हेटौंडाः मकवानपुरमा कोरोना संक्रमण दर कम हुँदै गर्दा खेलकुदका कार्यक्रमहरु पनि सुचारु हुन थालेका छन् । नेपालीहरुको महान चाड विजया दशमी (दशैं) नजिकिँदै गर्दा टोलस्तरमा हुने खेलकुदले दशैंलाई अझै रोमाञ्चक बनाउने गरेको छ ।
पछिल्ला वर्षहरुमा मकवानपुर जिल्लाका हरेकजसो वडामा दशैंको अवसर पारेर टोलस्तरीय फुटबल प्रतियोगिताहरु आयोजना गर्ने चलन नै चलेको छ । यस्तै यस वर्ष पनि हेटौंडा उपमहानगरपालिकाको ९ नम्बर वडामा पनि टोलस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । तर यसपटक हेटौंडा–९ मा एक हप्ताकै अन्तरालमा दुईवटा फुटबल प्रतियोगिता आयोजना हुने भएको हो ।
हेडौंडा–९ नम्बर वडा कार्यालयको आर्थिक सहयोग, वडा खेलकुद विकास समितिको संयोजन तथा टोल विकास संस्था वडा समन्वय समितिको समन्वयमा मकवानपुर बेरोजगार युवा संगठनले असोज १५ गतेबाट टोलस्तरीय ७ ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । संगठनले प्रतियोगिताको चौथो संस्करण आयोजना गर्ने संगठनका अध्यक्ष सुरेश मिजारले जानकारी दिनुभयो । यसअघिका संस्करणमा हेटौंडा–९ का सबै टोलविकास संस्थाका फुटबल टिमहरुले सहभागिता जनाउँदै आइरहेका छन् ।
यस्तै, हेटौंडा–९ मै रहेको स्वतन्त्र युवा समूहले पनि यसपटक वडामा टोलस्तरीय फुटबल प्रतियोगिता गर्ने जानकारी दिएको छ । असोज २१ गतेबाट सुरु हुनेगरी टोलस्तरीय ८ ए साइड तेस्रो फुटबल प्रतियोगिता आयोजना गर्ने समूहका संयोजक हेलिस मोक्तानले जानकारी दिनुभयो । यसअघि वडाभित्रको क्लबस्तरमा प्रतियोगिता गर्दै आएकोमा यसपटक टोलस्तरीय प्रतियोगिता आयोजना गरिएको संयोजक मोक्तानको भनाई छ । दुबै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।
वडामा दुई वटा फुटबलका प्रतियोगिता एकैपटक आयोजना हुने विषयमा जानकारी नभएको वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले बताउनुभएको छ । दुबैतिरबाट प्रतियोगिता आयोजना गर्ने प्रस्ताव आएको भएपनि यसअघि टोलस्तरीय फुटबल प्रतियोगिता मकवानपुर बेरोजगार युवा संगठनले नै आयोजना गर्दै आइरहेको कारण वडा खेलकुद विकास समितिलाई कुन प्रतियोगितालाई बजेट प्रदान गर्ने भन्ने विषयमा छनोट गर्ने जिम्मेवारी दिइएको उहाँले जानकारी दिनुभयो ।
प्रतियोगिता वडा खेलकुद समितिले नै आयोजना गर्ने भएकाले मकवानपुर बेरोजगार युवा संगठन सहयोगी संस्थाको रुपमा रहने तथा उक्त प्रतियोगिताको जिम्मेवारी वडा कार्यालयको रहने र त्यही प्रतियोगिता वडाको तर्फबाट आधिकारिक रहने उहाँको भनाई छ । तर पनि स्वतन्त्र युवा समूहले प्रतियोगिता आयोजना गर्न कसैले पनि नरोक्ने वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।