हेटौंडाः बागमती प्रदेश सभा आज दिउँसो ३ बजे बस्दैछ । आगामी वर्षको बजेट बक्तव्यमाथि आजबाट छलफल सुरु हुँदैछ । असार १ गते बजेट प्रस्तुत गरेको प्रदेश सरकारले १७ दिनपछि बजेटबारे छलफल सुरु गर्न लागेको हो । सँगै बजेट प्रस्तुत गरेको सुदुरपश्चिम प्रदेशले भने आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट बहुमतले पारित गरिसकेको छ । सातै प्रदेश मध्ये बढी बजेट प्रस्तुत गरेको बागमती प्रदेशको बजेट पास नहुने स्थिति हुँदा छलफल अघि बढाएको थिएन् ।

प्रदेश सभामा असार २१ गतेसम्मको कार्यसूचि बनाएको सभामूख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । बुधबार भर्चुअल कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । अहिलेसम्म बजेटको रातो किताब सांसदको हातमा आइपुगेको छैन । बजेट बाँडफाँड विवरण पुस्तिका (रातोकिताब) हातमा नआएसम्म सदन अघि नबढ्ने सांसद शोभा शाक्यले बताउनुभयो ।