हेटौंडाः हेटौंडा–१० स्थित तुलसी मेहर स्कुलदेखि विद्युत प्राधिकरणको गेटसम्म सडक ढलान कार्य समयमै ठेकेदार कम्पनीले सम्पन्न नगरेको भन्दै भुटनदेवी टोल विकास संस्थाका पदाधिकारीले मकवानपुरका सहायक सिडियोको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सहायक सिडियो बाबुराम अर्याललाई समस्या समाधान गर्न बुधबार पत्र बुझाएका छन् ।
गत असार ४ गते टोलबासी तथा टोलविकास संस्थाको प्रतिनिधिसँगको मौखिक वार्तामा १५ दिनभित्र सक्ने भनेर सुरु गरेको सडक निर्माण कार्य आजसम्म अलपत्र पारेको भन्दै ठेकदार कम्पनिसँग स्ल्याब ढलान समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालयमा उनीहरुले जानकारी गराएका हुन् । ठेकदार कम्पनिले असार १९ गतेसम्म काम सम्पन्न गर्नुपर्नेमा पिच सडकलाई भत्काएर अलपत्र पारेको भुटनदेवि टोलविकास संस्थाका अध्यक्ष घनश्याम सापकोटाले बताउनुभयो । सडक खनेर काम नगर्दा अटो पल्टने, मोटरसाइकल पल्टने भन्दै दुर्घटना भइरहेको उहाँले बताउनुभयो । उहाँले ७ दिनभित्र पनि सडकको समस्या समाधान नभए उक्त सडक टोलबासीहरुले अवरुद्ध गर्ने बताउनुभयो ।
यता समस्या समाधान गर्न प्रशासनले सहजीकरण गर्ने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । उहाँले बागमती प्रदेशको ठेक्का भएकोले सम्बन्धीत योजना दिने कार्यालयको ध्यानाकर्षण गराउन र के कति काम भयो, कति खर्च भयो टोलविकास संस्थालाई बुझ्न पनि आग्रह गर्नुभयो ।
भुटनदेवि टोलविकास संस्थाले समस्या समाधन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुर सँगै, हेटौंडा उपमहानगरपालिका, १० नम्बर वडा कार्यालय, नेपाल विद्युत प्राधिकरण र ठेकेदार कम्पनि ओम साइ एण्ड कम्पनि जेभिलाई समेत बोधार्थ गरेको छ ।