कोरोना महामारीले लामो समयसम्म बन्द भएका विद्यालयहरुमा पढाइले गति लिन सकेको छैन । कोरोना केही सामान्य हुँदै गर्दा नेपालीका ठूला चाडपर्वले अध्ययनमा क्षति पु¥याएको छ । कोरोनाको क्षतिपूर्तिका लागि विद्यालयहरुले अतिरिक्त कक्षासमेत सञ्चालन गर्ने रचनात्मक अभियान सञ्चालन गरेका छन् । तर बालबालिकामा सिकाइप्रति अझै सक्रियता बढ्न सकेको छैन । सिक्ने र सिकाउने विषय अन्य प्रशासनिक कामजस्तो भोलि गरौंला भन्न मिल्दैन । विद्यार्थीको अध्ययनको मनस्थितिलाई कुनै विषयले अवरोध गरे पुनः शैलीमा ल्याउन समय लाग्दछ । त्यसैले विद्यार्थीको सिकाइलाई सकेसम्म निरन्तरता दिन आवश्यक छ । अध्ययन अध्यापनलाई सकेसम्म नियमित र रुटिनमा हुनुपर्दछ । लामो समयसम्म अवरुद्ध भएको सिकाइ पद्दतिले विद्यार्थीहरुमा पारेको नकारात्मक असरलाई न्यूनीकरण गर्नु आवश्यक छ ।
विद्यालयहरुमा नियमित अध्ययनको अवस्था बनाउने जिम्मेवारी व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी सबैको भूमिका हुन्छ । तर विभिन्न कारणले अवरोध सृजना हुने गर्दछ । त्यसमध्ये कुनै विद्यालयका शिक्षक वा कर्मचारीको निधन भएमा पालिकाभरका विद्यालयमा प्रभाव पर्ने गरेको छ । मानिसको मृत्यु आफैंमा मानवीय समवेदनाको पक्ष हो । यस्तो घटनामा सबै संवेदनशील हुनै पर्दछ । मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेर शोक मनाउन नियमित गतिविधि रोक्ने गरिन्छ । परिवारको सदस्य गुम्दा उसप्रतिको सम्मान र परिवारप्रति सहानुभूति व्यक्त हुनजान्छ । त्यसैले सामान्य कार्यालयदेखि संसदमा समेत शोक व्यक्त गरेपछि नियमित कारवाही त्यस दिनका लागि बन्द गर्ने गरिन्छ । श्रद्धाञ्जलीपछि कति क्षेत्रलाई बन्द गर्ने भन्ने विषयमा बहस हुन थालेको छ ।
विद्यालयको शिक्षक÷कर्मचारीको निधनमा शोक मनाउन विद्यालयहरुमा विदा दिने परम्परा नै बन्दै आएको छ । मानवीय दृष्टिकोणबाट स्वभाविक भए पनि वैज्ञानिक र तर्कसंगत बनाउनु पर्दछ भन्ने पक्षबाट कुरा उठ्न थालेको छ । हेटौंडा उपमहानगरपालिका–४, कर्राको श्रमिक माविका कर्मचारीको निधनमा एक दिन नगर क्षेत्रका विद्यालयमा दिएको विदाप्रति आलोचना भएको छ । नेपाल शिक्षक महासंघको आह्वानमा विद्यालय कर्मचारीको निधनमा शोक मनाउँदै हेटौंडाका सामुदायिक तथा केही संस्थागत विद्यालयहरु बन्द भएका थिए । एउटा विद्यालयका शिक्षकको निधनमा अन्य विद्यालयसमेत बन्द गराउने परम्परा अब अन्त्य हुनुपर्ने आवाज केही पहिलादेखि नै उठ्दै आएको थियो । तर व्यवहारमा लागू हुन सकेको छैन । जुन विद्यालयमा घटना भएको हो, सोही विद्यालयमात्र विदा दिनु उपयुक्त हो ।
नगरभरका विद्यालय वन्द गराएको विषयमा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले विद्यालयहरुसँग जवाफ माग गरेपछि विवादजस्तो देखिएको छ । तर विवाद गर्नुभन्दा आजसम्म जे भए पनि अबदेखि परम्परामा सुधार गर्नु आवश्यक छ । जुन विद्यालयका शिक्षक वा कर्मचारीको निधन हुन्छ, त्यही विद्यालयमा मात्र श्रद्धाञ्जलीपछि विदा दिनु उपयुक्त हो । केही वर्ष पहिलासम्म जिल्लाभरका विद्यालय बन्द गर्ने गरिएको भए पनि छलफलबाट पालिकाभित्र मात्र विदा दिन थालिएको छ । अब सम्बन्धित विद्यालयमा मात्र शोक मनाउने र विद्यालय बन्द गराउने बारेमा छलफलबाट निर्णय हुनु आवश्यक छ । चिन्दै नचिनेको वा आफूलाई नपढाएको शिक्षकका नाममा पढाई नै बन्द गर्नु अरु विद्यार्थीका लागि न्यायोचित हुँदैन कि ?