हेटौंडाः जिल्ला पशु कार्यालय मकवानपुरले हेटौंडाको वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री क्याम्पस) क्षेत्रभित्रबाट ३ वटा कुकुरलाई समातेको छ । क्याम्पसका विद्यार्थीको समेत सक्रियतामा फरेष्ट्रीभित्र रहेको ३ वटा भुस्याहा कुकुरलाई समातेर बन्ध्याकरण गरिएको जनाइएको छ ।
बन्ध्याकरणपछि ती कुकुरहरुलाई हेटौंडा बजारभन्दा बाहिर लगेर छाडिएको जिल्ला पशु कार्यालयका सूचना अधिकृत डा. धु्रव डीसीले बताउनुभयो । २ दिनको कार्यक्रमअन्तर्गत् शुक्रबार फरेष्ट्री क्याम्पस परिसरभित्र र शनिबार फरेष्ट्री वरपरका बेवारिसे कुकुरलाई समातेर बन्ध्याकरण गरिने उहाँले बताउनुभयो ।
फरेष्ट्री क्षेत्रमा भएका भुस्याहा कुकुरको आक्रमणबाट दिनानुदिन चित्तलहरुको मृत्यु हुन थालेपछि कुकुरलाई समातेर अन्त पठाइएको फरेष्ट्री क्याम्पसका विद्यार्थी सुजन खतिवडाले बताउनुभयो । पहिलो चरणको कोरोना भाइरस संक्रमणका कारण हेटौंडामा लकडाउन भएपछि हालसम्म कुकुरको टोकाईबाट २० वटा चित्तलको मृत्यु भइसकेको उहाँले जानकारी दिनुभयो ।
बच्चा कुकुर रमाइलोका लागि पाल्ने र ठूलो भएपछि छाड्दिने गर्नाले फरेष्ट्री क्षेत्रमा भुस्याहा कुकुरको संख्या बढी भएको खतिवडाको भनाई छ । फरेष्ट्री क्याम्पस क्षेत्रभित्र ८-९ वटा र बाहिर २० वटाजति भुस्याहा कुकुर रहेको उहाँले बताउनुभयो ।