हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडालाई सहयोगापेक्षी सडक मानवमुक्त क्षेत्र घोषणा गरिसकिएको छ । तर बजारको सडकपेटीदेखि लिएर बजार आसपासका क्षेत्रमा झुपडी बनाएर मानिसहरु बस्दै आएका छन् । उनीहरुको दैनिकी मागेर नै गुजारा चलिरहेको अवस्था छ । सडकमा साना बालबालिकासँगै भारतीय नागरिकहरु ठाउँठाउँमा पैसा माग्दै हिँडेको पनि भेटिने गरेको छ । स्थानीय सरकारसमेतको सहयोग र समन्वयमा गरिएको सहयोगापेक्षी सडक मनावमुक्त क्षेत्र घोषणा कार्यान्वयनमा चुनौती देखिन्छ ।
मागेर जीविकोपार्जन गर्नेहरु केही महिनादेखि बालबालिकासहित हेटौंडा १० मा ३ वटा झुपडी बनाएर बसिरहेका छन् । उनीहरुको जीविकोपार्जनको अवस्थाबारे रिपोर्टिङ गर्न जाँदा लगभग ६ वर्षका ईशा र ३ वर्षका निलु एउटा झुपडीभित्र भेटिए । उनीहरुलाई बोलाएर कुराकानी गर्न खोज्दा ईशाले भनिन्– ‘पैसा दिनु न दिदी ।’ मागेरै जीविकोपार्जन गरिरहेका उनीहरुले आफू बसेकै ठाउँमा आउनेसँग पनि पैसा मागे ।
ती दुबै बालबालिकाले एकोहोरो पैसा मागेको माग्यै गरेपछि बाध्य भएर पैसा दिइयो । तर, पैसा पाउनेवित्तिकै उनीहरु पैसा बोकेर पसलतिर दौडिए । ३ वटा झुपडीमध्ये २ वटामा भने कोही पनि भेटिएनन् ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयनजिक मन्त्रालय जाने सडककै छेउमा त्रिपालले छाएको ती झुपडीमा भारतीय नागरिक बस्दै आएको बुझियो । पुरुषहरुले प्लाष्टिकको भाँडाहरु बिक्री गर्दै हिँड्ने गरे पनि महिला तथा बालबालिका भने बजारमा घुमेर माग्ने गरेको स्थानीयले जानकारी दिए ।
त्यहाँ भेटिएकी ६ वर्षकी बालिकाले विद्यालय कस्तो हुन्छ देखेकी छैनन् । अक्षर लेख्न तथा पढ्न सिक्नुपर्ने बेलामा मागेर बालबालिका मागेर हिँड्ने अवस्था पाइनु विडम्बना मान्नुपर्छ । जुनसुकै देशका नागरिक भए पनि शिक्षाबाट बालबालिका वञ्चित हुनु हुँदैन । सहयोगापेक्षी सडक मानवमुक्तसँगै बालमैत्री स्थानीय तह घोषणा गर्ने क्रम बढिरहेको भए पनि घोषणाले सार्थकता पाउन सकेको छैन । यसले विभिन्न तहका सरकारले सडक मानवमुक्त क्षेत्र घोषणादेखि बालमैत्री अभियानलाई साकार पार्न आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको प्रष्ट हुन्छ ।
सरकारले २०८२ सालभित्र देशलाई नै सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गर्ने लक्ष्य राखेको छ । तर विडम्बना, बागमती प्रदेशकै राजधानी हेटौंडाकै बजारका सडक पेटीहरुमा मागेर गुजारा गर्ने अपाङ्ग, अशक्तका साथै धेरै खालका मानिसहरु देख्न सकिन्छ । अहिले कोरोना भाइरस संक्रमणको जोखिम रहेको अवस्थामा पनि मुख्य बजार क्षेत्रमै मागेर बसिरहेकाहरु भेटिन्छन् । माग्न बसेकालाई बाटोमा हिँड्ने मानिसले पैसा दिएका पनि छन् । यस्ता परिदृश्य हेटौंडामात्र होइन, अन्य ठाउँहरुमा पनि देखिन्छन् ।
मागेरै जीविकोपार्जन गरिरहेकाहरुलाई सडकमा मागेर कष्टकर जीवन बिताउनुभन्दा आश्रयस्थलमा गएर बस्न आग्रह गर्दा त्यस्तो ठाउँमा जान चाहेको पाइँदैन । कतिपयले आफूमात्र नभएर परिवार पनि भएकाले आश्रयस्थलमा जान नसक्ने बताउने गरेका छन् । यसैगरी सडकबाट उद्धार गरेर आश्रयस्थलमा पुर्याइएकाहरु पनि कयौं फेरि सडकमै फर्किएको पनि भेटिने गरेको छ ।
सडकमा सहयोगापेक्षी मानवमुक्त गर्न सबै सरोकार निकायबीच समन्वय र सहकार्य आवश्यक हुन्छ । स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा सडकमा जीवन बिताउन बाध्य भएकाहरुलाई उचित व्यवस्थापन गरिएमा सडक मानवमुक्त बनाउन सहज हुनेछ ।