हेटौंडाः हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा प्याराफिट निर्माणको काम पुनः सुचारु भएको छ । पिप्ले युवा क्लबद्वारा निर्माण भइरहेको मिनी रंगशालाको लागि चालु आर्थिक वर्षमा हेटौंडा उपमहानगरपालिकाबाट विनियोजित ७५ लाख रुपैयाँ बजेटका लागि सम्झौता भएसँगै रंगशालाको दोस्रो चरणको काम सुरु भएको हो ।
गत आर्थिक वर्षमा प्राप्त बजेट तथा स्थानीयस्तरबाट संकलित सहयोगबाट प्याराफिट निर्माणको पहिलो चरणको काम भएपश्चात् काम केही समयलाई रोकिएको थियो । चालु आर्थिक वर्षमा पुनः हेटौंडा उपमहानगरपालिकाले बजेट प्रदान गर्ने भएपछि काम अगाडि बढ्ने निश्चित भएको थियो ।
पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले हेटौंडा उपमहानगरपालिकासँग बजेट सम्झौता भएपछि दोस्रो चरणको काम सुरु गरिएको जानकारी दिनुभयो । प्याराफिटको जग हाल्ने तथा बेसमेन्टसम्मको पिल्लर उठाउने काम पहिलो चरणमा नै भइसकेकाले दोस्रो चरणमा थप पिल्लर उठाउने तथा ३ हजार ५ सय देखि ४ हजार जनासम्म बस्न सकिने प्याराफिट निर्माण गरिने पनि उहाँले बताउनुभयो । यद्यपि योजनाअनुसार प्याराफिटभन्दा माथि जस्ता लगाउनका लागि भने यो बजेट अपुग हुने देखिएको उहाँले जानकारी दिनुभयो ।
आगामी फागुन महिनामा आयोजना हुने मकवानपुर गोल्डकपलाई लक्षित गरी प्याराफिट निर्माणलाई तिब्रता दिइने उहाँको भनाई छ । यसपटक मकवानपुरका दर्शकले सिमेन्टकै प्याराफिटमा बसेर गोल्डकप हेर्न पाउने अध्यक्ष घिमिरेले बताउनुभयो । उहाँका अनुसार प्याराफिटको दोस्रो चरणको निर्माण कार्य पुस मसान्तसम्म सकिनेछ ।
यसका साथै रंगशालामा जिम हाउस, कार्यालय भवन, ड्रेसिङ रुम, बाथरुम तथा शौचालय पनि यसै बजेटबाट निर्माण हुने उहाँले जानकारी दिनुभएको छ । रंगशालामा दोस्रो चरणको काम सुरु भएसँगै स्थानीय दाताहरुबाट समेत सहयोग प्राप्त हुन थालेको छ । मंगलबार स्थानीय एबी प्रधानले रंगशाला निर्माणका लागि १० हजार ५ सय ५५ रुपैयाँ तथा दुर्गाबहादुर विष्टले १० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुुभएको छ ।
यस्तै, क्याम्पा रंगशाला निर्माणकै लागि चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषद्मार्फत् प्रदान गर्नेगरी ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेट कार्यान्वयनका लागि समेत तयारी भइरहेको अध्यक्ष घिमिरेले जानकारी दिनुभएको छ । सम्झौतापछि उक्त बजेटले प्याराफिट निर्माणमा थप सघाउ पुग्ने उहाँको भनाई छ ।