नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाको साधारणसभाको उद्घाटन गरिँदै ।

हेटौंडाः हेटौंडा–२ स्थित नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाको २१ औं बार्षिक साधारणसभा सोमबारबाट सुरु भएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण सेयर सदस्यहरुको उपस्थिति, प्रतिवेदनको अध्ययन र सुझाव संकलन गर्ने गरी असोज १० गतेसम्म साधारणसभा जारी रहने बताइएको छ ।

सहकारीका अध्यक्ष मिठाराम दाहालको अध्यक्षता तथा बागमती प्रदेश सरकारको सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको हो । सीमित सहभागितामा भएको उद्घाटन कार्यक्रममा सहकारीका सल्लाहकार एवम् जिल्ला सहकारी संघ मकवानपुरका पूर्वअध्यक्ष बद्रिप्रसाद लम्सालको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाले सहकारीले उद्यम र कृषिको क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव दिनुभएको छ । सहकारीमा पुँजीको विकास उल्लेख्य मात्रामा भइरहेको जानकारी गराउनुहुँदै देवकोटाले बागमती प्रदेशमा १० अर्ब भन्दा बढी कारोबार गर्ने सहकारी ५ वटा, ५ अर्ब भन्दा बढी कारोबार गर्ने सहकारी ५० वटा र एक अर्ब भन्दा बढी कारोबार गर्ने सहकारी दुईसय भन्दा बढी रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरका पूर्वअध्यक्ष बद्रिप्रसाद लम्सालले साधारणसभामा सेयर सदस्यलाई सहकारीको अवस्थाका बारेमा वास्तविक जानकारी गराएर आवश्यक सल्लाह, सुझाव लिई उपयुक्त योजना बनाउन सुझाव दिनुभयो । कार्यक्रममा सहकारीका अध्यक्ष मिठाराम दाहालले असोज १० गते साधारणसभा समापनको अवसरमा विभिन्न विषयमा सम्मानको कार्यक्रम समेत राखिने जानकारी दिनुभयो । सहकारीमा तरलता बढेर लगानी योग्य रकम पर्याप्त रहेको सहकारीका उपाध्यक्ष एकालाल श्रेष्ठले बताउनुभयो ।

दुई हजार पाँच सय २१ जना सेयर सदस्य रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थामा सेयर पुँजी दुई करोड ६५ लाख रुपैयाँ रहेको छ । सहकारीले २७ करोड ७३ लाख रुपैयाँ बचत संकलन गर्दा २३ करोड ४० लाख रुपैयाँ ऋण प्रवाह गरेको सहकारीका व्यवस्थापक बद्रि भण्डारीले जानकारी दिनुभयो ।