हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा रहेका बालसुधार गृहहरुमा ५४ जना बालकहरु आश्रित रहेका छन् । विभिन्न कारणबाट सुधारगृहमा आइपुगेका बालबालिका केही वर्ष सुधारगृहमा बस्ने गर्दछन् । अपराधमा संलग्न पाइएका बालबालिकालाई बन्दीगृहमा नराखेर बालसुधार गृहमा राख्ने गरिन्छ ।

बालसुधार गृहमा रहेका बालकबालिकाका लागि अन्तर्राष्ट्रिय बालअधिकार दिवसका अवसरमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयकोे आयोजनामा शनिबार शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरिएको छ । बालबालिकाको आधारभूत आवश्यकता सुनिश्चिताको प्रत्याभूत गर्नु सरकारको दायित्व हो । शिक्षा हासिल गर्न पाउनु बालबालिकाको अधिकार हो । तर कतिपय बालबालिका विभिन्न कारण शिक्षाबाट समेत वञ्चित हुने गरेका छन् ।

सामाजिक विकासमन्त्री कुमारी मोक्तानले समाज परिवर्तनका बाहक बालबालिका सुधारगृहमा रहनु दुःखद् रहेको बताउनुभयो । कतिपय अभिभावक वैदेशिक रोजगारका शिलशिलामा रहँदा बालबालिकाप्रति गैरजिम्मेवार बनेको उहाँले बताउनुभयो । सामाजिक सञ्जालप्रति बालबालिकाको क्रियाशीलता बढेकाले पनि बालबालिका अपराध गर्न पछि नपरेको मन्त्री मोक्तानले बताउनुभयो ।

मन्त्री मोक्तानले सुधारगृहमा रहेर अभिभावकत्व वहन गर्नुभएकाहरुले पनि आफ्नो जिम्मेवारी कति पूरा गरे भन्ने कुरा यकिन गर्नुपर्ने बताउनुभयो । अभिभावकको हिसाबले बालबालिकाको आधारभूत आवश्यकता परिपूर्ति गरिनु सरकारको महत्वपूर्ण जिम्मेवारी रहेको उहाँले बताउनुभयो । सुधारका निम्ति बसेका बालकहरु जति वर्ष बसे पनि उनीहरु फेरि गृहमै फर्किन नदिन सबैको दायित्व रहेको उहाँको भनाइ छ ।

जेजस्ता गल्ती गरेर सुधारका निम्ति सुधारगृहमा रहेका बालबालिकालाई विगतका कुराहरु बिर्सन मन्त्री मोक्तानले आग्रह गर्नुभयो । अपराधमा संलग्न भएका वा आरोपित जे भएपनि सुधारगृहमा आएकाहरुले आफूलाई सुधारका क्रममा छु भन्ने अनुभूति गर्नुपर्ने भन्दै मन्त्री मोक्तानले नाबालक नभएको भए कैदीबन्दीका रुपमा सजाय भोग्नुपर्ने बताउनुभयो । सुधारगृहका बालकहरुलाई मन्त्री मोक्तानले भन्नुभयो— ‘तपाईंहरुका अभिभावक कति चिन्तित हुनुहुन्छ होला । केही सिक्नुपर्ने बेलामा सुधारगृहमा रहनु परे पनि आफ्नो कर्तव्य पूरा गरी परिवार र समाजका लागि असल र जिम्मेवार नागरिक बन्नुपर्छ ।’

अशिक्षा, गरिबी तथा प्रलोभनमा परेर भएपनि विगतमा जस्तो गल्ती गरे पनि भावी दिनमा त्यस्ता कार्य नगर्न मन्त्री मोक्तानले बालकहरुलाई आग्रह गर्नुभयो । अब शैक्षिक विकासमा जोड दिई समाज परिवर्तनका बाहक बन्न बालबालिकालाई उहाँले आग्रह गर्नुभयो । किन र कसरी बालबालिका सुधारगृहमा आइरहेका छन् भन्ने कुरा यकिन गरी सरकारले न्यूनीकरणका निम्ति पहल गर्ने उहाँले बताउनुभयो ।
बालबालिकाको भविष्य निर्माणमा अभिभावक पहिलो भएको मन्त्री मोक्तानले बताउनुभयो ।

अभिभावकसँगै राज्यको पनि उत्तिकै जिम्मेवार हुने हुँदा सकेसम्म सुधारगृहसम्म बालबालिका आइपुग्न नदिन अभिभावक जिम्मेवार बन्नुपर्ने उहाँले बताउनुभयो । प्रदेश सरकारले बालबालिकालाई प्रदान गरेको शैक्षिक तथा खेलकुद सामग्रीको सदुपयोगका साथै शारीरिक र शैक्षिक विकासमा प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

आफूखुसी गरिने बालविवाह बढ्दा कतिपय बालबालिका सुधारगृहमा आउनुपर्ने बाध्यता रहेको मन्त्री मोक्तानले बताउनुभयो । आफ्नै घरआँगनमै रहेका बालबालिका आफूखुसी बालविवाह गर्ने गरेको उहाँले बताउनुभयो । १४ वर्षकै उमेरमा एक बालिकाले विवाह गर्दा अभिभावकलाई थाहा नभएको मन्त्री मोक्तानले बताउनुभयो । बालबालिकाको आवश्यकतालाई सरकारले सहयोग गर्ने प्रतिबद्वता पनि उहाँले व्यक्त गर्नुभयो । सरकारले सबै बालबालिकाको शैक्षिक विकासमा प्राथमिकता दिन नसकेको उहाँले स्वीकार गर्नुभयो । सुधारगृहमा खानेपानी तथा ढलको निर्माण, सीसी क्यामेराको व्यवस्थापन तथा भौतिक संरचना निर्माणमा समेत प्रदेश सरकारले सहयोग गर्ने आश्वासन मन्त्री मोक्तानले दिनुभयो ।

सिविन नेपाल मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले १८ वटा जिल्लामा सिविनद्वारा पुनस्र्थापना केन्द्र तथा आपत्कालीन रहतकोष सञ्चालन गरिरहेको जानकारी दिनुभयो । बालबालिका जेलमा होइन सुधारमा, सुधारमा होइन विद्यालयमा रहनु बालबालिकाको अधिकार भएको उहाँले बताउनुभयो । गल्ती, कमजोरी नभई बालबालिकाको विज्याइँ भनिने उहाँले बताउनुुभयो ।

बालन्याय कार्यविधिअनुसार बालमैत्री वातावरणमा हुर्कन पाउनु बालबालिकाको अधिकार रहेको ज्ञवालीले बताउनुभयो । संघसंस्थाकै कतिपय कमजोरी हुँदा शैक्षिक विकासमा बालबालिकालाई जोड्न कठिन रहेको उहाँले जानकारी दिनुभयो । कुनै पनि बालबालिकाले गल्ती गरेकै भरमा शैक्षिक विकासबाट वञ्चित नगर्न आवश्यक कदम चाल्न स्थानीय, प्रदेश र केन्द्रीय सरकारलाई उहाँले आग्रह गर्नुभयो ।