Home अन्तरवार्ता मकवानपुरमा झण्डै ५० प्रतिशत जनगणना सकियो

मकवानपुरमा झण्डै ५० प्रतिशत जनगणना सकियो

बागमती प्रदेश जनगणना कार्यालय हेटौंडाका प्रदेश जनगणना अधिकारी राजेश दास

प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणना भइरहेको छ । मकवानपुरमा पनि राष्ट्रिय जनगणना–२०७८ प्रभावकारी ढंगले अघि बढेको बागमती प्रदेश जनगणना कार्यालयका प्रदेश जनगणना अधिकारी राजेश दासले बताउनुभएको छ । कात्तिक २५ गतेबाट सुरु भएको राष्ट्रिय जनगणनामा मकवानपुरको झण्डै ५० प्रतिशत सकिएको छ । मकवानपुर जिल्लामा ७ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । ५ सय ६८ गणकहरु जनगणनामा खटाइएको छ । प्रदेश जनगणना कार्यालय र स्थानीय जनगणना कार्यालयबाट नियमित अनुगमनसमेत हुँदै आएको छ । जनगणनाकै सन्दर्भमा रहेर समृद्ध समाज राष्ट्रिय दैनिकका सुसन लामिछानेले बागमती प्रदेश जनगणना कार्यालयका प्रदेश जनगणना अधिकारी राजेश दाससँग गर्नुभएको कुराकानीः

समाजः मकवानपुर जिल्लामा अहिलेसम्मको जनगणनाको अवस्था कस्तो छ ?
दासः हामीले गणकहरुलाई जिल्लाको १० वटै स्थानीय तहमा पठाइसकेका छौं । उहाँहरुले आवश्यक सामग्रीहरु स्थानीय जनगणना कार्यालयबाट बुझेर फिल्डमा खटिनुभएको छ । मुख्य प्रश्नावली लिएर गणक घरदैलोमा पुग्दै तथ्यांक संकलन गरिरहेका छन् । कात्तिक २५ गतेबाट सुरु भएको राष्ट्रिय जनगणना आजसम्म आइपुग्दा लगभग ५० प्रतिशतको तथ्यांक संकलन भइसकेको छ ।

समाजः गणकहरु घरदैलोमा पुग्दा के कस्ता समस्याहरु आएको पाउनुभयो ?
दासः अहिलेको अवस्थामा मानिसहरु खेतीपातीमा व्यस्त हुने समय छ । उत्तरदाताहरु सजिलै गणकहरुले भेटिने अवस्था छैन । घरबारीमै पुगेर गणकहरुले तथ्यांक संकलनसमेत गर्दै आउनुभएको छ । कर्मचारीहरुको घरमा जाँदा श्रीमान्श्रीमती जागिरे छन् भने उनीहरु नभेटिने, गणकहरुले समय लिएर पटकपटक धाउनुपर्ने समस्या अहिले देखिएको छ । यसले गर्दा गणकहरु एकै घरमा दुई–तीन पटकसम्म जानुपर्ने अवस्था छ ।

समाजः मकवानपुर जिल्लाको जनगणना सम्पन्न गर्न कति गणकहरु खटिएका छन् त ?
दासः केन्द्रीय तथ्यांक विभागले मकवानपुरमा गणकको दरबन्दी नै तोकेको छ । पहिलेको जनगणनाअनुसार कति गणक आवश्यक पर्ने स्थानीय तहअनुसार नै विभागले गणकको संख्या तोकेको छ । तथ्यांक विभागले जिल्लामा ५ सय ६८ जना गणकको दरबन्दी तोकेको भए पनि हामीले पहिलो चरणमा ५ सय ६० जना परिचालन गर्‍यौं । मानवसेवा आश्रम, वृद्धाश्रमजस्ता संस्थागत क्षेत्रमा छुट्टै गणकहरुले ट्रिट गर्नुपर्ने भएकोले बाँकी ८ जनालाई त्यता परिचालन गरेका छौं ।

समाजः परिवारको तथ्यांक नभएकाहरुको गणना कसरी हुन्छ ?
दासः केन्द्रीय तथ्यांक विभागको तालिकाअनुसार मंसिरको ९ गते जो जहाँ भेटिन्छ, (जस्तैः जोगी, साधु, घुमन्ते, सडक मानवहरु) उनीहरुको सोही स्थानमा गणकले तथ्यांक संकलन गर्ने व्यवस्था छ ।

समाजः स्थानीय जनगणना कार्यालय किन स्थापना गरियो ?
दासः योचाहिँ मकवानपुरको जनघनत्वअनुसार जिल्लामा ७ वटा स्थानीय जनगणना कार्यालय स्थापना भएको छ । हेटौंडामा धेरै जनसंख्या रहेकाले एउटै जनशक्तिले धेरै मानिसहरुलाई तालिम दिनुपर्ने, सामग्री वितरण गर्नुपर्ने हुँदा समस्या नआउने ढंगले स्थानीय जनगणना कार्यालय खोलिएको हो । स्थानीय तहमा कामकाज गर्न गणकहरुलाई सहज होस्, आ–आफ्नो फलो गर्ने निकायको रुपमा यो कार्यालय खोलिएको छ । हेटौंडामा २ वटा, बकैया र बागमतीलाई मर्ज गरेर बकैयामा एक, मनहरीमा जनसंख्या धेरै र भूगोलको हिसाबले हुने गरी एक, ईन्द्रसरोबर र थाहा नगरलाई मर्ज गरेर थाहामा एक, भीमफेदी र मकवानपुरगढीलाई मर्ज गरेर एक, कैलाश र राक्सिराङलाई मर्ज गरेर एक स्थानीय जनगणना कार्यालय स्थापना गरेका छौं । यो कार्यालयबाटै गणकहरुका लागि आवश्यक तालिम पनि भयो । यही कार्यालयबाटै गणकहरु अहिले फिल्डमा खटिनुभएको छ ।

समाजः गणकहरुले दैनिक संकलन गरेको विवरण कसलाई बुझाउँछन् ?
दासः स्थानीय जनगणना कार्यालयले समन्वयका साथै गणकहरुको अनुगमन गर्दछ । हामीले जनगणनाको पहिलो चरणमा १ सय ४१ सुपरीवेक्षकलाई घरपरिवार सूचीकरण गर्न पठाएका थियौं । सोही सुपरीवेक्षकको मातहतमा ३ देखि ५ गणकहरु छन् । ती गणकहरुले प्रत्येक दिनको विवरण एसएमएसमार्फत् सुपरीवेक्षकलाई पठाउँछन् । केन्द्रीय तथ्यांक विभागले सेन्सस नेपाल भनेर एउटा एप्स निर्माण गरेको छ । सुपरीवेक्षक साथीहरुले सो एप्स आफ्नो मोबाइलमा राख्नुभएको छ । उहाँहरुले प्रत्येक दिन साँझ सबै जोडर सो एप्समा पठाउनुहुन्छ । मकवानपुरमा अहिले जनगणना पेपरबेस चलिरहेको छ ।

समाजः गणकहरुले संकलन गरेको तथ्यांक प्रदेश जनगणना कार्यालयमा कहिले बुझाउँछन् ?
दासः यसमा भन्नुपर्दा उहाँहरुले काम सम्पन्न गरिसकेपछि कार्यसम्पनताको फारम पनि छ । गणक र सुपरीवेक्षक संयुक्तरुपमा बसेर यो भरेर स्थानीय जनगणना कार्यालयमा बुझाउनुहुन्छ । स्थानीय जनगणना अधिकारीहरुले फाइनल विवरण हामीलाई बुझाउनुहुन्छ । कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य गणना अवधि भएकाले मंसिर ९ गतेपछि गणकहरुले स्थानीय जनगणना कार्यालयमा बुझाउने र मंसिर १५ गतेसम्म स्थानीय जनगणना कार्यालयले यस बागमती प्रदेश जनगणना कार्यालयमा सो विवरणका साथै सम्पूर्ण सामग्री चुस्त दुरुस्त पठाउनुपर्नेछ ।

समाजः गणक र सुपरीवेक्षकमा खटिनुभएकाहरुको सुरक्षाको प्रत्याभूति कसरी गरिएको छ ?
दासः एक हिसाबले त्यस्तो दुर्घटना कसैको पनि नहोस् । उनीहरुको बिमा नेपाल सरकारले गरिदिएको छ । बागमती प्रदेशमा प्रमुख सचिवको संयोजकमा समन्वय समिति छ । त्यसमा प्रदेश प्रहरी नायब महानिरीक्षक सदस्य हुनुहुन्छ । यस्तै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति छ । त्यसमा जिल्लाको प्रहरी उपरीक्षक सदस्य छन् । उनीहरुसँग हाम्रो निरन्तर समन्वय भइरहको छ । सुरक्षाको लागि उहाँहरुबाट साथ र सहयोग हामीले पाइरहेका छौं । जनगणनामा गणकका साथै कर्मचारीहरु पनि खटेका छन् । विभागबाट यसको नियमित अनुगमनसमेत हुँदै आएको छ ।

समाजः मकवानपुर जिल्लामा हालसम्म संकलन भएको तथ्यांकअनुरुप कति प्रतिशतसम्म जनगणना भएको देखिन्छ ?
दासः अहिलेसम्मको अनुमानमा करिब ५० प्रतिशत जनगणना सम्पन्न भइसकेको छ । सुरुको फेजमा हामीले नै अनुगमन गर्नुपर्ने हुन्छ, गणकहरुले केही बिगार्छन् कि भनेर । अहिले साथीहरुले पूरा जोशमा काम गर्नुभएको छ । अबका दिनहरुमा उनीहरुले फलो गरेर नभेटेका मानिसहरुको तथ्यांक संकलन गरेर समयमा पठाइदिनुहुनेछ । पहिलो चरणमा मकवानपुरमा १ लाख बढी घरपरिवार सूचीकृत भएको थियो ।

समाजः जनगणनाका लागि आम नागरिकलाई तपाईंको सुझाव के छ ?
दासः अहिले सबैको फोन लगाउँदा जनगणनाको प्रचार आउँछ । कात्तिक २५ देखि मंसिर ९ गतेसम्म घरपरिवारमा गणकहरु आउँदा सहयोग गनुपर्छ भनेर प्रचारप्रसार तिव्र गरेका छौं । गणकहरु तपाईंको घर समुदायमा आउँदा स्पष्ट, सही र सत्य विवरण टिपाएर सहयोग गर्नुहुन सम्पूर्ण जिल्लाबासीमा आग्रह गर्दछु ।

Exit mobile version