वक्तृत्वकलामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः स्मिति गिरी, प्रमिश रानाभाट र कर्ण यादव ।

हेटौंडाः अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को अवसरमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र प्रदेश युवा परिषद्को आयोजनामा खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा मकवानपुर बाल विद्या सदनका स्मिति गिरी ४ सय पूर्णांकमा २ सय ७७ अंकसहित प्रथम भएकी छन् । द्वितीय तुलसी मेहर मेमोरियल बोर्डिङ स्कूलका प्रमिश रानाभाट र तृतीय आधुनिक राष्ट्रिय माविका कर्ण यादव भएका छन् ।

जेसीआई हेटौंडा लेडीको समन्वयमा भएको वक्तृत्वकला कार्यक्रम जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतको प्रमुख आतिथ्यमा भएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५ हजार रुपैयाँ, ३ हजार ५ सय रुपैयाँ र २ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । सामुदायिक र निजी विद्यालयका ११ जना विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

मन्त्री बस्नेतले खाद्य तत्वको कमीले नै बालबालिकाको शारीरिक वृद्धि विकास हुन नसक्ने बताउनुभयो । निम्नस्तरका समुदायका बालबालिकामा पोषणयुक्त खानाको व्यवस्था नहुने स्थितिमा अहिलेको कोभिडले विकराल अवस्थाले त्यस सामुदायका बालबालिका कुपोषणको शिकार हुने बताउनुभयो । खाद्यान्न व्यवस्थापन गर्न नसकेकाले र सकेकाले पनि व्यवस्थित गर्न नसकेको उहाँले बताउनुभयो ।
जल र जमिनको देश भएकाले आत्मनिर्भरका साथ स्वस्थ खानाका लागि आफैं तरकारी तथा कृषि खेती गर्न अग्रसर भएको मन्त्री बस्नेतले बताउनुभयो । जडीबुटी विदेशमा सस्तो मूल्यमा बेचेर महंगो मूल्यमा नेपालले औषधी आयात गरिरहेको उहाँले बताउनुभयो । यस कुरालाई मध्यनजर गर्दै सरकारले वैकल्पिक विधिबाट औषधी उपचार गर्ने तयारी गरिरहेको बताउनुभयो ।

घरघरमा स्वच्छ खाना व्यवस्थापनमा सबै एकजुट हुनुपर्ने मन्त्री बस्नेतले बताउनुभयो । अभिभावक स्वयम्ले चाउचाउ र बिस्कुटजस्ता पत्रु खाना बालबालिकालाई दिइरहेको भन्दै उहाँले बालबालिकाको निरोगी जीवनयापनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । साथै बालबालिका आफैैं यसविरुद्ध सचेत भएमा अखाद्य पदार्थ प्रयोगमा कमी ल्याउन सहयोग पुग्ने उहा“ले बताउनुभयो । एक व्यक्ति निरोगी बने सिंगो देश नै निरोगी बन्ने मन्त्री बस्नेतले बताउनुभयो । प्रतियोगिता स्वेच्छा दंगालको संयोजकत्वमा भएको हो भने बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको विशिष्ट आतिथ्य रहेको थियो ।