बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य ।

हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई आफ्नो पद जोगाउन समस्या हुने देखिएको छ । हालै मुख्यमन्त्रीमा नियुक्त हुनुभएका अष्टलक्ष्मी शाक्य एमाले विवाद मिलाउन भन्दै तटस्थ बस्नुभएको थियो । पछि बागमती प्रदेशको केपी ओली निकट सांसदहरुको सहयोगमा मुख्यमन्त्री बन्नुभयो । प्रदेशमा उहाँले मन्त्रिपरिष्द विस्तार गर्न सक्नुभएको छैन । मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै संघीय राजधानी काठमाडौं जानुभएका शाक्य प्रदेश प्रदेश राजधानीमा समेत आउनुभएको छैन । मंगलबार मुख्यमन्त्री शाक्य नेकपा एमालेको स्थायी कमिटी बैठकमा उपस्थिति हुनुभयो ।

शाक्य आफू घटुवा भएर बागमती प्रदेशको मुख्यमन्त्री बनेको निकटका सांसदहरुको भनाई छ । बागमती प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले नयाँ पार्टीमा शाक्य आउने बताउनुभयो । माधव नेपाल अध्यक्ष रहने गरी दर्ता भएको नेकपा एकीकृत समाजवादी पार्टीमा बागमती प्रदेशका ८ जना सांसदहरु खुलिसकेका छन् ।
प्रदेशमा माधव नेपाल समूहका २२ सांसद छन् । उनीहरुमध्ये अझ केही सांसदहरु नयाँ दलमा आउने सांसद पाण्डेको भनाइ छ । हालसम्म माधव नेपालको दलमा प्रदेश सांसदहरु मुनु सिग्देल, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, शान्ति पौडेल, पार्वती सिलवाल र रमा आले मगर खुलेको बताइएको छ । यसैगरी अन्य सांसदहरु पनि आउने उहाँले बताउनुभयो ।

दल दर्ता प्रक्रिया पूरा भइसकेपछि प्रदेशमा हालका मुख्यमन्त्री परिवर्तन हुने संकेत देखिएको हो । नयाँ सरकारमा माओवादी, कांग्रेस र नेकपा एकीकृत समाजवादी तथा साना दलहरुले सहभागिता जनाउन सक्नेछ । बागमती प्रदेशसभामा अहिले १ सय ९ सदस्य छन् । ५६ जना नेकपा एमालेका सदस्यमध्ये २२ जना माधव नेपाल समूहका, २३ जना नेकपा माओवादीका, २२ जना कांग्रेसका, ३ जना विवेकशील साझाका, २ जना राप्रपाका, २ जना नेमकिपाका र १ जना स्वतन्त्र सांसदहरु छन् ।

केन्द्र सरकारमा माधव नेपाल, नेपाली कांग्रेस र माओवादीको गठबन्धन बलियो छ । नयाँ दल दर्ता भएसँगै बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीबाट सांसद राजेन्द्र पाण्डे मुख्यमन्त्रीमा दाबी गर्न सक्ने एक प्रदेश सांसदले जानकारी दिनुभयो । बागमती प्रदेशसमा साना दलहरुले अष्टलक्ष्मी शाक्यलाई साथ दिएमा मात्र अहिलेको सरकार टिक्नेछ । यस्तै साना दलहरुले शाक्यलाई साथ नदिएमा यो सरकार परिवर्तन हुने ती नेताले बताउनुभयो ।