पिप्ले युवा क्लबका अध्यक्ष सुशिल घिमिरेलाई डमी चेक र नगद हस्तान्तरण गर्नुहुँदै मकवानपुर जिल्ला एथलेटिक्स संघका पदाधिकारीहरु साथमा हेटौंडा ५ का वडा अध्यक्ष राजेश बानियाँ ।

हेटौंडाः मकवानपुर जिल्ला एथलेटिक्स संघले हेटौंडा–५ स्थित पिप्ले युवा क्लबलाई आर्थिक सहयोग प्रदान गरेको छ । पिप्ले युवा क्लबले एथलेटिक ट्रयाकसहित बनाउँदै गरेको क्याम्पा मिनी रंगशाला निर्माणमा सहयोग गर्नका लागि भन्दै एथलेटिक्स संघले १ लाख ११ हजार १ सय ११ रुपैयाँ क्लबका अध्यक्ष सुशिल घिमिरेलाई प्रदान गरेको छ ।

क्याम्पा मिनी रंगशालामा खेलकुदका संरचना निर्माण भइरहँदा जिल्ला एथलेटिक्स संघले आफ्नो अपनत्व ग्रहण गर्दै संघका पदाधिकारीहरुबाट सबैले सकेको सहयोग संकलन गरेर प्रदान गरिएको संघका अध्यक्ष प्रभाकर पाण्डेले जानकारी दिनुभयो । बि.सं. २०५८ सालमा जिल्ला एथलेटिक्स संघ स्थापना भएयता विभिन्न प्रयास गर्दापनि एउटा एथलेटिक ट्रयाक निर्माण गर्न नसकिएको अवस्थामा पिप्ले युवा क्लबले एथलेटिक ट्रयाकसहितको रंगशाला निर्माण कार्य गर्नु सम्मान योग्य भएको भन्दै संघले पनि सो कार्यमा अपनत्व ग्रहण गरेको उहाँको भनाई रहेको छ ।

रंगशाला निर्माण पछि एथलेटिक्सको कार्यक्रम आयोजना हुँदा चौरमा प्रत्येक २/२ घण्टामा चुना हालेर खेल खेलाउनुपर्ने समस्याको अन्त्य हुने विश्वास लिइएको उहाँले बताउनुभयो । एथलेटिक ट्रयाकलाई अझै राम्रो र आवश्यक नापजाँच गर्नका लागि कोरोना संक्रमणको अन्त्यभएपछि काठमाडौंबाट प्राविधिक बोलाएर देखाइने पनि अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

नगद हस्तान्तरण कार्यक्रमपछि सामुहिक फोटो खिचाउँदै खेलक्षेत्रका पदाधिकारीहरु ।

सरकारले लगानी तथा निर्माण गर्नुपर्ने खेलमैदानहरु क्लबहरुले आफ्नै पहलमा गर्दा सोचेभन्दा छिटो र राम्रो निर्माण भएको भन्दै प्रदेश खेलकुद विकास परिषदका सदस्य माधव तिमल्सिनाले पिप्ले युवा क्लबप्रति आभार व्यक्त गर्नुभयो । विकास निर्माण गर्नका लागि पैसामात्र नभई त्यसलाई संचालन गर्न सहि नेतृत्व पनि आवश्यक रहेको र पिप्ले युवा क्लबले असल नेतृत्व प्राप्त गरेको भन्दै उहाँले क्लबको प्रसंशा गर्नुभएको छ ।

क्याम्पा रंगशाला निमांण गर्नका लागि सुरुवाती समयदेखी नै आर्थिक सहयोग प्रदान गर्दै आएको हेटौंडा उपमहानगरपालिका ५ नं. वडा कार्यालयले आगामी आर्थिक वर्षमा पनि आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरिएको वडा अध्यक्ष राजेश बानियाँले बताउनुभयो । मैदान तथा एथलेटिक ट्रयाक बनाउनका लागि चालु आ.व.मा ११ लाख रुपैयाँ प्रदान गरेको वडा कार्यालयले आगामी आ.व.मा रंगशालाको लागि थप २५ लाख रुपैयाँ बजेट निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । उपमहानगरपालिकाबाट वडा कार्यालयलाई प्राप्त १ करोड ५५ लाख रुपैयाँ सिलिङ बजेटमध्ये रंगशालाको निर्माणलाई अगाडी बढाउन २५ लाख रुपैयाँ बजेट निर्धारण गरिएको अध्यक्ष बानियाँले बताउनुभयो ।

जिल्ला एथलेटिक्स संघको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुशराज, जिल्ला एथलेटिक्स संघका पदाधिकारीहरु, पिप्ले युवा क्लबका पदाधिकारीहरु तथा एथलेटिक्सका खेलाडीहरुको समेत उपस्थिति रहेको थियो ।