२०७३ साल जेठ महिनामा मकवानपुरको राक्सिराङ गाउँपालिकाको काँकडामा आयोजित एकीकृत घुम्ती शिविरमा सेवा लिन आएका २० वर्षभन्दा कम उमेरमा विवाह गरेर आमा बनेका किशोरीहरु । फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा अस्पतालमा प्रसुति सेवा लिन आउने सेवाग्राहीको संख्या वृद्धि हुुँदै गएको छ । निषेधाज्ञाको समयमा समेत अस्पतालले प्रसुति सेवा सुचारु गरेका कारण अस्पतालमा प्रसुति गराउन आउने महिलाहरुको संख्या उल्लेख्य रहँदै आएको छ ।

आइतबार हेटौंडा अस्पतालको प्रसुतिगृहमा १९ जना गर्भवती महिला प्रसुति सेवाका लागि आएका थिए । तिनैमध्ये एक हुन्, १८ वर्षीया सरिता घताने । बकैया गाउँपालिकाकी घताने प्रसुति गराउन अस्पताल भर्ना भएकी हुन् ।

घतानेजस्तै २० वर्षभन्दा कम उमेरमै गर्भवती भएर प्रसुति सेवा लिन अस्पताल आउनेको संख्या उल्लेख्य रहेको अस्पतालले जनाएको छ । २० वर्ष नपुुगी विवाह गर्न नपाइने कानुनी व्यवस्था भए पनि १८ वर्षमै गर्भवती भएर प्रसुति सेवा लिन अस्पताल आउँदा पनि अस्पतालका स्वास्थ्यकर्मीले उचित परामर्श नदिएको सेवाग्राहीको गुनासो छ । कम उमेरमै विवाह गरेर गर्भवती भएकालाई स्वास्थ्यकर्मीले विशेष परामर्श दिनुपर्ने सेवाग्राहीको भनाई थियो ।

बालविवाह गर्नु कानुनी अपराध हो र २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु हुँदैन भन्ने थाहा भए पनि कम उमेरमा गर्भवती हुँदा जोखिम हुने कुरा कसैले नबताएको घतानेले जानकारी दिइन् । प्रसुति सेवा लिन अस्पताल भर्ना भएकी घतानेले कम उमेरमा बच्चा जन्माउँदा शारीरिक अपरिपक्कताका कारण आमा शिशु दुबैलाई जोखिर्म हुने कुरा आफूलाई जानकारी नगराएको बताइन् ।

कोभिड १९ ले निम्त्याएको अहिलेको विषम परिस्थितिमा पनि बालविवाह भइरहेको छ । विशेषगरी बालबालिकाले आफूखुशी विवाह गर्ने क्रम बढेकाले बालविवाहको दर बढेको बाल अधिकारकर्मीको भनाई छ । बालविवाह रोकथामका साथै हरेक किशोरीलाई सानै उमेरमा बच्चा जन्माउँदा हुने जोखिमबारे जनचेतना जगाउन आवश्यक देखिन्छ ।