मकवानपुरगढी गाउँपालिकाका शिक्षा शाखा प्रमुख राम घलानसँग समसामयिक शैक्षिक सवालमा समृद्ध समाज दैनिकका लागि डीबी बर्तौलाले गर्नुभएकोे कुराकानी ।
समाजः मकवानपुरगढी गाउँपालिकामा शिक्षाको अवस्था के–कस्तो छ ?
घलानः अरु स्थानीय तहहरुले जस्तै मकवानपुरगढी गाउँपालिकाले पनि शिक्षा क्षेत्रको योजनाहरु तर्जुमा गरेर कार्यक्रम अगाडि बढाएको छ । अरु पालिकाहरुले भन्दा शिक्षाको सवालमा पृथक ढङ्गबाट काम गरौँ भन्ने सोच भएको तर केही व्यवहारिक, प्रशासनिक प्रक्रियाले गर्दा अलिकति हामीले सोचिरहेको जस्तो काम गर्न सकिरहेको अवस्था छैन । अहिले हाम्रो पालिकामा ३९ वटा सामुदायिक विद्यालय र एवटा निजी विद्यालय रहेको छ । जसमध्ये १० वटा माध्यमिक विद्यालय रहेका छन् । पालिकाभित्र २ सय ५२ जना शिक्षक, ६ हजार १ सय २४ विद्यार्थीहरु अध्ययनरत छन् ।
समाजः भरखरै मकवानपुरगढी गाउँपालिकामा स्वेच्छिक अवकाशका लागि स्किमहरु ल्याइएको र त्यहीअनुसार शिक्षकहरुलाई बिदाई गरेको कुरा पनि हामीले सुन्नमा आएको छ । खासमा यो स्वेच्छिक अवकाशमा गाउँपालिकासँगको सहकार्यमा शिक्षा शाखाले कस्तो खालको व्यवस्था गर्दै शिक्षकहरुलाई स्वेच्छिक अवकाशमा प्रेरित गर्नुभयो ?
घलानः शिक्षक अवकाशको विषय शिक्षा क्षेत्रमा लामो समय काम गर्नुभएका गुरुलाई सम्मानजनक रुपमा बिदाइ गर्ने, शिक्षा क्षेत्रमा युवा, प्राविधिक ज्ञान भएका नयाँ पुस्तालाई अवसर दिने उद्देश्यले यो कार्यक्रम तयार पारिएको हो । यो कार्यक्रमबाट दरबन्दी मिलानलाई सहयोग पुग्ने भएको कारणले गर्दा नै हामीले यो कार्यक्रम तय गर्यौं । जम्मा १३ जना शिक्षकले यस कार्यक्रममा भाग लिनुभयो । यो कार्यक्रम रोज्ने सरहरुलाई हामीले २ लाखदेखि ५ लाखसम्मको प्रोत्साहन रकम उपलब्ध गराएका छौं । यसमा उमेर हद हुनुभन्दा अगाडि कति वर्ष बाँकी छ, बाँकी सेवा अवधिको हिसाबमा प्रोत्साहन रकम उपलब्ध गरायौं । सेवा अवधि १ देखि २ वर्ष बाँकीलाई २ लाख, २ देखि ४ वर्ष बाँकीलाई ३ लाख, ५ देखि ७ सम्म बाँकीलाई ४ लाख र ७ वर्ष वा सो भन्दा माथिलाई ५ लाख गरी प्रोत्साहन रकम विभाजन गर्यौं । सोहीअनुसार यो शीर्षकमा हामीले ४६ लाख रुपैयाँ खर्च गरेका छौं ।
समाजः खासमा पालिकाबाट शिक्षक सरुवा गर्ने कुरामा मकवानपुरगढी गाउँपालिकाले कस्तो खाले व्यवस्था गरेको छ छैन ?
घलानः अहिलेसम्ममा विद्यामान कानुनअनुसार शिक्षा विकास समन्वय इकाइले नै अन्तरपालिका सरुवा गर्ने भएकोले हामीले सिफारिसमात्र गर्छौं ।
समाजः पालिकाभित्र रहेर शिक्षक नियुक्तिको कुराहरु गर्नुहुन्छ । त्यसमा दवाबका कुराहरु उत्पन्न हुने स्थिति सिर्जना हुन्छ ?
घलानः यो क्षेत्रमा त्यति दवाब गर्नुपर्ने छ जस्तो लाग्दैन । विभिन्न दवाब मैले झेलेको छु । दवाबहरु स्वभाविकरुपमा आउँछन् । त्यसलाई हामी अहिलेसम्म निष्पक्ष ढङ्गले नै नियुक्ति गरेका छौं । अहिले आफ्नो पावरफुल मान्छे ठाउँमा छ भनेर नपढ्ने स्थिति छ त्यसलाई हामी चिर्दैछौं ।
समाजः मकवानपुरगढी गाउँपालिकाभित्र रहनुभएका इसीडी शिक्षकहरुलाई राज्यले तोकेको तलब त दिइन्छ । त्यो तलबबाहेक अन्य सुविधा गढी गाउँपालिकाबाट केही छ ?
घलानः अहिले राज्यले हामीलाई बजेट भाषणमार्फत् ८ हजार रुपैयाँ मात्र सशर्त आम्दानीको रुपमा उपलब्ध गराएको छ । हामीले अहिले ५ हजार रुपैयाँ थप प्रोत्साहनका लागि उपलब्ध गराएका छौं ।
समाजः पालिका या शिक्षा शाखामा शिक्षकका पेशागत संगठनहरुले दवाब तथा विभिन्न मागहरु लिएर आउने अवस्था छ कि छैन ?
घलानः अहिलेसम्म त्यस्तो केही आएको छैन । मिलेर अगाडि बढिरहेका छौं ।
समाजः शिक्षक संगठन र महासंघसँग यहाँहरुको सहकार्य कस्तो छ ?
घलानः शिक्षासम्बन्धी कार्यक्रम, तालिमहरु सञ्चालन गर्न सहयोग पाइरहेका छौं र सहकार्य गरेर नै अगाडि बढिरहेका छौं ।
समाजः गढी गाउँपालिकाभित्रका शिक्षकहरुले मासिकरुपले तलब पाउने अवस्था सिर्जना भएको छ ?
घलानः पहिलो चौमासिक निकासा नै ढिलो आउने भएकोले दोस्रो त्रैमासिकबाट यसलाई निरन्तरता दि“दै आएका छौँ ।
समाजः मकवानपुरगढीमा शिक्षासम्बन्धी अन्य समस्याहरु के–कस्ता देख्नुभएको छ ?
घलानः विद्यालय पनि भएको, शिक्षक दरबन्दी पनि भएको तर विद्यार्थी संख्या घट्दै गएको पाइन्छ । केही विद्यालयहरुको शैक्षिक गुणस्तर तल रहेको र त्यसलाई सुधार्नुपर्ने छ । बालमैत्री, शिक्षामा प्रविधिमैत्रीका कुराहरु अलि चुनौतीका कुराहरु छ । सबै विद्यालयमा नेटवर्कको व्यवस्था छैन । भौगोलिक विकटताका कारण अनलाईन कक्षा सञ्चालन गर्न नसकिने स्थिति छ । अहिले यस पालिकाका विद्यार्थीहरुको परिवारले प्रायःजसो इट्टाभट्टा कामका लागि पेश्की थाप्ने र हिउँद लागेसँगै घरपरिवार नै काममा जाने र विद्यार्थीहरु परीक्षा दिनमात्र सहभागी हुने प्रवृत्ति रहेको छ । जसले गर्दा पनि विद्यार्थी संख्यामा कमी आएको जस्तो लाग्छ ।
समाजः विद्यार्थीहरुका लागि के–कस्ता कार्यक्रमहरु उपलब्ध गराउनुभएको छ ?
घलानः हामीले विद्यार्थीहरुलाई विभिन्न छात्रवृत्ति वितरण, भर्ना अभियान र स्टेशनरी सामानहरु वितरण गर्ने कार्यक्रमहरु गरेका छौं ।
समाजः पालिकामा शिक्षकहरुको अवस्था, भौगोलिक क्षेत्रका आधारमा शिक्षक÷विद्यार्थी संख्या पर्याप्त छ कि छैन ?
घलानः प्राथमिक तहमा पुग्ने नै दरबन्दी छ । विषयगत हिसाबमा निम्नमाध्यमिक तह र माध्यमिक तहमा दरबन्दी पर्याप्त छैन ।