हेटौंडाः हेटौंडा अस्पतालमा २७ जना मृगौलाका बिरामीहरुले डायलासिस उपचार सेवा लिइरहेका छन् । उनीहरुले अस्पतालमा निःशुल्क डायलासिस सेवा लिइरहेको हेटौंडा अस्पतालले जनाएको छ ।
बिहान–बेलुका २ सिफ्टमा बिरामीहरुले उपचार सेवा लिइरहेका छन् । अस्पतालमा ८ वटा डायलासिस मेशिन सञ्चालनमा रहेको छ । बिहान ६ बजेदेखि १२ बजेसम्म पहिलो सिफ्ट र १२ बजेदेखि बेलुका ५ बजेसम्म दोस्रो सिफ्टमा ४ जना स्वास्थ्यकर्मीले उपचार सेवा दिइरहेको हेटौंडा अस्पतालका डायलासिस इन्चार्ज शिक्षा कार्कीले जानकारी दिनुभयो ।
अस्पतालमा सेवा लिन आउने बिरामीलाई निःशुल्क डायलासिस सेवा दिइँदै आएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रामचन्द्र सापकोटाले बताउनुभयो । आकस्मिक सेवा लिनुपर्ने, अस्पतालको सेडुलमा नपरेको तथा कागजपत्र नभएकाहरुलाई तुरुन्त गर्नुपर्ने अवस्थामा २ हजार ५ सय रुपैयाँ शुल्क लिएर सेवा दिइएको उहाँले जानकारी दिनुभयो ।
मकवानपुरगढी गाउँपालिका बाँसपानीका रामशरण थापाले असारदेखि नै हेटौंडा अस्पतालमा डायलासिस सेवा लिँदै आउनुभएको बताउनुभयो । थापाले त्यसअघि भरतपुरको सीएमसीमा प्रत्येक पटक ४ हजार रुपैयाँ तथा हेटौंडाकै चुरेहिल अस्पतालमा सुरुमा ४ हजार र त्यसपछि ३ हजार रुपैयाँ तिरेर हप्ताको २ पटक डायलासिस गराउँदै आउनुभएको थियो । हेटौंडा अस्पतालमा निःशुल्क डायलासिस सेवा दिने जानकारी पाएपछि हेटौंडा अस्पतालबाट निःशुल्क डायलासिस सेवा लिइरहेको थापाले बताउनुभयो । पहिला पैसा तिरेर डाइलासिस सेवा लिँदा आर्थिक अवस्था कमजोर भएकै कारण सेवा लिन समस्या पर्ने गरेको थियो । अहिले हेटौंडा अस्पतालमा निःशुल्क सेवा लिन पाउँदा खुशी लागेको थापाले बताउनुभयो । अहिले घरबाट आउने र जाने गाडी भाडामात्र तिर्नुपर्दा पनि उपचारमा धेरै सहजता भएको उहाँको भनाई छ ।
हेटौंडा–१२ का नवराज थापा पनि यसअघि सीएमसी र त्यसपछि चुरेहिल अस्पतालमा ४ हजार र ३ हजारका दरले डायलासिस सेवा लिँदै आउनुभएको थियो । विगत ४–५ वर्षदेखि डायलासिस गराउँदै आउनुभएको र उपचारमा धेरै पैसा खर्च भएको उहाँले बताउनुभयो । हेटौंडा अस्पतालमा निःशुल्क डायलाइसिस सेवा पाउने भएपछि सेवा लिँदै आएको उहाँको भनाई छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ शक्तिखोला निवासी ४९ वर्षीय बद्रीमाया स्याङ्तान पनि हेटौंडा अस्पतालबाट निःशुल्क डायलासिस सेवा लिन पाउँदा खुशी देखिन्छन् । यसअघि किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ललितपुरमा एक पटक डायलासिस गरेको ३ हजार ५ सय तिरेर उपचार सेवा लिनुभएका बद्रीमायाले हाल हेटौंडा अस्पतालमा निःशुल्क सेवा लिइरहनुभएको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाबाट मुक्त भएको उहाँले बताउनुभयो । यसअघि निरन्तर हप्तामा एक दुईपटक डायलासिस गराउन खर्चले धान्न गाह्रो भएको स्याङ्तान सुनाउनुहुन्छ ।