वंशगोपाल मावि हेटौंडाका प्रधानाध्यापक (प्रअ) रमेशप्रसाद लामिछाने ।

१. चन्द्र शमशेरले नेपालको पहिलो कलेज त्रिचन्द्र कलेजको उद्घाटन गर्दा आज आफ्नो खुट्टामा आफैं बञ्चरो प्रहार गरिरहेको छु भने रे । नेपालका वर्तमान शासकहरुमा कतै सोहि प्रवृत्तिको भूतले डेरा जमाएको त छैन भन्ने आशंका गरिएको छ । हाल बजार खुल्ला छ । यातायात सुचारु छन् । सरकारी गैरसरकारी कार्यालयहरु खुलेकै छन् । मालपोत कार्यालयमा भिड घटेको छैन । राजस्व कार्यालयमा लाईन घटेको छैन । सभा सम्मेलन चलेकै छन् । भेला वैठक जारी छन् । जुलुश र्याली भएकै छन् । पार्टी प्रवेशका समारोह भएकै छन् । विवाह, पुजा, लगायतका धार्मिक कार्यक्रमहरु भई नै रहेका छन् । विश्वविद्यालयका परीक्षा रोकिएनन् । प्राविधिक शिक्षाका परीक्षा पनि चलेकै छन् । लोक सेवा आयोगका परीक्षा भई नै रहेका छन् । उल्लेखित स्थानहरुमा कोरोना स्वयम डराएर प्रवेश गर्न नसक्ने तर कक्षा १२ को परीक्षामा कोरोनाले विद्यार्थी सखाप पार्ने देखियो । कक्षा १० को जाँच एकाध महिना पर्खिएर लिने धैर्यता गरिएन । कसैले अडान लिएर कक्षा १० र १२ को जाँच लिन्छ कि भन्ने त्रास ब्यापक भएकै हो । तै भएन, ती सबै ढुक्क भए । स्कूल कलेज खुल्ला र सिक्ने सिकाउने काम होला भन्ने अर्को तनाव ब्याप्त छ । कुनै पनि कारण देखाएर यो शैक्षिक सत्र कोल्याप्स गर्ने खेल त भैरहेको छैन भन्ने आशंका उठ्न थालिसकेको छ ।

२. कोरोना भाईरसको विश्वब्यापि प्रकोपको शिकारबाट नेपाल अछुतो रहेन । पहिलो लहरमा करिब तिन हजार नेपालीको ज्यान कोरोना भाईरसकै कारणले गएकै हो । २०७८ वैशाखबाट शुरु भएको कोरोनाको दोश्रो भेरियण्टले मात्र हाल सम्म करिब छ हजार भन्दा बढि नागरिकको जीवन निलिसकेको छ । यो सन्दर्भमा, कुनै पनि नराम्रो घटना र समाचार सुन्न देख्न नपरोस भन्ने हामी सबैको चाहना र अपेक्षा हो । दुर्घटना नहुञ्जेल यी सबै कुरा सामान्य हुन् । परीक्षाकै कारणले कतै कसैको जीवन कोभिडले लियो भने त्यो घटना असामान्य बन्न सक्छ । संगै स्कूल कलेज खुल्ला भएको कारणबाट मात्र यो संक्रमण भयो भन्ने आधार वर्तमानमा साबित गर्न पनि कठिन छ । किनकि अन्यत्रको खुल्लापन पनि संगै जोडिन सक्छ । शिक्षण संस्थाहरु र सो एरियामा त थप निगरानी अनि सक्दो स्वास्थ्य सावधानी अपनाईएको भनिएको छ । तै पनि छ महिना ढिलो गरेर संचालन गरिएको परीक्षा गर्नु अघि परिक्षार्थीलाई खोप दिएर मात्र जाँचमा राखौं भन्ने आवाज कतै कसैले नउठाउनुलाई रहस्य र आश्चर्य नै भन्नै पर्दछ । सरकारले यो विषयको उच्चारण गर्न चाहेन । दलका नेतृत्वले त चुनावको बेला भए पो सम्झनु । सरकोरवाला मन्त्रालय बुझपचाउनमै ब्यस्त देखियो । विद्यार्थीका संगठनहरु मातृ नेतृत्वको निर्देशन कुरेर बस्दैमा बेला बितेको पत्तै पाएनन् । स्वयं परिक्षार्थीहरु खोपको माग भन्दा पनि जाँचको लागि ज्यादा आतुर रहेको प्रमाणित भयो । शुरुमा नै विद्यार्थीले खोपको माग उठाएको भए आज छ महिनाको अवधि खेरजाने थिऐन । सर्वत्र आवाज उठेपश्चात सरकारले विद्यार्थीलाई खोप दिएर परीक्षामा राख्ने सूचना प्रकाशित गरेको छ । यो तहका अधिकांश विद्यार्थीको उमेर १८ पुगिसकेको छ । यो महामारीको बिचमा कोभिडको भयपुर्ण त्रास र आतङ्कबाट ग्रसित मानसिक अवस्थाको पनि विश्लेषण गर्न जरुरी छ । जसरी पनि जाँच चैं सकिहाल्ने औपचारिकताको सन्देश सकारात्मक बन्नै सक्दैन । शिक्षण संस्थाहरु खोलेर भौतिक उपस्थितिका कक्षाहरुले विद्यार्थीको मनोबल उच्च बनाएर परीक्षा मात्र हैन, सबै शैक्षणिक क्रियाकलाप सुचारु गर्न सकिन्छ ।

३. प्रसंग विद्यार्थीको स्कूल कलेजका जाँचको मात्र हैन, परीक्षा संग लोक सेवा आयोग तथा अन्य सो प्रकृतिका रोजगार संग जोडिएका आयोगका परीक्षाहरुको पनि यसै अन्तर्गत जोड्न सकिन्छ । ती आयोग तथा सम्वन्धित परीक्षार्थीहरुले कोरोना भाईरस विरुद्धको खोपलाई पहिलो शर्तको रुपमा लिनै पथ्र्यो तर त्यो कतैबाट पनि प्रसंग नै उठेको पाईएन । यसको सार भनेको परीक्षा नलिने भन्ने कदापि होईन । परीक्षा लिने नै हो, मात्र जोड दिने र गर्नैपर्ने भनेको परीक्षा अघि खोप अनिवार्य दिनुपर्यो भन्ने हो । स्वास्थ्य विज्ञहरुको भनाईमा खोप अनिवार्य छ । खोपले ज्यानै जाने अवस्थालाई रोक्न सक्छ । जीवन बचाउनमा खोपको भूमिका महत्वपूर्ण रहन्छ नैे । खोप लिएपछि कोरोना भाईरसको आक्रमण नहुने भन्ने होईन । तर भाइरसको प्रभावलाई कमजोर बनाउने काम खोपले गर्छ । सिकिस्त बनाउने, ज्यानै जाने जस्ता गम्भिर अवस्थाहरुबाट जोगिन र जोगाउन खोप जरुरी छ भन्ने भनाई पनि विज्ञहरुकै हो । ससाना वालवालिकाको लागि खोप नै नबनेको समयमा यो अवस्था झनै पेचिलो बनेको छ । उनीहरुका लागि अरु मुलुकका अभ्यास पनि हामीले अनुशरण गर्नुपर्ने हुन सक्छ । सम्पर्क बाहिर रहेका विद्यार्थीको खोजी अर्को विषय बनेको छ । यो महामारीमा हाम्रो सामु सतहमा दुई विकल्प देखिन्छ । पहिलो भनेको उमेर पुगेका विद्यार्थीलाई खोपको अनिवार्य ब्यवस्था नै हो । खोप दिएर थप स्वास्थ्य सावधानी अपनाएर भौतिक रुपमै पालो सिस्टममा शिक्षणसंस्थाको संचालन गर्नु नै हो ।

४. शिक्षण संस्थाहरुमा भौतिक उपस्थितिमा गरिने शिक्षण सिकाई क्रियाकलाप अहिले चर्चाको विषय बनेको छ । कोरोनाको संक्रमण नभएका वा न्यून भएका स्थानहरुमा बन्द किन गर्ने भन्ने विषय उठिरहेकै छ । भौतिक उपस्थिति बाहेकका अन्य सबै विधिहरु औपचारिकतामा सिमित र नाममात्र भएको तथ्यमा बिमति रहेन । एकाध संस्थाको सफल अभ्यास बाहिर आएपनि ८० प्रतिशत भन्दा बढि विद्यार्थीहरु हाल पिडामा रहेको समाचार बाहिर आएकै छ । स्वास्थ्य सावधानी अपनाएर सम्पर्क कक्षाहरु पालो सिस्टम गर्नेहरु पनि छन् । टिभि तथा रेडियोका कक्षाहरु महत्वपूर्ण भएर पनि विद्यार्थीहरु बिच आकर्षणको लहर आउन सकेन । कारणहरु पहिल्याउने काम भैरहेको हुन सक्छ । निजि स्कूल कलेजका विद्यार्थी घटे भन्ने समाचार पनि बाहिर आएको छ । दुईलाख विद्यार्थी हराए भन्ने समाचारमा कति सत्यता हो, त्यो भोलिका दिनमा साबित होला । विद्यार्थी निजिका मात्र हैन, सरकारी स्कूल कलेजका पनि धेरै हराएका छन् । विद्यार्थी ड्रप आउट दर अधिक बढेकै छ । यो दर खासगरी आधारभूत तहका साना वालवालिकाको हकमा अत्यधिक पाईएको छ ।

५. देशको कूल जनसंख्याको एक तिहाई जनसंख्याका विद्यार्थीहरुको सम्वन्धमा सरकार गम्भिर नदेखिनु दुर्भाग्य मात्र नभै राष्ट्रिय लज्जाको विषय भन्नै पर्दछ । पहिलो त जिवनै हो । विद्यार्थी नै नभए कस्ले पढ्ने , कस्लाई पढाउने ? कोरोना समाप्त पछि उद्योग ब्यवसाय आदिले बिस्तारै क्षतिको कभर गर्दै जान्छन् तर ब्यक्तिको जिवन फर्केर आउँदैन । शिक्षाको क्षति पनि सहजै पूरा हुने संकेत छैन । छ महिने कोर्स डेढ वर्षे बनेको छ । एक वर्षे कोर्स दुई वर्षे भएको छ । वर्ष बितेको छ । अझ हासिल गर्नै पर्ने सिकाई उपलब्धि त धेरै टाढा छ । यस अवस्थामा शैक्षिक सत्र नै धरापमा छ । सरकारले हरतरहले गत शैक्षिक सत्र पूराको औपचारिकता देखायो । तर परम्परागत परीक्षाहरु भएनन् । विद्यार्थीको सहि मूल्याङ्कन हुन पाएन । चौध महिनाको शैक्षिक सत्र भन्दा पनि पढाई गर्न सकिएन । चालु सत्र त दश महिने भनिएको छ । हाल शैक्षिक सत्र नै शंकाको घेरामा देखिन्छ । सरकार, जिम्मेवार निकायहरु, तिनै तहका स्थानिय तथा प्रदेश र संघिय सरकारले यत्तिबेला गम्भिर बन्नै पर्दछ । संकट घटेको हैन । ढुक्क हुने अवस्था छैन । यस बेला सरकारले प्राथमिकतामा खोप खोप भनिरहेको छ । यो खोप दिएर शिक्षण संस्थाहरु संचालन गर्ने हो भने म्यासेज फरक बन्न सक्छ । थोरै राहतको अनुभुति हुन सक्छ । केहि ढुक्क बन्ने स्थिति आउन सक्छ ।

६. शैक्षिक क्षतिको असर एकाध वर्षमात्र हैन, दशकौं वर्ष सम्म रहन सक्ने भएकाले यसतर्फ सम्वद्ध पक्षहरुको ध्यान जानै पर्दछ । बिपदको बेलामा गफ हैन, काम गरेर देखाउनु जरुरी छ । भुईंका मान्छेहरु संग हुने आवाज मात्र हो । निर्णय गर्ने र काम गर्ने गराउने त सरकार नै हो । हामी देखेको कुरा उजागर सम्म गर्छौं । आजका विद्यार्थी भोलिका राष्ट्रका कर्णधार भन्ने गरिन्छ । ब्यवहारमा उनीहरुको स्वास्थ्य सुरक्षा र शिक्षाबारे औपचारिकताका कुरा गरेर टारिरहेका छौं । अझ तेश्रो भेरियन्टमा वालवालिका थप प्रभावित हुने अनुमान विज्ञहरुबाट नै बाहिर आएको छ । विद्यार्थी नेतृत्व पनि यत्तिबेला विशेष चनाखो बन्नु जरुरी छ । पहिले खोप अनि जाँच र पढाई भन्नेमा सबैजना केन्द्रित हुनै पर्दछ । शिक्षण संस्थाहरु भौतिक रुपमा कहाँ खोलिएका छन् भन्दै पक्रेर दण्ड गर्न चनाखो हुनेहरुले विद्यार्थीको पढ्ने सिक्ने अधिकारको सम्वन्धमा पनि चासो दिन जरुरी महसुस भएको छ ।