हेटौंडाः बागमती प्रदेशसभामा सांसद शशीजंग थापाले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर संघीय प्रणालीकोे खिल्ली उडाउने, राजनीतिप्रति वितृष्णा पैदा गर्ने, घोर प्रतिगामी देशद्रोही कदम भएको भन्दै भत्र्सना गर्नुभएको छ । मंगलबार बसेको बागमती प्रदेशसभाको बैठकमा उहाँले सीमित व्यक्तिको स्वार्थका लागि देशलाई बिगार्ने काम भएको भन्दै अझ २० प्रतिशत थ्रेसहोल्डको प्रावधान राखेर दल विभाजन अध्यादेश ल्याउन लागेको बताउनुभयो ।
प्रदेश र स्थानीय तहको जनप्रतिनिधिलाई २१ दिनसम्म पार्टी छान्ने गरी अध्यादेश ल्याइँदैछ । यस्तो भएमा सडक र सदन दुबैमा आगो बल्ने उहाँले चेतावनी दिनुभयो । उहाँले यो अध्यादेश फिर्ता नलिए आफूले खनेको चिहानमा आफैं पर्ने बताउनुभएको छ । यसैगरी संसाद प्रदीपकुमार कटुवाल क्षेत्रीले पारमादेशबाट बनेको सरकारले कम्फर्टेबल हुन खोजेको आरोप लगाउनुभयो । दल विभाजनको अध्यादेश ल्याएर दलीय व्यवस्था अन्त्य गर्न खोजेको उहाँले बताउनुभयो । अध्यादेश पछि गएर ल्याउनेलाई नै चिन्ताको विषय पनि बन्नसक्ने बताउनुभयो ।
यता शून्य समयमा बोल्दै सांसदहरु शोभा शाक्य, रीना गुरुङले कोरोनाको तेस्रो भेरियन्टका लागि प्रदेश सरकारले के तयारी गरेको छ भन्दै संक्रमितहरुको लागि राहत प्याकेज ल्याउन माग गर्नुभयो । सांसद लेखनाथ दाहालले सिन्धुपाल्चोकमा आएको प्राकृतिक प्रकोपले उब्जाउ जमिन कटान गरी नाश भइरहकाले त्यसको नियन्त्रण र बस्तीमा प्रवेश गरेको नदी नियन्त्रण गर्न बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।
प्रदेशसभा नियमावली मस्यौदा समिति गठन
हेटौंडाः बागमती प्रदेशसभामा केही प्रदेश ऐन संशोधन विधेयक टेबल भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले ९ वटा संशोधनको विधेयक पेश गर्नुभएको हो । यस्तै, सांसद जुनेली श्रेष्ठले दर्ता गर्नुभएको प्रदेशसभा नियमावली २०७४ को संशोधन गर्न नियमावली मस्यौदा समिति गठन गर्न प्रस्ताव गर्नुभएको छ ।
समितिमा बागमती प्रदेशको कांग्रेस सचेतक छिरिङ दोर्जे लामा, एमाले बागमती प्रदेशको प्रमुख सचेतक दीपक निरौला, सांसदहरु निमा लामा, मणिराज फुयाँल, मिना ज्ञवाली, रत्नप्रसाद ढकाल, रीता माझी, बसन्त मानन्धर, शशीजंग थापा, शोभा शाक्य, शान्तिप्रसाद पौडेल, सीता अधिकारी र सुरेन्द्रराज गोसाईं छन् । उक्त समिति निर्माणको प्रस्तावमा माओवादी बागमती प्रदेशको प्रमुख सचेतक बुद्धिमान माझी, बद्री मैनाली, सन्तबहादुर प्रजा, विराजभक्त श्रेष्ठलगायतले समर्थन गर्नुभएको थियो ।











