावधिक गराउन नसक्ने उहाँको भनाइ छ ।
स्थानीय तहमै निर्वाचन आयोगका कर्मचारी पुगेर मतदाता नामावली संकलन तथा अद्यावधिक गरिने भएकाले मतदानको अधिकारबाट लाभान्वीत बनाउन सहज हुने प्रदेश निर्वाचन अधिकारी पोखरेलले बताउनुभयो । प्रदेश निर्वाचन कार्यालयको तथ्यांकअनुसार ३ वर्षमा २ लाख ८० हजार १ सय ६१ जनाले मतदाता नामावली दर्ता गराएका छन् । दर्ता भएका मतदातामध्ये १ लाख ३७ हजार ४ सय ७२ जना महिला र १ लाख ४२ हजार ७ सय ३ जना पुरुष रहेका छन् । २०७५ देखि २०७८ साल कार्तिक मसान्तसम्म करिब ३ लाखले मतदाता नामावली दर्ता गराएका हुन् ।
यसैगरी ६ जना तेस्रोलिङ्गी र ३ जना अरु जिल्लाबाट नामावली दर्ता गर्नेहरु रहेको अधिकृत पोखरेलले बताउनुभयो । नागरिकता बनेपछि नामावली दर्ता गर्न पाइने भएपनि १८ वर्षभन्दा माथिकाले मात्र मतदान गर्न पाउने उहाँले बताउनुभयो । निर्वाचन आयोगको अनुगमन हुने गरी सहजरुपमा ५ वटा पालिकामा मतदाता नामावली आद्यावधिक गर्ने कार्य सुरु भएको हो । निर्वाचन आयोगले मंसिर ३ गते दिएको आदेशअनुसार मकवानपुरमा मतदाता नामावली अद्यावधिक गर्ने कार्य सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
जिल्लाका १० पालिकामध्ये बकैया, मकवानपुरगढी, भीमफेदी, ईन्द्रसरोवर र मनहरी गाउँपालिकामा मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगबाट टोली खटिएको छ । मतदाता नामावली अद्यावधिक गर्ने टोलीले पालिकाको केन्द्रमा रहेर मतदाता नामावली अद्यावधिक गर्नेछ । मतदाता नामावली अद्यावधिक गर्न हरेक पालिकामा एकजना दर्तास्थल व्यवस्थापक, एकजना दर्ता कर्मचारी, एकजना सहायक दर्ता कर्मचारी र एकजना कार्यालय सहयोगी गरी ४ जनाको समूह खटिएको पोखरेलले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाको हकमा भने निर्वाचन कार्यालय वा जिल्ला प्रशासन कार्यालयमै पुगेर मतदाता नामावली अद्यावधिक गर्न मिल्नेछ ।
दोस्रो चरणमा बागमती, कैलाश, राक्सिराङ गाउँपालिका र थाहा नगरपालिकामा आगामी पुस ५ गतेबाट मतदाता नामावली अद्यावधिक गर्ने कार्य सुरु हुनेछ । बागमती प्रदेश निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्न तालिमप्राप्त कर्मचारी खटाएको छ । नामावली संकलन गर्ने टोलीलाई ल्यापटप, स्टेशनरी सामग्री, दर्ता फारम र फोेटोे खिच्ने मेशिनसहित पठाइएको छ । मतदाता नामावली अद्यावधिक गर्न नागरिकताको प्रमाणपत्र सक्कल र एकप्रति प्रतिलिपि लिएर जानुपर्नेछ ।