कोभिडबाट सबै क्षेत्र प्रभावित भए पनि शिक्षा क्षेत्र अझै पीडित भएको छ । कोरोना संक्रमण बढ्दै गए पनि बजार क्षेत्र पूरै खुला छ । सरकारले यातायातका सबै क्षेत्र सञ्चालनको अनुमति दिएको छ । तर शिक्षा क्षेत्रमाथि थप कडाई हुँदै आएको छ । अन्य क्षेत्रमा केही भएको छैन, तर कोरोनाको मुख्य स्रोत शैक्षिक क्षेत्र नै हो भने झैं व्यवहार भइरहेको छ । दोहोरो व्यवहारले राज्यले ठूलो नोक्सानी व्यहोर्नु पर्नेछ भने विद्यार्थीको भविष्य अन्यौलग्रस्त बन्दैछ । शिक्षा क्षेत्रमा लगानी गरेकाहरुको अवस्था झन् दयनीय बन्दैछ । कतिपय निजी विद्यालयहरु पुनः सञ्चालन हुन नसक्ने अवस्थामा पुगेका छन् ।
शैक्षिक संस्थाहरु सञ्चालन हुन नसकेपछि ६० लाख बढी विद्यार्थीहरु घरमै बस्न बाध्य छन् । शैक्षिक वर्ष प्रभावित हुन नदिनका लागि भन्दै अध्ययन र परीक्षा पद्दतिमा नयाँ प्रविधिको प्रयोगमा जोड दिइरहेको छ । तर यसको प्रभावकारितामा अनेक प्रश्न छन् । शहर बजारका मानिसहरु जेनतेन प्रविधिको उपयोगमार्फत् शैक्षिक गतिविधिमा सहभागी हुने गरेका छन् । तर दूरदराजका नागरिकहरुको अवस्था के होला ? अझ आर्थिक अवस्था कमजोर भएकाहरुले अनलाइन पद्दतिमा जोडिन नै मुस्किल छ । यति हुँदाहुँदै पनि कोभिडसँग शैक्षिक क्षेत्रमात्र डराउनुपर्ने किन ? बजार सम्पूर्ण खुला हुँदा पनि शिक्षा क्षेत्रचाहिँ कोरोनाको स्रोत हो ? के विद्यार्थीमात्र कोरोनाबाहक हुन् ? यतिबेला राज्यले गरेको व्यवहार यस्तै देखिएको छ ।
कोरोना जोखिम यथावत भए पनि अनलाइनमा सहजै पहुँच नभएका ग्रामीण क्षेत्रका विद्यालयहरुले भौतिक उपस्थितिमा अध्यापन सुरु गरेका छन् । हेटौंडामा भौतिक उपस्थितिमा पढाई सुरु गरेका केही विद्यालयलाई कारवाहीसमेत भएको छ । कोरोनाबाट बच्नु पनि आवश्यक छ भने बालबालिकाको शैक्षिक गतिविध सुचारु नभएकोमा अभिभावक चिन्तित भएका छन् । यसको निराकरणको खोजी हुन आवश्यक छ । निम्न वर्गीय परिवारका बालबालिकाहरु अनलाइन सेवा लिनसक्ने अवस्थामा छैनन् भने भौतिक उपस्थितिबाट पढाई नभएपछि उनीहरु कुलतमा फस्ने जोखिम बढ्दै गएको छ । युवाहरुलाई खेलकुदजस्ता अतिरिक्त क्रियाकलापमा सहभागी गराउन पनि समस्या छ भने शैक्षिक क्षेत्र पूरै बन्द हुँदा सबैभन्दा बढी क्षति शिक्षामा संलग्न उमेर समूहका बालबालिका परेका छन् ।
विद्यार्थीको भविष्यप्रति चिन्ता गरिए पनि कक्षाहरु सुचारु गर्न प्रतिबन्ध नै छ । त्यतिमात्र हैन, समाजका सम्पूर्ण क्षेत्र खुला भइसक्दासमेत तोकिएका परीक्षासमेत स्थगित भएका छन् । यसले लाखौं विद्यार्थीमा अन्यौलता सृजना भएको छ । बजारमा हुने सबैप्रकारका भिडभाडजन्य गतिविधिबाट कोरोना नसर्ने, तर विद्यार्थीले परीक्षा हलमा पुग्दा कसरी कोरोना बढ्ने हो ? कि सबै गतिविधि बन्द गर्नुपर्दछ नत्र महामारीको स्रोतका रुपमा विद्यार्थीहरुलाई मात्र आरोपित गर्ने व्यवहार स्वभाविक छैन । केन्द्र थपेर भए पनि परीक्षा सञ्चालन गरिनु आवश्यक छ । नत्र युवा उमेरका विद्यार्थीमा नैराश्यताले घर गरेपछि जुनसुकै बाटो पनि लिन सक्छन् । त्यसपछि समाजले झन् ठूलो क्षति व्यर्होनुपर्ने अवस्था आउन सक्छ ।