हेटौंडा अस्पतालमा आइतबार उपचारका लागि आएका सर्वसाधारण ।

हेटौंडाः हेटौंडा अस्पतालमा सबै किसिमको आकस्मिक सेवा सुचारु भइसकेको छ । आइतबारबाट जिल्लाभित्रको सार्वजनिक यातायात पनि खुला गरिएको छ । अस्पतालको सबै सेवा सुचारु भएर सार्वजनिक यातायातसमेत सञ्चालनमा आएपछि हेटौंडा अस्पतालमा सेवाग्राहीको भिडभाड बढेको हो । भिडभाड बढेसँगै असप्तालबाटै कोभिड संक्रमणको जोखिम बढेको छ ।

आइतबार हेटौंडा अस्पतालको ओपीडी सेवामा सेवाग्राहीको भिडभाड उच्च रहेको थियो । पछिल्लो समय निषेधाज्ञा क्रमशः खुकुलो बन्दै गएको र अघोषितरुपमा सबैजसो व्यापार व्यवसायसमेत सञ्चालनमा आएपछि अस्पतालमा बिरामीको चाप पनि बढ्दै गएको छ ।

एकातिर कोरोना भाइरस संक्रमण पहिचानका लागि पीसीआर परीक्षण गर्न स्वाब संकलनको दर कम हुँदै गएको छ भने अर्कोतर्फ बजारमा व्यावसायिक क्षेत्र थप खुला हुँदै गएको छ । परीक्षण नै कम हुँदा संक्रमण घटेको हो कि भन्ने आम नागरिकमा परेको भ्रमले स्वास्थ्य मापदण्डको पालनामा पनि हेलचेक्र्याईं बढ्दै गएको छ ।

अस्पतालमा आएका बिरामीसँग कुरुवा तथा सहयोगीहरुसमेत हुने भएकाले संक्रमणको जोखिम सबैलाई देखिएको अस्पतालका स्वास्थ्यकर्मीले बताउनुुभयो । अस्पतालमा प्रसुति सेवा लिन आएका बिरामी, भर्ना भएर बसेका बिरामी, ओपीडीमा आएका बिरामी, इमर्जेन्सीमा आएका बिरामी सबैजसोसँग निरोगी आफन्त तथा कुरुवा आउँदा कोरोना भाइरसलगायत अन्य रोगको संक्रमणको जोखिम देखिएको स्वास्थ्यकर्मीको भनाई छ ।

अस्पतालमै भिडभाड देखिनुले संक्रमणको जाखिम देखिएको हो । कोरोना भाइरस संक्रमणको परीक्षण दर नबढाएका सरकारी निकायले प्रायः सबै सेवा तथा क्षेत्रहरु खुलाएका छन् । पहिलेजस्तो विषम परिस्थिति आउन नदिन सुरक्षा सावधानी नै नआपनाई निषेधाज्ञालाई खुकुलो बनाएको हुँदा स्वास्थ्य क्षेत्रजस्तो ठाउँमा पनि भौतिक दुरी कायम नगरी बिरामीको भिड बढ्न दिनुले संक्रमण बढ्नसक्ने सेवाग्राहीको गुनासो छ ।