हेटौंडाः पुस्तकालय अभियान समुह मकवानपुरको सहयोगमा बकैया–४ मा स्थापना भएको बकैया सार्वजनिक पुस्तकालयका लागि स्थानीयस्तरबाट पुस्तक संकलन गरिएको छ । बकैया सार्वजनिक पुस्तकालयले सोमबारबाट पुस्तक संकलन अभियान सञ्चालन गर्दै स्थानीय क्षेत्रबाट नै पुस्तक संकलन गर्न सुरु गरेको हो ।
भदौ १५ गते मंगलबार १४ औं पुस्तकालय दिवस मनाउने तयारी भइरहँदा यसैको तयारी स्वरुप अघिल्लो दिन स्थानीयस्तरमा पुगेर पुस्तक संकलन गर्ने अभियान सुरु गरिएको पुस्तकालय व्यवस्थापन समितिका सदस्य गोविन्द चौलागाईले बताउनुभयो । सोमबार बकैया–४ को गोठखोलादेखि ज्यामिरेसम्म पुगेर पुस्तक संकलन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयहरुसँग भएका पुराना पुस्तकहरु तथा अध्ययन गरिसकेका पुस्तकहरु पुस्तकालयमा सहयोग गरौं भन्दै अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत सोमबार ९५ थान पुस्तक संकलन भएको चौलागाईले बताउनुभयो ।
पुस्तक संकलन अभियान अब निरन्तर रुपमा चलिरहने पनि उहाँले बताउनुभएको छ । पुस्तकालयमा पुस्तक सहयोग गर्न चाहनेहरुले आगामी दिनहरुमा पनि आएर पुस्तक सहयोग गर्न सक्ने उहाँले भन्नुभयो । मंगलबार पुस्तकालय दिवसको अवसरमा बकैया–४ मा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताइएको छ । बकैया सार्वजनिक पुस्तकालयको आयोजनामा मंगलबार बिहान पुस्तकालयको दिगो विकास तथा सुदृढीकरण विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष सुस्मिता घोरासइनीले बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले आफ्नो पूर्वघोषणा अनुसार पुस्तकालयलाई १० हजार रुपैयाँ बराबरको पुस्तक हस्तान्तरण गर्ने कार्यक्रम रहेको समेत जनाइएको छ ।
यसैगरी मंगलबार नै बकैया–७ मा पुस्तकालय अभियान समुहको सहयोगमा हात्तिचरण सामुदायिक पुस्तकालय स्थापना गरिने पुस्तकालय अभियान समुह मकवानपुरका सदस्य गोबिन्द चौलागाईले बताउनुभयो । बकैया–७ सहित मकवानपुरका ६ स्थानमा मंगलबार एकैपटक पुस्तकालय स्थापना हुने भएको छ । यसअघि पनि मकवानपुरको ७ स्थानमा र बारा जिल्लाको निजगढमा पुस्तकालय स्थापना गरेको अभियान समुहले मंगलबार एकैपटक ६ स्थानमा पुस्तकालय स्थापना गर्न लागेको हो । पुस्तकालय अभियान समुह मकवानपुरले पुस्तकालय स्थापनाको लागि प्रत्येक पुस्तकालयमा ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गर्दै आएको छ ।