संघीय राजधानीसमेत रहेको बागमती प्रदेशलाई साक्षर घोषणा गरिएको छ । राणा शासनको अन्त्य हुँदा नेपालमा २ प्रतिशत साक्षर जनसंख्या थियो । त्यसयता बनेका सरकारहरुले साक्षरतालाई प्राथमिकतामा राख्दै आएका छन् । आजको वैज्ञानिक चमत्कारको युगमा आइपुग्दा समेत नेपालको मुख्य क्षेत्रमै साक्षरता घोषणा गर्नुपर्ने अवस्थाले शिक्षाको अवस्था प्रष्ट्याएको छ । पहिलो पञ्चवर्षीय योजना २०१३ देखि नै प्रौढ साक्षरतालाई अभियानका रुपमा सुरु गरेको देखिन्छ । तर आज पनि कतिपय प्रौढहरु निरक्षर नै छन् । साक्षरता भनेको अति सामान्य शिक्षा हो । दिनानुदिनको व्यवहारमा पनि यो शिक्षा खाँचो पर्दछ । तर अझै बागमती प्रदेशमा ३ प्रतिशत नागरिक साक्षर हुन बाँकी देखिएका छन् ।
सरकारले विभिन्न चरणमा साक्षरता कार्यक्रमलाई फरक ढंगबाट अघि बढाएको देखिन्छ । तर योजनाहरु प्रभावकारी हुन नसक्दा लामो समयसम्म निरक्षरता बाँकी नै छ । पहिलो पुस्ताको अन्त्य भई आएको नयाँ पुस्ता साक्षर भइसक्नु पर्ने हो । तर शहरबजारको वातावरणलाई मूल्यांकन गरेर नेपालीको साक्षरता आँकलन गर्न सकिँदैन । विश्व शिक्षा मञ्चमा सबैका लागि शिक्षा अभियानमा हस्ताक्षर गरेपछि सन् २००० मा विद्यालयबाहिर रहेका बालबालिकाहरुलाई वैकल्पिक शिक्षा र १५ वर्षमाथिका निरक्षर प्रौढहरुका लागि साक्षरता शिक्षा अभियान सञ्चालन भएको थियो । अभियानले छात्राहरुलाई विद्यालय शिक्षामा प्रेरित गर्ने र प्रौढहरुका लागि घरदैलो अभियान सञ्चालन भएको देखिन्छ ।
बागमती प्रदेशलाई देशकै पहिलो साक्षर प्रदेशको रुपमा घोषणा गरिएको छ । साक्षरता घोषणा अत्यन्त महत्वपूर्ण सामाजिक अभियान हो । तर बिनातयारी नै घोषणा गरिएको जस्तो देखिन्छ । प्रदेशका सबै जिल्लाहरु नै साक्षर भइसकेको सुनिश्चित हुन बाँकी छ । तर प्रदेशलाई पूर्ण साक्षर बनाइएको छ । घोषणा गर्दै गर्दा लक्ष्य र उपलब्धीको मूल्यांकन हुन आवश्यक हुन्छ । प्रदेशभत्रका सबै जिल्लाहरुमा ९५ प्रतिशतभन्दा बढीमा साक्षरता देखाइएको छ । तर यसको अध्ययन विधि के हो र कहिलेदेखि अध्ययन गरिएको भन्ने कुरा पनि साथै आउन आवश्यक छ । कार्यक्रममा मुख्यमन्त्रीले समेत लक्ष्यमात्र प्राप्त गरेको तर पूर्ण साक्षरता बनाउनुपर्ने आवश्यकता औंल्याएकी छन् ।
धेरै कार्यक्रमहरु पूर्ण नभई घोषणाका लागि हतार गर्ने नेतृत्वको बानीले अभियानहरु अपूरै रहँदै आएका छन् । अब कोही पनि नागरिकले निरक्षर बन्नुपर्ने अवस्था हुनेछैन भन्ने सुनिश्चित गर्न सक्नुपर्दछ । यस्तै बाँकी रहेको प्रतिशतलाई अन्त्य गर्दै शतप्रतिशत पुर्याउन के कार्यक्रम छन् र कहिलेसम्म पूर्ण साक्षर हुने भन्ने प्रश्नको जवाफ पनि घोषणामै आएको भए अझै राम्रो हुनेथियो । जे भए पनि संघीय राजधानीसमेत रहेको प्रदेश देशमै पहिलो बनेको छ । आधुनिक युगमा पनि किन मानिसहरु साक्षर हुन सकेका छैनन् ? राज्य, समाज र व्यक्ति वा परिवार कसको भूमिका के हुनुपर्दछ भन्ने कुराको अध्ययन र विश्लेषण गरिनुपर्दछ । साक्षरता घोषणासँगै निरक्षरताको अन्त्य भएको छ । अब साक्षरताको ज्योतिबाट समाज रुपान्तरणमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।