सन्दर्भः अन्तर्राष्ट्रिय युवा दिवस २०२१
यस बर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा खाद्य प्रणालीमा रुपान्तरणः मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन भन्ने रहेको छ । युवालाई खाद्य सुरक्षा र स्वास्थ्यको दृष्टिकोणले सवल सक्षम र पहुँचमा अभिबृद्धि ल्याउन पहलको शुरुवातीका लागि चिन्तन गरिएको छ । कुनै पनि देशको नेतृत्व गर्ने सरकार होस् या नेता, उनीहरूले देश र जनताका विशेषगरी युवाको लागि भविष्य र तिनको पछिल्लो तस्बिर देख्न सक्नुपर्दछ । युवाको विषयमा विश्वभरका सरकार र सरोकारवालाहरुलाई सचेत र जागरुक बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालिएको हो । युवा विकास भन्नाले युवाहरूको सर्वांगीण विकास अर्थात् शारीरिक विकास, सकारात्मक मनोभावनाको विकास, बौद्धिक विकास र सामाजिक सीपको विकासका अतिरिक्त बहुआयमिक सीप, राष्ट्रभक्ति, सवल एवम् सक्षम, सीपयुक्त, आत्मनिर्भर, स्वाबलम्बी नैतिकवान युवा भन्ने बुझाउँछ ।
अन्तर्राष्ट्रिय परिवेशमा अन्तर्राष्ट्रिय युवा दिवस संयुक्त राष्ट्रसंघको तत्वाबधानमा १९९९ अगष्ट १२ तारिखदेखि मनाउन थालिएको थियो भने नेपालको हकमा सन् २००४ देखि मात्र मनाउन थलिएको पृष्ठभूमि पाईन्छ । विश्व ईतिहास केलाउने हो भने युवालाई उत्थान गर्नु पर्छ भन्ने सवालमा विश्वमा १९३० को दशकतिर चिन्तन शुरु भएको पाईन्छ । १९३० मा विश्वमा भएको आर्थिक मन्दीलाई परास्त गर्न युवाको जोश, जागर र प्रतिभालाई भरपुर सदुपयोग गरिएको थियो । दोश्रो विश्वयुद्धको समाप्तीपछि १९४५ मा संयुक्त राष्ट्रसंघको स्थापना भई अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको विकाससँगै युवाको अधिकारको बारेमा पनि संयुक्त राष्ट्रसंघ भित्र बहस र चिन्तन शुरु भएको ईतिहास पाईन्छ ।
पछिल्लो अवधिमा संयुक्त राष्ट्रसंघले आफ्नो भूमिकालाई बढाएको छ । संयुक्त राष्ट्रसंघले सन् १९८५ लाई युवा बर्ष घोषणा गर्यो । सन् १९९५ मा युवासम्बन्धी विस्तृत कार्यक्रम World Program of Action for Youth 2000 and Beyong (WPAY) अगाडि ल्यायो । यसले धेरै देशको राष्ट्रिय नीति र कार्यक्रमका लागि निर्देशक कार्यक्रमका रूपमा काम गर्न पुग्यो । विश्वका युवा मन्त्रीहरूको लिस्वन सम्मेलन (१९९८) ले सबै देशमा युवा नीति र कार्यक्रमको आवश्यकता महसुस गर्यो । युवा नीतिसम्बन्धी छलफल गर्ने पहिलो विश्वस्तरीय फोरम सन् २०१४ मा वाकुमा सम्पन्न भयो । यसले युवा नीतिहरूले बेरोजगारी, गुणस्तरीय शिक्षा र युवा सहभागिता जस्ता विषयलाई जोड दिएको थियो । यसले युवा नीतिहरू तथ्यपरक र वैज्ञानिक हुनुपर्ने ठहर पनि गर्यो । त्यस्तै संयुक्त राष्ट्रसंघले युवा भोलेन्टियर परिचालनका साथै युवा विकासका कार्यक्रमहरूलाई अगाडि बढाएको छ । उसले हरेक देशमा युवा नीति र विकासको रणनीति निर्माण गर्ने कुरामा सहयोग गर्न अगुवाइसमेत गरेको छ । संयुक्त राष्ट्रसंघले युवा विकासका लागि विश्व युवा सम्मेलनहरू पनि आयोजना गर्दै आएको छ । युवा परिचालनबाट अन्तर्राष्ट्रिय तहमा अमेरिका, जापान, चीन, दक्षिण कोरिया, नर्वे जस्ता देशले उल्लेखनीय प्रगति हासिल गरेको तथ्य हाम्रा सामु छ । नेपालले पनि पश्चिमी मुलुकहरू र एसियाली मुलुकहरूको सफलताको अध्ययन गरी नेपालका नीतिगत, कानुनी र संस्थागत संरचनालाई युवामैत्री गराउनका लागि पछिल्लो समयमा गरेको कसरतको प्रशंसा नगरी रहन सकिन्न ।
सन् २०३० सम्म पूरा गर्ने उद्देश्य राखिएको दिगो विकासका लक्ष्यहरूमा युवासँग सरोकार राख्ने मुद्दाहरू पनि रहेका छन् । ती लक्ष्यहरू पूरा गर्न संयुक्त राष्ट्रसंघले युवालाई व्यापक रूपमा सहभागी बनाउँदै आएको छ । संयुक्त राष्ट्रसंघकै अगुवाइमा राष्ट्रसंघीय सुरक्षा परिषद्ले सन् २०१५ मा युवा, शान्ति र सुरक्षासम्बन्धी प्रस्ताव पास गरिसकेको छ । यस प्रस्तावले हरेक देशले आफ्ना युवाको विकास र सहभागितामार्फत विश्व शान्ति र सुरक्षाका लागि कार्य गर्नुपर्ने विषयलाई विशेष प्राथमिकतामा राखेको छ ।
युवावस्थालाई विभिन्न मुलुकले फरक–फरक तरिकाबाट परिभाषित गरेको पाइन्छ । उमेरका हिसाबले संयुक्त राष्ट्रसंघले १५ बर्षदेखि २४ बर्षका उमेर समूहका व्यक्तिलाई युवा भनी परिभाषित गरेको छ । श्रीलङ्काले १५–२९ बर्ष समूहलाई युवाका रूपमा लिएको छ भने नेपालका सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन, २०७२ ले १६ बर्षदेखि ४० बर्षसम्मको उमेर भएको व्यक्तिलाई युवा भनेको छ । युथजिन २०२५ मा यसलाई १६ देखि २४ बर्ष र २५ देखि ४० बर्षको उमेर समूहमा विभाजन गरी युवाको समूहगत प्राथमिकता निर्धारण गरिएको छ । पहिलो समूहको युवालाई शिक्षा, व्यक्तित्व र सीप विकासको चरण मानिएको छ भने दोस्रो समूहलाई व्यवसाय, स्वरोजगार र आयआर्जन गर्ने समयका रूपमा परिभाषित गरिएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार युवाको जनसङ्ख्या कुल जनसङ्ख्याको ४०.३५ प्रतिशत रहेको छ ।
युवाको मूल्य र मान्यता ऊर्जावान् स्रोत हो । हाम्रो देशमा युवा विकासका लागि सरकारका विभिन्न निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी निकायहरूले आ–आफ्नै किसिमले कार्यक्रमहरू सञ्चालन गरी योगदान पुर्याइरहेका छन् । युवा विकासका लागि नै भनेर बृहत् रूपमा सरकारी स्तरबाट २०६६ सालमा पहिलो पटक र त्यसलाई परिमार्जन गरी राष्ट्रिय युवा नीति २०७२ जारी गरियो । त्यसलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने उद्देश्यले सरोकारवालासँग व्यापक छलफल गरी ठोस कार्ययोजनासहित २०७२ सालमा युथभिजन २०२५ तथा दश बर्षे रणनीतिक योजना २०७२/०६/१९ मा नेपाल सरकार मन्त्रीपरिषद्बाट स्वीकृत भई जारी गरिएको थियो । नेपालको संविधान २०७२ को भाग ४ राज्यका निर्देशक सिद्घान्त, नीति तथा दायित्वअन्तर्गत धारा ५१ (ञ) ७ मा युवासम्बधी नीतिमा राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्घि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको पूर्ण उपयोगको वातावरण सिर्जना गर्ने, युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्ने भनी स्पष्ट रूपमा उल्लेख भएका छन् ।
बागमती प्रदेश सरकारले युवाको हकहितको संरक्षण, सम्बर्धन र सशक्तीकरण गरी शिक्षा, सीप, उद्यमशिलता र रोजगारीमा युवाको प्रतिनिधित्व, भूमिका र योगदानलाई प्रबर्धन गर्दै समुन्तत प्रदेश तथा राष्ट्रको निर्माणका लागि युवासम्बन्धी नीति निर्माणदेखि कार्यान्वयन तहसम्म उनिहरुको सार्थक सहभागिता अभिबृद्धि गरी प्रदेश तथा राष्ट्र विकासको मूलप्रवाहमा युवालाई समावेश गर्ने उद्देश्यले प्रदेश युवा परिषद् ऐन २०७६ पारित र २०७७ बैशाख ३ गते प्रमाणीकरण भएको पाईन्छ । राज्यको संरचनाअनुरुप बागमती प्रदेश सरकारको मुख्यमन्त्री माननीय डोरमणि पौडेलबाट प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्षमा सन्तोष चौलागाईलाई नियुक्ति गरिएको छ । यसैगरी जिल्ला युवा समिति मकवानपुरको अध्यक्षमा शिवहरि दहाललगायत बागमती प्रदेशका १३ वटै जिल्लाको युवा समितिको अध्यक्षको नियुक्ती पनि भइसकेको छ ।
प्रदेश युवा परिषद्ले पूर्णता पाएसँगै लामो उडान तय गर्नका लागि अल्पकालिन र दीर्घकालिन कार्ययोजना तयार गर्ने चरणमा रहेको छ । अब प्रदेशभरका युवाको आशाको केन्द्रबिन्दु बनेको छ बागमती प्रदेश युवा परिषद् । यसले गर्ने कामको परिणामको आधारमा आम नागरिकले प्रशंसा र खिसिटिउरी गर्ने भएकोले सिंगो प्रादेशिक युवा परिषद्लाई अवसर र चुनौती दुवै रहेको छ । प्रदेश युवा परिषद्को कार्ययोजनाको सफलताबाट नै युवाको मुहार उज्यालो हुनुुका साथै सुखी नेपाली र समृृद्ध नेपालको परिकल्पना साकार हुने भएकोले परिषद्सँग सबैको सहकार्य हुनुपर्ने र परिषद्ले पनि सहकार्यका लागि वातावरण सिर्जना गर्न सक्नु पर्ने हुन्छ ।
बागमती प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा युवालाई लक्षित गरी युवाहरुमा उद्यमशिलता र स्वरोजगार विकास गर्न प्रविधि हस्तान्तरण, सहुलियतपूर्ण कर्जा, सीपमुलक तालिम लगायतका उद्यमी क्षमता अभिबृद्धि गर्ने कार्यक्रमलाई थप प्रभावकारी बनाउन ‘जहाँ प्रविधि, पुँजी र सीप त्यहाँ युवाको हित’ नारालाई चरितार्थ गर्ने गरी कार्य गर्ने योजना बनाएको छ । यसैगरी रोजगारी गुमाई आफ्नो गाउँ फर्किएका युवा जनशक्तिलाई लक्षितगरी गाउँमै उद्यमशील बनाउने योजनाका साथ ‘मेरो गाउँ‘ उद्यमसहित जिउने ठाउँ’ भन्ने नारा अघि बढाइएको छ । यसैलाई दृष्टिगत गर्दै प्रदेश युवा परिषद्ले आफ्नो कार्यकाल सफल बनाउन यहि र यस्तै काम अघि बढाउनु पर्ने देखिन्छ ।
आजको युगमा सूचना, प्रविधि र सामाजिक सञ्जालहरूले युवाहरूका निम्ति कैयौं रोजगारीका अवसरहरू सृजना गर्ने गरेका छन् । नयाँ–नयाँ सम्भावनाहरूको खोजी र विकास भइरहेका छन् । तर त्यसका निम्ति परिश्रम र मिहिनेत नगरी निहित स्वार्थ र राजनैतिक दाउपेचमा युवाहरू लाग्नु अनि असामाजिक कामतर्फ आकर्षित हुनु स्वयम् युवा र समाजका लागि समेत घातक प्रयास हो । यसबारेमा युवा स्वयम् नै सचेत हुनुपर्ने देखिन्छ । युवाले अधिकार पाउन कर्तव्य निर्वाह गर्नुपर्ने कुरा सदैब हेक्का राख्न सक्नु पर्दछ ।
मानव कल्याण र विकासका लागि अबको बाटो आजका सबै युवाहरू परिवर्तन आफैबाट गरौं र आजैबाट गरौं भन्ने मूलमर्मका साथ नकारात्मक सिकाईतर्फ नमोडिएर दैनिक सकारात्मक कार्यतर्फ प्रेरित होऔं र अरूलाई पनि प्रभावित पारौं भन्ने भावनाबाट स्वजागरण हुनु जरूरी छ र यो कार्यका लागि प्रदेश युवा परिषद्को सहजीकरण तथा सहयोगका लागि प्रदेशका युवाहरुले आवश्यकता र खाँचो औँल्याएका छन् । धन्यबाद ।
(लेखक बाल कल्याण समाज मकवानपुरका अध्यक्ष हुनुहुन्छ ।)