मकवानपुरको उत्तरी क्षेत्रको थाहा नगरपालिका जिल्लाका १० स्थानीय तहमध्ये कार्यसम्पादनमा उत्कृष्ट हुँदै प्रथम भएको छ । जिल्ला समन्वय समितिले गरेको कार्य प्रगतिको मूल्यांकनका आधारमा थाहा नगरपालिका तेस्रो पटक पनि प्रथम भएको हो । यस्तै मनहरी गाउँपालिका दोस्रो भएको छ भने बकैया गाउँपालिका तेस्रो भएको छ । मकवानपुर जिल्लामा धेरै दुर्गम स्थानसमेत रहेको थाहा नगरपालिका लगातार उत्कृष्ट हुनु अन्य पालिकाहरुप्रति प्रश्न पनि हो– किन अन्य पालिकाले थाहाजस्तै काम गर्न सकेनन् ? बजेटमा भिन्नता हो वा जनशक्तिको अभाव वा ईच्छाशक्ति भन्ने पक्षबाट विश्लेषण हुन आवश्यक छ । मूल्यांकनका आधार उस्तै हुँदा एउटा पालिका लगातार उत्कृष्ट हुने, तर अन्य स्थानीय तहले किन त्यो गति पछ्याउन सकेनन् ?
जिल्ला समन्वय समितिले मूल्यांकन गर्दै गर्दा उत्कृष्ट भएबापत आगामी वर्षदेखि विकास योजनाका लागि बजेट थप हुने वा एउटा प्रमाणपत्रकै भरमा उत्कृष्ट भएकोमा सन्तोष गर्नुपर्ने हो ? विगमा पनि स्थानीय निकायहरुको मूल्यांकन हुने गरेको थियो । उत्कृष्ट भएबापत त्यस्ता निकायहरुले बजेट बढी पाउने व्यवस्था थियो । तर जिल्ला समन्वय समितिले गरेको मूल्यांकनबाट बजेट बृद्धि गर्नेसम्मको क्षमता राख्छ वा अरुलाई उत्प्रेरित गर्नेमात्र काम गर्दछ ? बजेट नभए पनि अन्य तहहरुले आफ्ना काम कारबाहीलाई प्रभावकारी बनाउन दवाव बढ्न सक्छ । अनुदान आउने निकायबाट मूल्यांकन गर्ने र कामको प्रभाकारिताका आधारमा अनुदान दिने व्यवस्था गर्नसक्ने हो भने त्यसले कार्य प्रतिस्पर्धामा फरक पार्नसक्छ ।
स्थानीय तहका पदाधिकारीबीच प्रतिस्पर्धाको भावना विकास गराई आफ्नो तहमा गरिने काम जनमुखी बनाउने, प्राकृतिक श्रोत साधनमा स्थानीय नागरिकको पहुँच वृद्धि गराउने, विकास निर्माणमा तिव्रता दिने, निकासा भई आएको बजेट सही तरिकाबाट उपयुक्त समयमै खर्च गराई सक्नेजस्ता विषय मूल्यांंकनको आधार हुने गर्दछन् । पुरस्कार र दण्डको प्रावधानले मानिसलाई प्रतिस्पर्धी बनाउँदछ । तर नामका लागि मात्र हो भने जनप्रतिनिधिले मूल्यांकनप्रति चासो दिँदैनन् । पुरस्कार तथा दण्डित हुने व्यवस्थाले कार्य क्षेत्रमा वृद्धि गराउँदछ । यस्तै जनप्रतिनिधिको लापरबाहीको कारण बजेट निकास कम भएको वा ढिलो हुँदा गर्नुपर्ने काम समयमै सम्पन्न नभएको जस्तो कुरा नागरिकले समेत थाहा पाउनु आवश्यक छ ।
नागरिकप्रति जवाफदेही हुनुपर्ने जनप्रतिनिधिहरु कहिले काहीँ कानुनलाई छल्दै आफूखुशी काम गर्दा दण्डको भागी पनि हुनुपर्दछ । तर पुरस्कारको व्यवस्थाले दोहो¥याएर गल्ती गर्ने आँट कमैको मात्र हुन्छ । कुनै पनि स्थानीय तहले उत्कृष्ट कामका लागि पालिकामा रहेको पूरै टीमको ईच्छाशक्तिमा भरपर्दछ । जनप्रतिनिधिहरुले दलीय मान्यताबाट माथि उठेर काम गर्ने हिम्मत गर्नुपर्दछ । आफ्नो दलनिकट कार्यकर्ता र नेता खुशी पार्ने गरी मात्र काम गर्ने हो भने नागरिक बेखुशी हुनेछन् । त्यतिबेला उसले गर्ने काम उत्कृष्ट हुन सक्दैन । यस्तै पालिकाको पूरै टीमलाई कार्यप्रति प्रेरित गर्ने क्षमता नेतृत्वमा हुनुपर्दछ । निष्पक्ष, पारदर्शी र दूरगामी दृष्टिकोणका साथ काम गरेमा सबै स्थानीय तहहरु उत्कृष्ट बन्न सक्नेछन् ।