प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणना भइरहेको छ । मकवानपुरमा पनि राष्ट्रिय जनगणना–२०७८ प्रभावकारी ढंगले अघि बढेको बागमती प्रदेश जनगणना कार्यालयका प्रदेश जनगणना अधिकारी राजेश दासले बताउनुभएको छ । कात्तिक २५ गतेबाट सुरु भएको राष्ट्रिय जनगणनामा मकवानपुरको झण्डै ५० प्रतिशत सकिएको छ । मकवानपुर जिल्लामा ७ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । ५ सय ६८ गणकहरु जनगणनामा खटाइएको छ । प्रदेश जनगणना कार्यालय र स्थानीय जनगणना कार्यालयबाट नियमित अनुगमनसमेत हुँदै आएको छ । जनगणनाकै सन्दर्भमा रहेर समृद्ध समाज राष्ट्रिय दैनिकका सुसन लामिछानेले बागमती प्रदेश जनगणना कार्यालयका प्रदेश जनगणना अधिकारी राजेश दाससँग गर्नुभएको कुराकानीः
समाजः मकवानपुर जिल्लामा अहिलेसम्मको जनगणनाको अवस्था कस्तो छ ?
दासः हामीले गणकहरुलाई जिल्लाको १० वटै स्थानीय तहमा पठाइसकेका छौं । उहाँहरुले आवश्यक सामग्रीहरु स्थानीय जनगणना कार्यालयबाट बुझेर फिल्डमा खटिनुभएको छ । मुख्य प्रश्नावली लिएर गणक घरदैलोमा पुग्दै तथ्यांक संकलन गरिरहेका छन् । कात्तिक २५ गतेबाट सुरु भएको राष्ट्रिय जनगणना आजसम्म आइपुग्दा लगभग ५० प्रतिशतको तथ्यांक संकलन भइसकेको छ ।
समाजः गणकहरु घरदैलोमा पुग्दा के कस्ता समस्याहरु आएको पाउनुभयो ?
दासः अहिलेको अवस्थामा मानिसहरु खेतीपातीमा व्यस्त हुने समय छ । उत्तरदाताहरु सजिलै गणकहरुले भेटिने अवस्था छैन । घरबारीमै पुगेर गणकहरुले तथ्यांक संकलनसमेत गर्दै आउनुभएको छ । कर्मचारीहरुको घरमा जाँदा श्रीमान्श्रीमती जागिरे छन् भने उनीहरु नभेटिने, गणकहरुले समय लिएर पटकपटक धाउनुपर्ने समस्या अहिले देखिएको छ । यसले गर्दा गणकहरु एकै घरमा दुई–तीन पटकसम्म जानुपर्ने अवस्था छ ।
समाजः मकवानपुर जिल्लाको जनगणना सम्पन्न गर्न कति गणकहरु खटिएका छन् त ?
दासः केन्द्रीय तथ्यांक विभागले मकवानपुरमा गणकको दरबन्दी नै तोकेको छ । पहिलेको जनगणनाअनुसार कति गणक आवश्यक पर्ने स्थानीय तहअनुसार नै विभागले गणकको संख्या तोकेको छ । तथ्यांक विभागले जिल्लामा ५ सय ६८ जना गणकको दरबन्दी तोकेको भए पनि हामीले पहिलो चरणमा ५ सय ६० जना परिचालन गर्यौं । मानवसेवा आश्रम, वृद्धाश्रमजस्ता संस्थागत क्षेत्रमा छुट्टै गणकहरुले ट्रिट गर्नुपर्ने भएकोले बाँकी ८ जनालाई त्यता परिचालन गरेका छौं ।
समाजः परिवारको तथ्यांक नभएकाहरुको गणना कसरी हुन्छ ?
दासः केन्द्रीय तथ्यांक विभागको तालिकाअनुसार मंसिरको ९ गते जो जहाँ भेटिन्छ, (जस्तैः जोगी, साधु, घुमन्ते, सडक मानवहरु) उनीहरुको सोही स्थानमा गणकले तथ्यांक संकलन गर्ने व्यवस्था छ ।
समाजः स्थानीय जनगणना कार्यालय किन स्थापना गरियो ?
दासः योचाहिँ मकवानपुरको जनघनत्वअनुसार जिल्लामा ७ वटा स्थानीय जनगणना कार्यालय स्थापना भएको छ । हेटौंडामा धेरै जनसंख्या रहेकाले एउटै जनशक्तिले धेरै मानिसहरुलाई तालिम दिनुपर्ने, सामग्री वितरण गर्नुपर्ने हुँदा समस्या नआउने ढंगले स्थानीय जनगणना कार्यालय खोलिएको हो । स्थानीय तहमा कामकाज गर्न गणकहरुलाई सहज होस्, आ–आफ्नो फलो गर्ने निकायको रुपमा यो कार्यालय खोलिएको छ । हेटौंडामा २ वटा, बकैया र बागमतीलाई मर्ज गरेर बकैयामा एक, मनहरीमा जनसंख्या धेरै र भूगोलको हिसाबले हुने गरी एक, ईन्द्रसरोबर र थाहा नगरलाई मर्ज गरेर थाहामा एक, भीमफेदी र मकवानपुरगढीलाई मर्ज गरेर एक, कैलाश र राक्सिराङलाई मर्ज गरेर एक स्थानीय जनगणना कार्यालय स्थापना गरेका छौं । यो कार्यालयबाटै गणकहरुका लागि आवश्यक तालिम पनि भयो । यही कार्यालयबाटै गणकहरु अहिले फिल्डमा खटिनुभएको छ ।
समाजः गणकहरुले दैनिक संकलन गरेको विवरण कसलाई बुझाउँछन् ?
दासः स्थानीय जनगणना कार्यालयले समन्वयका साथै गणकहरुको अनुगमन गर्दछ । हामीले जनगणनाको पहिलो चरणमा १ सय ४१ सुपरीवेक्षकलाई घरपरिवार सूचीकरण गर्न पठाएका थियौं । सोही सुपरीवेक्षकको मातहतमा ३ देखि ५ गणकहरु छन् । ती गणकहरुले प्रत्येक दिनको विवरण एसएमएसमार्फत् सुपरीवेक्षकलाई पठाउँछन् । केन्द्रीय तथ्यांक विभागले सेन्सस नेपाल भनेर एउटा एप्स निर्माण गरेको छ । सुपरीवेक्षक साथीहरुले सो एप्स आफ्नो मोबाइलमा राख्नुभएको छ । उहाँहरुले प्रत्येक दिन साँझ सबै जोडर सो एप्समा पठाउनुहुन्छ । मकवानपुरमा अहिले जनगणना पेपरबेस चलिरहेको छ ।
समाजः गणकहरुले संकलन गरेको तथ्यांक प्रदेश जनगणना कार्यालयमा कहिले बुझाउँछन् ?
दासः यसमा भन्नुपर्दा उहाँहरुले काम सम्पन्न गरिसकेपछि कार्यसम्पनताको फारम पनि छ । गणक र सुपरीवेक्षक संयुक्तरुपमा बसेर यो भरेर स्थानीय जनगणना कार्यालयमा बुझाउनुहुन्छ । स्थानीय जनगणना अधिकारीहरुले फाइनल विवरण हामीलाई बुझाउनुहुन्छ । कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य गणना अवधि भएकाले मंसिर ९ गतेपछि गणकहरुले स्थानीय जनगणना कार्यालयमा बुझाउने र मंसिर १५ गतेसम्म स्थानीय जनगणना कार्यालयले यस बागमती प्रदेश जनगणना कार्यालयमा सो विवरणका साथै सम्पूर्ण सामग्री चुस्त दुरुस्त पठाउनुपर्नेछ ।
समाजः गणक र सुपरीवेक्षकमा खटिनुभएकाहरुको सुरक्षाको प्रत्याभूति कसरी गरिएको छ ?
दासः एक हिसाबले त्यस्तो दुर्घटना कसैको पनि नहोस् । उनीहरुको बिमा नेपाल सरकारले गरिदिएको छ । बागमती प्रदेशमा प्रमुख सचिवको संयोजकमा समन्वय समिति छ । त्यसमा प्रदेश प्रहरी नायब महानिरीक्षक सदस्य हुनुहुन्छ । यस्तै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति छ । त्यसमा जिल्लाको प्रहरी उपरीक्षक सदस्य छन् । उनीहरुसँग हाम्रो निरन्तर समन्वय भइरहको छ । सुरक्षाको लागि उहाँहरुबाट साथ र सहयोग हामीले पाइरहेका छौं । जनगणनामा गणकका साथै कर्मचारीहरु पनि खटेका छन् । विभागबाट यसको नियमित अनुगमनसमेत हुँदै आएको छ ।
समाजः मकवानपुर जिल्लामा हालसम्म संकलन भएको तथ्यांकअनुरुप कति प्रतिशतसम्म जनगणना भएको देखिन्छ ?
दासः अहिलेसम्मको अनुमानमा करिब ५० प्रतिशत जनगणना सम्पन्न भइसकेको छ । सुरुको फेजमा हामीले नै अनुगमन गर्नुपर्ने हुन्छ, गणकहरुले केही बिगार्छन् कि भनेर । अहिले साथीहरुले पूरा जोशमा काम गर्नुभएको छ । अबका दिनहरुमा उनीहरुले फलो गरेर नभेटेका मानिसहरुको तथ्यांक संकलन गरेर समयमा पठाइदिनुहुनेछ । पहिलो चरणमा मकवानपुरमा १ लाख बढी घरपरिवार सूचीकृत भएको थियो ।
समाजः जनगणनाका लागि आम नागरिकलाई तपाईंको सुझाव के छ ?
दासः अहिले सबैको फोन लगाउँदा जनगणनाको प्रचार आउँछ । कात्तिक २५ देखि मंसिर ९ गतेसम्म घरपरिवारमा गणकहरु आउँदा सहयोग गनुपर्छ भनेर प्रचारप्रसार तिव्र गरेका छौं । गणकहरु तपाईंको घर समुदायमा आउँदा स्पष्ट, सही र सत्य विवरण टिपाएर सहयोग गर्नुहुन सम्पूर्ण जिल्लाबासीमा आग्रह गर्दछु ।