मकवानपुरमा विद्युत् सेवा लिने सेवाग्राहीको संख्या बढ्दै गएको छ । स्थानीय सरकार आएपछि जिल्लाका विकट क्षेत्रमा पनि विद्युत् सेवा प्रवाह हुन थालेपछि सेवाग्राहीको संख्या बढेको हो । केन्द्रीय प्रसारण सेवा नपुगेका गाउँ ठाउँमा स्थानीय तहले विद्युत् विकासका लागि साना परियोजनामा लगानी बढाएसँगै विद्युत् सेवा विस्तार भएको छ । विद्युत् सेवा लिनेहरुको आवश्यकताका आधारमा सेवा विस्तार भएको हो । नागरिकहरु सुरुमा विद्युत् महसुलको कुराले सेवा लिन नडराएका पनि हैनन्, तर समय र परिस्थितिले जतिसुकै आर्थिक अवस्था कमजोर भए पनि विद्युत् सेवा लिनेहरुको संख्या बढ्दै गएको हो । समाज रुपान्तरणमा विद्युत् सेवको विस्तारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

विद्युत् विस्तारका लागि प्राधिकरणले विनियोजन गरेको अपुग रकममा स्थानीय पालिकाहरुले समेत बजेट छुट्याएको पाइन्छ । स्थानीय विकासका लागि आवश्यक पर्ने क्षेत्रमा लगानी गर्ने निकाय जुनसुकै भए पनि स्थानीय तहले अपनत्व लिन आर्थिक सहभागिता जनाउनु स्वभाविक पनि हो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि बजेट अभाव भन्दा पनि आयोजनाको खाँचो देखिएको छ । सम्बन्धित पक्षबाट छुट्याएको रकम अपुग भएमा स्थानीय तहले सहयोग गरी योजना सफल बनाउने परियोजनामध्ये विद्युत् क्षेत्र अगाडि देखिन्छ । स्थानीय तहको पूर्वाधारका अतिरिक्त मानवीय पक्षको विकासका लागि अब विद्युतीकरण आवश्यक छ । यही आवश्यकताले विद्युत् परियोजनामा लगानी बढ्ने र उत्पादित शक्तिको उपयोग गर्नेहरुको संख्या बढेको छ ।

मकवानपुरमा विद्युत् उत्पादनका साथै उपभोक्ता पनि बढेका छन् । गएको एक वर्षमा मात्रै जिल्लाभित्र ५ हजार बढी सेवाग्राही थपिएका छन् । यस तथ्यले विद्युत् उपयोग गर्नेको संख्या मात्र देखाउँदैन कि, समाजको आवश्यकतासमेत प्रष्ट्याउँदछ । यस्तै आधुनिक प्रविधिको प्रयोगलाई समेत संकेत गर्दछ । उज्यालोका लागि मात्र विद्युत्का ग्राहक बढेका हैनन् । विद्युत् सेवाको प्रयोगको क्षेत्रसमेत विस्तार भएको छ । समाज आधुनिकतातर्फ अघि बढेको संकेत गर्दछ भने उपभोग गर्ने प्रवृत्तिको विकास गराएको छ । यस्तै शहरीकरणलाई पनि संकेत गर्दछ । जिल्लाभित्र नयाँ घर निर्माणको तथ्यसमेत विद्युत् सेवा विस्तारले देखाउँछ । विद्युत् सेवा विस्तारको विषयले समाज रुपान्तरणको अवस्थाबारे समेत अध्ययन गर्न सहयोग पुग्नेछ ।

मकवानपुरका साढे ६६ हजार सेवाग्राहीलाई नेपाल विद्युत् प्राधिकरण हेटौंडाले विद्युत् वितरण गरिरहेको छ । यो सेवाबापत २ अर्ब ३० करोड महसुल संकलन भएको देखिन्छ । सेवा उपभोग गरेबापत उठ्ने शुल्कले खर्च गर्ने क्षमतालाई समेत देखाउँछ । सेवा प्रयोगकर्ताको संख्या बढेसँगै आउने समस्या निराकरण गर्नुपर्ने दायित्व प्राधिकरणको हो । ग्राहक बढेकोमा खुशीमात्र हुने हैन कि, सेवालाई थप प्रभावकारी बनाउने सम्बन्धमा पनि योजना आवश्यक छ । दिनमा पटक–पटक विद्युत् जाने समस्याले सेवाग्राहीमा पर्ने आर्थिक भारप्रति प्राधिकरणको गम्भीरता नै देखिँदैन । विस्तारमात्र भन्दा पनि त्यसलाई थप प्रभावकारी बनाउन सक्नु चुनौती हो । सेवा विस्तारका साथै गुणस्तरीय बनाउनेतर्फ ध्यान दिन आवश्यक छ । शुल्क भुक्तानीमा हुने अप्ठेरो, दोहोरो बिलजस्ता समस्या पनि देखिएको छ । प्राधिकरणले सेवा विस्तारसँगै गुणस्तरीयतामा पनि विशेष ध्यान दिन आवश्यक छ ।