कविता प्रतियोगितामा प्रथम भएका जीएस निकेतन माविका समर्पण न्यौपाने ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाद्वारा आयोजना भएको बालप्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीको सहभागितामा भएको बालप्रतिभा पहिचान कार्यक्रममा विविध विधामा प्रतियोगिता भएको थियो ।

तहगतरुपमा निबन्ध, वक्तृत्वकला, कविता, बाल गायन, चित्रकला गरी ९ वटा प्रतियोगिता सम्पन्न भएका छन् । कोरोना भाइरस संक्रमणको जोखिमका कारण गरिएको निषेधाज्ञाकै बीचमा भर्चुअल माध्यमबाट गरिएको कार्यक्रममा तीन दर्जनभन्दा बढी विद्यार्थी पुरस्कृत भएका छन् । बालप्रतिभाको रुपमा ९ वटा कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने एक–एक जना गरी ३६ जना र बालप्रतिभा प्रोत्साहन पुरस्कारबाट ३ जना गरी २९ जना विद्यार्थी पुरस्कृत भएको हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्काले जानकारी दिनुभएको छ ।

बाल गायन प्रतियोगितामा जीएस निकेतनका विद्यार्थीको समूह प्रथम हुन सफल भएको छ । बाल गायनमा तुलसी मेहर बोर्डिङ स्कूलका अरबिन उप्रेती द्वितीय, बालज्योति माविका साइसा केसी तृतीय र बालजागृति बोर्डिङकी प्रसिद्धि लामिछाने सन्त्वना हुन सफल भएका छन् । आधारभूत तहको कक्षा ५ सम्मका विद्यार्थी सहभागी गायन प्रतियोगितामा ९ वटा विद्यालयका ३० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

आधारभूत तहमा कक्षा ५ सम्मका विद्यार्थीहरु नै सहभागी भएको चित्रकला प्रतियोगितामा जीएस निकेतन माविका सभ्यता पाठक प्रथम, जीएस निकेतन माविकै प्रेरक गौतम द्वितीय, फ्यामकल एकेडेमीका आशीष पाख्रिन तृतीय र ज्योति मावि हर्नामाडीका प्रनिस लामा सान्त्वना भएका छन् । कक्षा ५ सम्मका विद्यार्थीका लागि आयोजना गरिएको गायन र चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सन्त्वना हुने विद्यार्थीले क्रमशः ७ हजार, ५ हजार, ३ हजार र १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

आधारभूत तहको कक्षा ६ देखि ८ सम्मका विद्यार्थीको सहभागिता रहेको कविता प्रतियोगितामा जीएस निकेतन माविका समर्पण न्यौपाने प्रथम, बालजागृति माविकी रुमानी बर्तौैला द्वितीय, ब्रम्हदिक एकेडेमीकी कुष्मा लौडारी तृतीय र जेनिथ बोर्डिङ स्कूलका शुभम् खनाल सान्त्वना भएका छन् । प्रतियोगितामा ९ वटा विद्यालयबाट १७ जना विद्यार्थीको सहभागिता थियो ।

आधारभूत तहकै कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुबीच ‘विद्यालय शिक्षामा सूचना प्रविधिको महत्व’ विषयक निबन्ध तथा वक्तृत्वकला प्रतियोगिता भएको थियो । निबन्ध प्रतियोगितामा बालज्योति मावि हेटौंडाका अर्पण पौडेल प्रथम, बालजागृति माविकी कृशाङ्गी अर्याल द्वितीय, अमर माविकी सन्श्री लामा तृतीय र ब्रम्हदिक एकेडेमीकी जेनिशा अधिकारी सान्त्वना भएका छन् ।

वक्तृत्वकला प्रतियोगितामा बालज्योति माविकै अर्पण पौडेल प्रथम, जीएस निकेतन माविकी प्रतिष्ठा कार्की द्वितीय, जीएस निकेतन माविकी पूर्वजा न्यौपाने तृतीय र ब्रम्हदिक एकेडेमीकी दिया अर्याल सान्त्वना भएका छन् । वक्तृत्वकला प्रतियोगितामा ७ वटा विद्यालयका १२ जना विद्यार्थी सहभागी थिए । आधारभूत तहका तीनवटै प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ७ हजार, ५ हजार, ३ हजार र १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

माध्यमिक तहअन्तर्गत् कक्षा ९ र १० तथा कक्षा ११ र १२ का विद्यार्थीबीच अलग–अलग निबन्ध र वक्तृत्वकला प्रतियोगिता भएको छ । कक्षा ९ र १० का विद्यार्थीबीच भएको निबन्ध र वक्तृत्व दुुबै विधाका प्रतियोगिताका लागि ‘कोभिड १९ ले विद्यालय शिक्षामा परेको असर’ शीर्षक रहेको थियो । कक्षा ११ र १२ का विद्यार्थीबीच भएको निबन्ध र वक्तृत्वकला दुुबै प्रतियोगिताका लागि भने ‘हालको अवस्थामा वैकल्पिक शिक्षण सिकाई विधिको महत्व’ शीर्षक निर्धारण गरिएको थियो ।

कक्षा ९ र १० का विद्यार्थीबीच भएको निबन्ध प्रतियोगितामा जीएस निकेतन माविकी उषाकिरण अधिकारी प्रथम, महेन्द्र मावि, पदमपोखरीकी प्र्रमिषा गोले द्वितीय, मकवानपुर बाल विद्या सदनकी आश्विना पण्डित तृतीय र फ्यामकल एकेडेमीका विशोता नगरकोटी सान्त्वना भएका छन् । यसैगरी कक्षा ११ र १२ का विद्यार्थीबीच भएको निबन्ध प्रतियोगितामा सिद्धार्थ माविकी दीक्षा दाहाल प्रथम, चन्द्रोदय माविका स्नेहा अर्याल द्वितीय, ज्योति मावि हर्नामाडीकी सजिना पौडेल तृतीय र सिद्धार्थ माविका विजय भोम्जन सान्त्वना भएका छन् । दुबै तहको निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ७ हजार, ५ हजार, ३ हजार र १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

माध्यमिक तहको कक्षा ९ र १० का विद्यार्थीबीच भएको वक्तृत्वकला प्रतियोगितामा बालजगृति माविकी रिशिका श्रेष्ठ, मकवानपुर बाल विद्या सदनकी कुसुम खड्का, तुलसी मेहर मेमोरियल माविकी प्रमिशा रानाभाट र निर्मल मावि बस्तीपुरकी सपना बर्तौला क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् ।

माध्यमिक तहकै कक्षा ११ र १२ का विद्यार्थीबीच भएको वक्तृत्वकला प्रतियोगितामा हेटौंडा स्कूल अफ म्यानेजमेन्टकी समृद्धि देव, हेटौंडा स्कूल अफ म्यानेजमेन्टकै कृतिका लौडारी, ज्योति मावि हर्नामाडीकी सजिना पौडेल र महेन्द्र मावि पदमपोखरीकी बन्दना थिङ क्रमशः प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना भएका छन् । दुबै तहको वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना हुने विद्यार्थीले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

सामुदायिक विद्यालयमा निजी विद्यालयको तुलनामा विद्यार्र्थीको संख्या बढी भए पनि अतिरिक्त क्रियाकलापमा सहभागिता कम देखिएको छ । निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयमाा प्रतिभावान विद्यार्थी भए पनि नियमित अभ्यासको कमीले प्रतिस्पर्धामा अब्बल नदेखिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका शिक्षा अधिकृत कृष्ण पौडेलले बताउनुभयो ।

बालप्रतिभा पहिचान कार्यक्रममा सामुदायिक विद्यालयका विद्यार्थीको उपस्थिति बढाउन विद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरुले पढाइलाई मात्र नभई अतिरिक्त क्रियाकलापमा अभ्यास गराउन पहल गर्नुपर्ने सुझाव अधिकृत पौडेलले दिनुभयो ।