प्रदेश विपद् व्यस्थापन निर्देशक समितिको बैठक बस्दै ।

हेटौंडाः प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले बागमती प्रदेशका ६ वटा अस्पताललाई २ करोड ५५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । कोभिड संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट सामाजिक विकास मन्त्रालयमार्फत् ६ अस्पताललाई कोरोना नियन्त्रण र उपचार गर्न सो रकम दिइने भएको हो ।

बुधबार हेटौंडामा बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेललको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यस्थापन निर्देशक समितिको बैठकले दोलखाको सिंगटी अस्पताललाई २० लाख, धुलिखेल अस्पतालले सञ्चालन गरेको नुवाकोटको लिखु गाउँपालिकामा सञ्चालित कोभिड अस्पताललाई २० लाख, नुवाकोटको सिटी कम्युनिटी अस्पताललाई ३० लाख, नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरलाई ३५ लाख, मनमोहन मेमोरियल सामुदायिक अस्पताल काठमाडौंलाई ५० लाख र ख्वपः अस्पताल भक्तपुरलाई १ करोड दिने निर्णय गरेको छ ।

यसअघि भक्तपुरको ख्वपः अस्पताललाई संघीय सरकारले र प्रदेश सरकारले बजेट विनियोजन नगरेको भन्दै भक्तपुरबाट प्रतिनिधित्व गर्ने बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले सरकारको आलोचना गर्दे आएका थिए । उहाँले प्रदेश सरकारले ख्वपः अस्पतालाई बजेट विनियोजन गरेको भन्दै यसबारे हरेक ठाउँमा पटक–पटक आफूहरुले आवाज उठाउँदै आएको बताउनुभयो ।

यस्तै सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढी पीडितहरुको लागि तत्काल खाद्यान्न व्यवस्थापन गर्न आवश्यक खाद्यान्न सामग्री जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा पठाइने भएको छ । मनसुनबाट हुने क्षति रोकथाम एवम् उद्दारको लागि प्रदेश आपतकालीन केन्द्रअन्तर्गत् गोदामघरमा भएको उद्दार सामग्री बागमती प्रदेश प्रहरीको समन्वयमा धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे र दोलखाको जिल्ला प्रहरी कार्यालयमा न्यूनतम उद्दार सामग्री तत्काल पठाइने भएको छ । प्रदेश विपद् व्यवस्थापन कोषमा १० करोड रकम थप गर्न आर्थिक मामिला मन्त्रालयलाई पत्राचार गर्ने निर्देशक समितिले निर्णय गरेको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि विपद् व्यवस्थापन गर्न १० करोड बजेट विनियोजन गरेको छ ।