शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गरिँदै ।

हेटौंडाः शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गर्दै हेटौंडामा प्रदर्शन भएको छ । शिक्षामन्त्री श्रेष्ठको विरोधमा गरिएको प्रदर्शनमा उनको पुत्ला दहनसमेत भएको छ । जातीय विभेदलाई प्रश्रय दिने काम गरेको भन्दै बुधबार हेटौंडामा मन्त्री श्रेष्ठको राजीनामा माग गर्दै पुत्ला जलाइएको हो ।

मकवानपुरमा क्रियाशील दलित संघसंस्थाहरुले संयुक्तरुपमा हेटौंडाको बुद्धचोकमा प्लेकार्डसहित बिरोध प्रदर्शन गरेका थिए । बिरोध प्रदर्शनमा शिक्षामन्त्री श्रेष्ठको राजीनामा, जातीय उत्पीडन, हत्याहिंसाको रोक लगाउनुपर्ने माग गरिएको थियो । मन्त्री श्रेष्ठले जातीय विभेदको मुद्धामा पक्राउ परेकी महिलालाई छुटाउन मद्दत गरेका थिए ।

बुधबार भएको विरोध कार्यक्रममा मानव अधिकार तथा जातीय भेदभाव सरोकार केन्द्र नेपालका अध्यक्ष कमलकुमार विश्वकर्मा, नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य जंगबहादुर विश्वकर्मा, उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य कल्पना विश्वकर्मालगायतको उपस्थिति रहेको थियो ।