हेटौंडाः बागमती प्रदेशअन्तर्गतको प्रदेश युवा परिषद्को कार्यालय उद्धाटन भएको छ । बिहिबार बिहान एक कार्यक्रमको आयोजना गर्दै परिषद्ले कार्यालय उद्धाटन गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले कार्यालयको उद्धाटन गर्नुभएको हो । कार्यालय उद्धाटनसँगै अन्तराष्ट्रिय युवा दिवस २०२१ को अवसरमा परिषद्ले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको पनि सुरुवात भएको छ । ‘खाद्य प्रणालीमा रुपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागियुवा नवप्रवर्तन’ भन्ने मुल नाराका साथ युवा दिवस मनाइन लागेको हो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रम परिषद्को कार्यालय उद्धाटन रहेको थियो । दोस्रो कार्यक्रमको रुपमा भोली शुक्रबार २९ गते रक्तदान कार्यक्रम, ३० गते ५ किमि दौड, ३१ गते कोभिड–१९ संक्रमणको परिवेशमा बालबालिकालाई बालश्रमबाट जोगाउ विषयक तथा ३२ गते शिक्षाको लागि राष्ट्रिय अभियानको समन्वयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । यसैगरी भदौ १ गते बक्तृत्वकला कार्यक्रम तथा २ गते समापन कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी कार्यक्रममा परिषद्का अध्यक्ष समेत रहनुभएका सामाजिक विकास मन्त्री सरस्वती बस्नेत, सामाजिक विकास राज्यमन्त्री रामकुमार अधिकारी, संविधान सभा सदस्य अनन्त पौडेल, प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सामाजिक विकास मन्त्रालयका सचिव यज्ञ प्रसाद ढुंगेल, प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी, भुमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष रामेश्वर राना लगायतकाको आतिथ्यता रहेको थियो ।